२०८२ जेष्ठ ५

प्रारम्भ : किसान आन्दोलन इतिहास, सङ्घर्ष र अवधारणा

हरिबहादुर श्रेष्ठ
समाज र किसानको सम्बन्ध अन्योन्याश्रित रहँदै आएको छ । अर्धसभ्य मान्छे घुमन्ते हुँदा एक ठाउँमा अस्थायी रूपमा रहँदैन थिए । कुनै पनि कुराको राम्रो अनुभव नहुँदा चेतनाको विकास हुन सकेको थिएन । पुरुषहरू जनवारको शिकार एवम् जिउँदै जनावर वा कन्दमूल फलफूल खोज्न बाहिर जाँदा घरमा छोपिराखेका जनावर वा अरू सरसमानको संरक्षण वा रेखदेख गर्न जरुरी पथ्र्यो । यो कार्य महिलाद्वारा पूरा गरियो । हमेसा एक ठाउँमा बसी रुखवृक्षका बेर्नाहरू फले–हुर्केका वा खाली ठाउँ झारपात उम्रेका देखिरहँदा स्त्री जातिको दिमागमा खेती कृषि गरेमा उब्जाउ हुन सक्दो रहेछ भन्ने चेतना आयो । कृषि प्रथाको चेतनालाई विकसित गर्नुमा स्त्री जातिको देन रहेको छ । त्यसपछि केही निश्चित जमिनमा खेती गर्न लागियो । यसरी कृषिको विकास भयो । दासयुगको थालनीपछि किसान विभाजित हुन थालेका हुन् । खनजोत गर्न, जीविका चलाउन, आफू बाँच्न, परिवारलाई बचाउन जमिनमा काम गर्ने तथा अन्न उत्पादन गर्ने किसान हुन् । कृषिलाई पेसा÷व्यवसाय बनाई आफ्नो जीविकोपार्जन गर्ने व्यक्ति किसान हुन् । यसले व्यक्तिमा आश्रित परिवारका सदस्यसमेतलाई जनाउँछ । तर, किसानको अर्थ त्यतिले मात्र पुग्दैन । प्राकृतिक स्रोत र साधन प्रयोग गरी जीवित प्राणीलाई बाँच्न आवश्यक वस्तु (गाँस, वास र कपास) तयार गर्ने जनशक्तिलाई किसान भनिन्छ । यिनीहरू कृषिलाई पेसा व्यवसाय बनाएर आफ्नो जीविकोपार्जन गर्ने गर्दछन्, यसले व्यक्ति आश्रित परिवार सदस्यसमेतलाई जनाउँछ । समग्रमा प्रकृतिको स्रोत र मानवीय श्रमलाई मिलाएर जीवित प्राणीका लागि आवश्यक पर्ने अर्थात् मानवीय जीवनमा आवश्यक वस्तु तयार गर्ने जनशक्ति किसान हुन् ।
किसानको उत्पत्ति मानव सभ्यताको विकाससँगै भएको हो । मानिसको आदिम साम्यवाद युग वा ढुङ्गेयुगबाट शुरु भएको मानव सभ्यता कृषियुगबाट विकास भएको कृषि युगबाट मानव वस्तीको थालनी भएको हो ।
किसान वर्ग : जमिनमा खेती गरी तिनको भरमा जिउने वर्गलाई किसान वर्ग भनिन्छ । जसको जमिन धेरै छ, खेती गर्ने समुदायको समेत श्रम लगाई उत्पादन गर्दछ । यसलाई बेचबिखन गरी धन वा अरू सरसमान व्यवस्था गर्छ र मिलाउँछ, त्यसलाई धनी किसान भनिन्छ । आफूलाई खान पुग्ने किसानलाई मध्यम किसान भनिन्छ । खान पनि नपुग्ने किसानलाई गरिब किसान भनिन्छ । नेपालमा यी किसान छन् । यी वर्गीय स्तरका छन । यही आधारमा मान्ने हो भने किसान जमिन धेरै आफू खेती नगर्ने अरूलाई मजदुरी लगाउने आफूको जग्गा कुत साझे बन्धक, ठेक्कामा लगाउने जमिनदार हुन् भने आफूसँग जग्गा नभएका भूमिहीन सुकुमवासी गरिब किसान हुन् । त्यसै गरी, खान पुग्ने मध्यम किसान हुन् । जब मानिस प्राकृतिक युगबाट वा जङ्गली अवस्थाबाट बर्बर अवस्थामा प्रवेश ग¥यो; तब उसले पशुपालन र अन्न उत्पादन वा खेती गर्न शुरुवात ग¥यो (मानव श्रमको विकास) । पशुपालन खेती गर्ने ज्ञान प्राप्त भएपछि मानवले आफ्नो क्रियाशीलताले आफूलाई आवश्यक वस्तु आफैँ उत्पादन गर्ने तरिका सिक्यो । ऊ प्रकृतिमाथिको परनिर्भरबाट आत्मनिर्भरतिर अग्रसर भयो । उसले पशु प्रजनन, अन्नको वा फलफूलको बिउ संकलन गरी उत्पादन आफैँले गर्न थाल्यो । प्रकृतिमा परनिर्भर मानिस आफ्नो उत्पादनबाट आफू आत्मनिर्भर बन्न पुग्यो । आफूलाई चाहिने सम्पूर्ण खाद्य, आवास, लत्ताकपडा जोहो गर्न थाल्यो । यो जोहो गर्ने क्रममा प्राकृतिक साधन मानव श्रममा बदलिन पुग्यो । त्यो मानव सम्पत्तिको स्रोतमा परिणत भयो ।
जनसङख्या वृद्धिसँगै प्राकृतिक स्रोत र साधनले मात्र नपुग्ने भयो । मानवीय आवश्यकता धान्न नसक्ने भएपछि प्राकृतिक साधनको प्रयोग गरी मानवीय श्रम र प्राकृतिक वस्तु मिलाएर उत्पादकत्वको वृद्धि गर्ने तरिका अपनाइयो, फलस्वरूप कृषि प्रणालीको विकास भयो । प्राकृतिक साधनलाई सहज तरिकाबाट प्रयोग गर्न प्रकृति र मानवीय श्रमलाई मिलाएर आधुनिक तरिकाबाट छिटो धेरै उत्पादन गर्न
अपनाइएको तरिकालाई कृषि भनिन्छ । कृषिले बालीनाली, च्याउ, मौरी, रेशम, पशुपन्छी तथा मत्स्यजन्य उपज, वस्तु, पदार्थ, पशुपन्छी आहारा, उत्पादन गर्ने कार्य र सम्बन्धित प्रणालीलाई जनाउँछ । यसले बिउ, नश्ल, खेती गरिएको वनपैदावार र जडीबुटीसमेतलाई बुझाउँछ । यही प्रक्रियामा मानिसले प्राकृतिक साधनको प्रयोग गरेर उत्पादनका साधनको विकास गर्दै आएका छन् ।
खाद्यान्न उत्पादनमा बिउमा क्रस गरी उन्नत जातको बिउ बनाउने, कम्पोस्ट मलको ठाउँमा रासायनिक मल बनाउनु, पशुमा एआई प्रयोग गरी धेरै उत्पादन प्रक्रिया अपनाउन थालिएको इतिहासदेखि विकास भएको देखिन्छ । आफूलाई सहज बनाउन पशु प्राकृतिक खनिजबाट मानव निर्मित वस्तु तयार गरे, जसमा पहिले मानिसले चाँदीको बञ्चरो प्रयोग गरेपछि त्योभन्दा कडा धातु फलामको ल्याए । काठको हलो गोरुद्वारा जोत्न मानिसले वा पशुपालनबाट कपडा, राडीपाखीदेखि दूध माछा, मासुका लागि पशुपालान त्यसको आवश्यकताअनुसार प्रयोग गर्न थाले । कसैको रौँको प्रयोग गरी कपडा बनाउने, कसैको मासुको लागि प्रयोग गर्ने, कसैलाई जमिन जोत्न, कसैलाई दूध खान प्रयोग गरेर र आफूको नजिक राखेर पाल्न थालियो । विभिन्न समयमा अर्थशास्त्रीहरूले यस प्रक्रियाको विश्लेषण गरेका छन् । राहुल सांकृत्यायनका अनुसार ईपू (५,०००–३,०००) सम्म मानिस भव्य सपना देख्दथे, जुन समयमा खेतीपाती, नहर र सौर्यपञ्चाङ्गको विकास भएको थियो ।
प्लेटोले सम्पत्ति र शासनको अवधारणा ल्याएका थिए । प्रत्येक वर्गका मानिसहरूका लागि प्लेटोले आदर्श सम्पत्ति व्यवस्थाको सुझाव दिएका थिए । किसान र कारिगरहरूलाई मात्र नाफाको लागि काम गर्न अनुमति दिएको थियो । उनीहरूले सम्पत्ति जम्मा गर्न सक्थे । त्यति बेला शासक र सहायक कर्मचारीहरूलाई सम्पत्ति जम्मा गर्ने अधिकार थिएन । साथै, अरस्तु आर्थिक समस्यालाई राजनीतिक दृष्टिकोणबाट हेर्दथे । सामुदायिक सम्पत्ति विवाद निम्त्याउँछ भन्ने तर्कको आधारमा उनले निजी सम्पत्तिको पक्षपोषण गर्दथे । अरस्तुले अर्थतन्त्रलाई दुई भागमा विभाजन गरेका थिए, एक–प्राकृतिक अर्थतन्त्र वा घरायसी व्यवस्थापन र, दुई– कृत्रिम वा धन प्राप्त गर्ने अर्थतन्त्र । उनले व्यापारिक कारोवारलाई सहज बनाउन पैसा प्रयोगमा ल्याएको बताए । उनले उत्पादन मूल्य र विनिमय मूल्यको अवधारणा अगाडि बढाए । कौटिल्य कुटनीति र राजनीति रणनीतिमा विज्ञ भएकाले उनी चन्द्रगुप्त मौर्यका मुख्यमन्त्री थिए । कौटिल्यले आफ्नो अर्थशास्त्रमा राजा, मन्त्री, सरकारी अधिकारीहरूको प्रशासनिक कार्यविधिको स्पष्ट वर्णन गरेका छन् । यस ग्रन्थमा अर्थशास्त्रको सिद्धान्त र अभ्यास समेटिएको छ । उनले राष्ट्रिय अर्थतन्त्रको विज्ञानलाई वार्ता भनेका छन् । यसमा कृषि, पशुपालन र व्यापार समावेश छन् । प्राचीन भारतमा परिवारका सदस्यहरूको सन्तुष्टिका लागि, सञ्चालन गर्न होइन; आवश्यक हुने मात्र धन कमाउन व्यक्तिहरूलाई स्वतन्त्र थियो । उनको पुस्तकमा कल्याणकारी राज्यको बारेमा प्रशस्त विचार समेटिएका छन् ।
समाजमा ईपू १,५०० ईपू ६०० सम्मको आर्यहरूको सामाजिक जीवन पितृसत्तात्मक कबिलातन्त्रमा आधारित थियो । तिनीहरूको शुरुको मुख्य पेसा पशुपालन र सहायक पेसा कृषि थियो । आर्यहरू आगोको उपयोग गर्दथे । वैदिक युगको अन्त्यतिर फलामको बञ्चरोको प्रयोग गर्न थालियो । ईपू १,००० तिर हालको उत्तर प्रदेशमा फलामको प्रचलन थियो ।
कृषिको विकाससँगै प्राकृतिक स्रोत कब्जा हुन थाले । मानव श्रमद्वारा उत्पादन वस्तुबाट मानव जीवन निर्भर हुन गयो । जब मानव श्रमद्वारा उत्पादनका साधन मुख्य साधन बने, तब मानिसबिचमा श्रम विभाजन भयो । मानव श्रम नै उत्पादनको मुख्य स्रोत बन्न पुग्यो । त्यसबाट मानव सभ्यता आरम्भ भयो, जसलाई सभ्यताको युग पनि भनिन्छ । मानव श्रममा आधारित प्राकृतिक स्रोतको प्रयोग हुन थालेपछि प्रकृतिमाथि र मानवमाथि एकार्कामा आन्तरिक सम्बन्ध बन्न गयो । यही बन्ने क्रममा प्राकृतिक साधनको भाग लगाउन थालियो । मानवीय श्रम वा कृषि कर्म गर्ने क्रममा पहिले जमिन कब्जा भयो । त्यसपछि पशु र जीवजन्तु कब्जामा लिइयो । मानवले प्रकृतिलाई निजी बनाएर काम गर्न थालियो । छाडा पशुलाई बाँध्न थालियो । आफूलाई आवश्यकता पर्ने पशु संकलन गर्न थालियो । काम गर्ने र नगर्नेबिच क्रमशः द्वन्द्व हुन थाल्यो ।
जङ्गली अवस्थाको मानिस समाजमा आएर बस्ने क्रममा अर्काले लगाएको बाली लुटेर खाने, आफू कुनै श्रम नगर्ने अवस्थामा बाली लगाउने र नलगाउनेबिच युद्ध भए । युद्धको क्रममा बलियो र दुब्लोमा वा उत्पादन गर्ने र नगर्ने, जमिन हुने र नहुनेबिच युद्ध भयो । हार्नेलाई बन्दी बनाएर कृषिकर्ममा लगाइयो । यसको आधारमा वर्गविभाजन भएको छ । जब प्राकृतिक स्रोत (जल, जमिन, हावा) मानवीय कब्जामा आयो, तब वर्गविभाजनको थालनी भयो । जमिन हुने र नहुने तथा काम गर्ने र नगर्नेबिचको युद्धको थालनी भयो । हार्नेलाई दास बनाइयो अनि कृषिकार्यमा लगाइयो । यही प्रक्रियामा कृषि प्रणालीको थालनी, विकास र विस्तार हुँदै विभिन्न अवस्था अगि बढेको पाइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain