२०८२ असार १०

हेटौंडा महाधिवेशनको मर्म अनुसार उत्पादन व्रिगेडलाई बढाउन सकेनौं : प्रचण्ड अध्यक्ष नेकपा (माओवादी केन्द्र)

धनबहादुर मगर
काठमाडौं अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को किसानसँग वैज्ञानिक अभियान अन्तर्गत ऐतिहासिक प्रथम कृषि विशेषसभा माओवादी केन्द्रको सभाहल पेरिसडाँडाँमा सम्पन्न भएको छ ।

प्रमुख अतिथिको रुपमा रहेका नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जतिसुकै राम्रो संविधान लेखे पनि कार्यन्वयन गर्ने हैसियत नहुँदा सम्म कार्यन्वयन नहुने बताएको छ ।
प्रचण्डले औद्यौगिक कालमा जनताको अधिकारको बारेमा संविधानमा वहस भएको थियो । कार्लमाक्र्सले भनेको कुरा मैले सम्झे, तपाई जतिसुकै राम्रो संविधान लेख्नु तर, तपाईको हातमा अधिकार छैन भने केही गर्न सक्दैन ।
कोठामा बसेर धेरै राम्रो संविधान लेखेको बराबर हुने पनि बताए । संविधान लेखेकै बेलामा सहमतीबाट आएकोले भनेजसरी संविधान लेख्न सक्दैनौं भन्दै आएको थियौं । हामीले ग्रामीण तहमा जनकम्यून स्थापना गरि जनवादी सरकारको अभ्यास गरेका थियौं । जनयुद्धले तागत पैदा गरेको छ । गणतन्त्र जस्ताको तस्तै हुन्छ भनेको थिएन । दलाल पुँजीवादी अर्थतन्त्र भएकाले हामीले सोचेको जस्तो अर्थतन्त्र मन पराएको थिएन । सम्झौताबाट आएको भएकोले उनीहरुसँगको सहकार्यमा लाग्दा हाम्रो जनसंगठन बलियो बनाउन चुक्यौं ।
यथास्थितिमा हामीले भने जस्तो बनाउन सक्दैनौं । तपाईहरु कहिँकतै कन्फ्यूजमा नहुनुहोला । जनयुद्ध लडेका, जनसरकार र जनअदालत बनाएका हामी एक्लैले संविधान लेख्न सक्ने थिएन । बुर्जुवाहरु संघीयता असफल भयो भन्ने भाष्य तयार गरिरहेको छ ।
नेकपा एमाले माध्यम वर्गको समेत सम्वोधन गर्ने तयार छैनन् भन्ने स्पष्ट हुन्छ । अब उपल्लो वर्गलाई सम्वोधन गर्ने पक्षमा छन् ।
अब हामीले समाजवादमा आधारित साम्यवादको भ्रुण रोप्ने आधार तयार गर्न आफ्ना ठाउँहरुमा पहल गर्नुपर्ने बताए । हेटौडा महाधिवेशनमा उठेको उत्पादन व्रिगेडबाट हाम्रो मौलिक उत्पादनको अध्ययन गर्न सकेनौं

 

उक्त विज्ञ सभामा कृषि विज्ञहरु पूर्व कृषि सचिव सुरोज पोखरेल, युवा वैज्ञानिक सञ्जिव सुवेदी, मित्र दवाडी, कृषि वन अध्ययन संस्थान रामपुर चितवनका पूर्व डीन, डा. सुरेश तिवारी, डा.पुण्यप्रसाद रेग्मी, डा. शित्तलकाजी श्रेष्ठ, मत्स्य वैज्ञानिक डा.रमानन्द मिश्र लगायत कृषि विज्ञहरुले अवधारणा माथि छलफल गरेका थिए ।
विशेषाज्ञ सभाले ५५ सदस्यीय विज्ञ सभा गठन गरेको छ ।

भने कार्यक्रको अध्यक्षता अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, स्वागत उपाध्यक्ष केपी वराल, कार्यक्रम सञ्चानल महासचिव नहेन्द्र खड्काले गरेका थिए ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) द्वारा आयोजित

                   किसानसँग वैज्ञानिक अभियान अन्तर्गत ऐतिहासिक प्रथम कृषि विशेषज्ञ सभामा प्रस्तुत अवधारणा पत्र
२०८२ जेठ २४ गते, पेरिसडाँडा, काठमाडौं सर्वप्रथम म छोटो सूचनाको बाबजुद कृषि कर्मको यो मुख्ययाममा मौसम र यातायातका समस्या जस्ता अनेकौं प्रतिकूलतालाई छिचोल्दै देशभरबाट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) द्वारा आयोजित ’किसानसँग वैज्ञानिक अभियान’ अन्तर्गत यस ऐतिहासिक प्रथम कृषि विशेषज्ञ सभामा उपस्थित सबै कृषि तथा पशुपन्छी विशेषज्ञहरू, प्राविधिज्ञहरू, भूमि विज्ञहरू सहितका सबै विज्ञ, विशेषज्ञ, कृषिकर्मीहरू, किसान महासंघ र विषयगत किसान संघका सहयोद्धा साथीहरूसहित यहाँ उपस्थित सबै महानुभावहरूप्रति महासंघको तर्फबाट हार्दिक कृतज्ञता प्रकट गर्दछु । यो ऐतिहासिक घडीमा दशवर्षे महान् जनयुद्ध, जनआन्दोलनहरू, जनविद्रोहहरू, किसान विद्रोह र संघर्षहरूसहित नेपालको राष्ट्रिय तथा वर्गिय मुक्ति आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण महान् सहिदहरूप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । सम्पूर्ण वेपत्ता योद्धाहरू, सहिद तथा बेपत्ता योद्धाका परिवारजनका साथै घाइते योद्धाहरूप्रति पनि उच्च सम्मान प्रकट गर्न चाहन्छु ।

१. नेपाली कृषि र किसान :
नेपाल एक किसान बाहुल्य देश हो, जहाँको कुल जनसंख्याको करिब ६४ प्रतिशत हिस्सा कृषिमा आश्रित छ । हाम्रो देश कृषि उत्पादनका अनेकौं संभावनायुक्त भौगोलिक तथा जैविक विविधताले भरिपूर्ण जलस्रोतको धनी राष्ट्र हो । राष्ट्रिय अर्थतन्त्रमा करिब एकचौथाइ योगदान गर्ने किसानहरू देशका प्रमुख उत्पादक शक्ति हुन्, जसको जीवन र जीविका कृषि र भूमिमा आश्रित रहेको छ । कृषिभूमि यहाँको प्रमुख उत्पादनको साधन हो । कृषि पेसा नेपालीहरूका लगि जीवन, संस्कृति र वातावरणको अभिन्न हिस्साको रूपमा रहेका छन् ।
नेपाली किसानहरू सामन्तवादका अवशेषहरूसँग जुझ्दै दलाल नोकरशाही पुँजीवाद, नवउदारवाद, नवउपनिवेशवाद, साम्राज्यवाद र विस्तारवादको शोषण र उत्पीडनको शिकार भइरहेका छन् र त्यसको विरुद्ध निरन्तर संघर्ष गर्दै छन् । महान् जनयुद्ध, जनआन्दोलन र लोकतन्त्र प्राप्तिका सवै संघर्षहरूमा मुख्य भूमिका खेलेका नेपाली किसानहरू नेपालको समाजवादी क्रान्तिकासमेत अग्रणी शक्ति हुन् । परन्तु यिनै किसानहरू आज गरिबी, अभाव, अशिक्षा, अन्धविश्वास, बेरोजगारी, अपमान र असुरक्षाले आक्रान्त बनेका छन् । नेपाली कृषिको वैज्ञानिकीकरण, आधुनिकीरण, व्यावसायीकरण र औद्योगिकीकरण हुन सकेको छैन । उत्पादक किसानहरूसँग खेती गर्ने भूमि छैन । कृषिभूमि क्रमिक रूपले दलाल पुँजीपतिहरू र भूमाफियाहरूको कब्जामा गइरहेको छ । खेतबारीमा रातदिन श्रम गर्नेहरू किसानहरू या त भूमिहीन छन्, या उनीहरूसँग अत्यन्तै सानो टुक्रा मात्र जमिन छ । तर खेती नगर्नेहरूका नाममा भने जमिन सम्पत्तिको रूपमा थुनँदै गएको छ र त्यो बाँझो हुँदै गइरहेको छ । क्रान्तिकारी भूमिसुधार हुन सकेको छैन । बरू त्यसको उल्टो विश्वभरबाट असफल भइसकेको नवउदारवादी भूमि बैंकको कार्यक्रम लागु गरेर लालपूर्जा भएका गरिब तथा मध्यम वर्गका किसानहरूको जग्गासमेत खोसेर लिजका नाममा दलाल पुँजीपतिहरू र भूमाफियाहरूलाई पोस्ने षड्यन्त्र हुँदैछ भने अनुपस्थित भूस्वामीहरूको जमिनलाई व्यवस्थित गरिँदैछ, जुन भूमिसुधारको सिद्धान्त विपरीत छ । कृषि र किसानहरूको जीवन र जीविका जलवायु परिवर्तनले अत्यन्तै प्रभावित बनेको छ ।
हाम्रो कृषि मूलतः निर्वाहमुखी र टुक्रे उत्पादन प्रणालीमा आधारित छ । कृषि विकासको औपचारिक सुरुवात भएको करिब ८ दशक पुगिसक्दा पनि कृषि प्रसार सेवा करिब २५ प्रतिशत किसान परिवारको घरदैलोमा मात्र पुग्न सकेको छ । किसानहरूले समयमा गुणस्तरीय प्रांगारिक, रासायनिक वा जैविक मलखाद, उच्च उत्पादन सहितको उन्नत बिउबिजन र कृषि औजारहरू प्राप्त गर्न सक्दैनन् । सिँचाइको पर्याप्त सुविधा नहुँदा आकाशे पानीको भरमा खेती गर्नुपर्ने स्थिति आज पर्यन्त कायमै छ । उच्च उत्पादन दिने उन्नत जातका विउ, नयाँ जात र पशुनश्लको पर्याप्त र किसानको मागअनुरूप विकास हुन सकेको छैन । कृषि अनुसन्धानको क्षेत्र तहस नहस भएको छ । देशका कृषि, खाद्य र भूमि नीतिहरू किसानलाई केन्द्रमा राखेर बन्न सकेका छैनन् ।
कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अत्यन्तै कम छ । उत्पादित कृषि उपजहरूको पनि पूर्वाधारहरूको अभाव र न्यूनतम् समर्थन मूल्य नतोकिँदा बजारको सुनिश्चितता छैन । कृषि बजारमा बिचौलियाहरू हाबी छन् । किसानहरूले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् । उत्पादन गरेर अति सस्तो मूल्यमा बिक्री गरिएका उखु, दूध, तरकारी आदि कृषि उपजहरूको बिक्रीपश्चात किसानले पाउनुपर्ने अरबौं रूपैयाँको भुक्तानी समेत पाउन सकेका छैनन् । कृषि सामग्रीहरूको मूल्य चर्को छ भने किसानका उत्पादनको भाउ अति न्यून छ, त्यो पनि सुनिश्चित छैन । किसानहरू आज पर्यन्त अपमानित र अपहेलित छन् । वास्तविक किसानले अनुदान प्राप्त गर्न सक्दैनन् तर अनुदानका नाममा भ्राष्टाचार व्याप्त छ । यसरी नेपाली किसानहरूको जीवन कहालीलाग्दो अवस्थामा रहेको छ । देशको बजारप्रणालीमा विदेशबाट आयातित कृषि उपजहरूको बाहुल्यता छ । मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने विषादीको प्रचुरतम् प्रयोग गरिएका कृषि उपजहरू बजारमा व्यापक मात्रामा छन् । समूह, सहकारी, लघुवित्तहरू, सहकारीहरू, मीटरब्याजीहरू र ग्रामीण सुद्खोरहरूको चक्रीय ब्याज र अनियन्त्रित हर्जानासहितको कर्जा प्राणालीबाट लाखौं किसानहरू घरवारविहीन हुनुपर्ने र आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था सिर्जना हुँदैछ ।
एकातिर आयातित खाद्यवस्तु र कृषि उपजको प्रचुरताले देशको समग्र खाद्य प्रणाली परनिर्भर भएको छ भने अर्कोतिर आयातित कृषि रासायन (विषादी र मल) र विदेशी वर्णशंकर बिउविजनमा आधारित कृषि उत्पादन प्रणालीकाक कारण देशको समग्र कृषि प्रणाली अत्यन्तै महंगो र परनिर्भर बनेको छ । कृषि रसायनहरूको अनियन्त्रित प्रयोगले मानव स्वास्थ्य, वातावरण र जैविक विविधतामा प्रतिकूल प्रभाव परिरहेको छ । मानिस, बालीनाली र पशुपन्छीमा नयाँ नयाँ रोगकीराको आक्रमण भइरहेको छ । मानिसको स्वास्थ्योपचार र बालीनाली तथा पशुपन्छीको उत्पादनको खर्च बढेको छ ।

२. किसान महासंघ निर्माण र परिचालनः
हाम्रो देशको कृषि क्षेत्रको विकास हामीले सोचेकै अनुरूप नभए पनि किसानहरूको पहलकदमी र कैयौं सन्दर्भमा राज्यको सहयोगमा क्रमिक रूपमा व्यावसायीकरणतर्फ उन्मुख हुँदै गएको छ । कृषिको व्यावसायीकरण उत्पादनको विशिष्टीकरण र विविधीकरण समेत विस्तार हुँदै गएको छ । यस परिप्रेक्ष्यमा हामीले नेपाली किसानहरूमा समस्याहरूलाई निरुपण गर्न वस्तुगत उत्पादन, समुदाय र वर्गमा आधारित हुने गरी ३ प्रकारका किसान संगठनहरू गठन गर्ने र तिनको वैचारिक– राजनीतिक नेतृत्व गर्न किसान संघलाई महासंघमा रूपान्तरण गर्ने निर्णय गरेका छौं । यतिबेला अखिल नेपाल किसाम महासंघ (क्रान्तिकारी केन्द्र)को मातहतमा २३ वटा विषयगत किसान संगठनहरू गठन गरिएका छन् । ती १. अखिल नेपाल खाद्यबाली उत्पादक किसान संघ (क्रान्तिकारी) हुन्ः
२. अखिल नेपाल तरकारी उत्पादक किसान संघ (क्रान्तिकारी)
३. अखिल नेपाल कुखुरापालक किसान संघ (क्रान्तिकारी)
४. अखिल नेपाल दुग्धउत्पादक तथा पशुपालक किसान संघ (क्रान्तिकारी)
५. अखिल नेपाल फलफूल उत्पादक किसान संघ (क्रान्तिकारी)
६. अखिल नेपाल नर्सरी तथा पुष्प उत्पादक किसान संघ (क्रान्तिकारी)
७. अखिल नेपाल जडिबुटी उत्पादक किसान संघ (क्रान्तिकारी)
८. अखिल नेपाल माहुरीपालक किसान संघ (क्रान्तिकारी)
९. अखिल नेपाल अलैँची उत्पादक किसान संघ (क्रान्तिकारी)
१०. अखिल नेपाल च्याउ उत्पादक किसान संघ (क्रान्तिकारी) ११. अखिल नेपाल चिया उत्पादक किसान संघ (क्रान्तिकारी) १२. अखिल नेपाल कफी उत्पादक किसान संघ (क्रान्तिकारी) १३. अखिल नेपाल उखु उत्पादक किसान संघ (क्रान्तिकारी) १४. अखिल नेपाल माछापालक किसान संघ (क्रान्तिकारी) १५. अखिल नेपाल मसलाबाली उत्पादक किसान संघ (क्रान्तिकारी) १६. अखिल नेपाल रबर उत्पादक किसान संघ (क्रान्तिकारी) १७. अखिल नेपाल सुपारी उत्पादक किसान संघ (क्रान्तिकारी) १८. अखिल नेपाल कृषि श्रमिक संघ (क्रान्तिकारी)
१९. अखिल नेपाल दलित भूमिहीन किसान संघ (क्रान्तिकारी) २०. अखिल नेपाल युवा किसान संघ (क्रान्तिकारी)
२१. अखिल नेपाल महिला किसान संघ (क्रान्तिकारी)
२२. अखिल नेपाल कृषि वन किसान संघ (क्रान्तिकारी)
२३. अखिल नेपाल सिँचाइ जलउपभोक्ता किसान संघ (क्रान्तिकारी)

३. किसानसँग वैज्ञानिक अभियानः
दश वर्षे महान् जनयुद्ध, त्यसको बलमा स्थापित संयुक्त जनआन्दोलन र अन्य जनसंघर्षहरूको प्रतिफलस्वरूप सामन्ती राजतन्त्र पराजीत भएको छ र नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा पदार्पण गरेको छ । हाम्रो महान् तथा गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा नेपालमा जनवादी क्रान्ति आधारभूत रूपमा सम्पन्न भएको छ । यो जनवादी क्रान्ति रुस, चीन, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया वा क्युवामा जस्तो पूर्ण हुन नसके पनि नेपालको आफ्नै विशिष्टतामा आफ्नै विशेषतासहितको पुँजीवादी जनवादी क्रान्तिको रूपमा सम्पन्न भएको छ । तर जनवादी क्रान्तिका मूल कार्यभारका रूपमा रहेका दुई कार्यभारहरूः क्रान्तिकारी भूमिसुधार र कृषि क्रान्तिको कार्यभार भने अझै पूरा हुन सकेका छैनन् । यी कार्यभारहरू समाजवादी क्रान्तिको रणनीति अन्तर्गत पूरा गरिने छ । त्यसैले नेकपा (माओवादी केन्द्र) र अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले नेपाली क्रान्तिको कार्यदिशाको रूपमा समाजवादी क्रान्तिको कार्यदिशा अंगीकार गरेका छन् ।

नेपालको संविधानमा समाजवादोन्मुख राज्य व्वयस्थाको परिकल्पना गरिएको छ। समाजवाद भनेको निजी स्वामित्वको अन्त्य र सामाजिक स्वामित्वको स्थापना र विकास हो । त्यसका लागि राज्यले देशका सम्पूर्ण नागरिकको खाद्य, आवास, शिक्षा, स्वास्थ्य र रोजगारी सुनिश्चित गर्नुपर्छ । वैज्ञानिक÷क्रान्तिकारी भूमिसुधार लागु गर्नुपर्छ । भूमिहीन सुकुम्बासी, अव्वयस्थित बसोबासी, मोही, गुठी र बिर्ता पीडित, गाउँब्लक, स्वबासी र बेनिस्सा लगायतका जनताका आवास र भूमिसम्बन्धी समस्या समाधान गर्नुपर्छ । राजकीय, सहकारी र सामूहिक उत्पादनसहित कृषिको समाजवादीकरण गर्दै उत्पादन तथा उत्पादकत्वमा बृद्धि र बजार तथा उचित मूल्यमार्फत किसानहरूको मर्यादित जीवन र जीविकाको ग्यारेन्टी गर्नुपर्छ भने रोजगारी र उचित ज्याला वा स्वरोजगारीको अवसरमार्फत श्रमिक वर्गको सम्मानजनक जीवन र जीविकाको सुनिश्चितता गर्नुपर्छ । यसका लागि राज्यले कृषि, उद्योगधन्दा, कलकारखानामा लगानी बृद्धि गर्दै उत्पादनमूलक पुँजीको विकास र विस्तार गर्नुपर्छ । कृषिको यान्त्रीकरण, आधुनिकीकरण, वैज्ञानिकीकरण, उद्यमीकरण र औद्योजिगीकरण गर्दै कृषिको रूपान्तरण गर्नुपर्छ । कृषि प्रविधिको व्यापकरूपमा विकास, विस्तार, प्रसार र अनुसरण गर्नुपर्छ । किसानहरूलाई प्रविधिको राम्रो ज्ञान र सिप उपलब्ध गराउनु पर्छ । उत्पादन लागत घटाउनु पर्छ र कृषि उपजहरूको गुणस्तर, आकर्षकता र बजारयोग्यता बढाउनु पर्छ । जैविक विविधतामा आधारित पर्यावरणीय कृषि (एग्रीइकोलोजी) को विकास र विस्तारद्वारा दिगो, पर्यावरणीय र मानवमैत्री कृषिको विकास गर्नु त्यति नै आवश्यक छ ।

यसका लागि हजारौं वर्षदेखि कृषिमा संलग्न हुने क्रममा किसानहरूले विकास र विस्तार गरेका रैथाने तथा आदिवासी ज्ञान, सिप र अनुभव अति महत्त्वपूर्ण छन्, जुन लामो अवलोकन, अध्ययन, परीक्षण, अनुसन्धान, विकास र प्रसारका प्रतिफल हुन् । विश्वभर लाखौं प्रजातिका खाद्य र कृषि उपजहरू, तिनका लाखौं जातहरू र पशु नश्लहरू छन् । जैविक विविधताका अपार स्रोतहरू छन् । यी सबै प्रकृति र किसानहरूका देन हुन् । औपचारिक शिक्षाको विकास र विस्तार अघिको कृषि प्रणाली किसानहरूको रैथाने ज्ञान, सिप र अनुभवको परिणाम हो । एक अर्थमा किसानहरू स्वयंमा वैज्ञानिक पनि हुन् – औपचारिक शिक्षा विना अनुभवमा आधारित वैज्ञानिकहरू । तर शिक्षासँगै विज्ञानको विकास र विस्तारले कृषिको आधुनिकीकरण, वैज्ञानिकीकरण, यान्त्रीकरण र औद्योगिकीकरणमा ठुलो योगदान गरेको छ । परन्तु यो शिक्षाले कृषिको विकास त गयो, तर किसानहरूको हक, हित र अधिकारको पक्षमा काम गर्ने सकेन, जसले गर्दा खेतीको त विकास भयो तर खेती गर्ने किसानको विनाश हुँदै गयो ।
लाल क्रान्ति अर्थात् समाजवादी क्रान्तिको विकल्पमा पुँजीवादीहरूले कृषिको विकासको नयाँ नारा अघि सारेः हरित क्रान्ति । मूलतः कृषि रसायन (रासायनिक मलखाद र विषादी), उन्नत तथा वर्णशंकर बिउबिजन, यान्त्रीकरण र सिँचाइ गरी ४ कुरामा आधारित हरित क्रान्तिले कृषिको उत्पादनमा मात्रात्मक परिवर्तन ल्याए पनि त्यसले उत्पादन पद्धतिमा कुनै परिवर्तन ल्याउन सकेन, उत्पादक शक्तिको रूपमा किसानहरूको विकासमा योगदान गर्न सकेन । परिणामतः यो असफलसिद्ध भयो । हामीले चाहेको यस्तो पुँजीवादी हरित क्रान्ति नभई कृषि क्षेत्रमा आमूल परिवर्तन, खाद्यसम्प्रभुता र क्रान्तिकारी भूमिसुधारसहित किसानहरूको हक, हित र अधिकार सुनिश्चित गरिएको कृषि क्रान्ति हो । त्यो भनेको उत्पादन सम्बन्धमा आमूल परिवर्तनसहितको उत्पादक शक्तिको विकास हो, जुन समाजवादी क्रान्तिबाट मात्र संभव हुन सक्छ । वर्तमान सन्दर्भमा हामी माक्र्सवाद–लेनिनवाद–माओवादको मार्गदर्शनमा समाजवादी क्रान्तिको तयारीमा छौं भने हाम्रा स्थानीय सत्ता र आम जनताको सहभागितामा हुने (निजी, सामूहिक, सहकारी र राजकीय) उत्पादनको प्रक्रियाबाट समाजवादका आर्थिक भ्रुणहरू तयार गर्ने कोसिस गरिरहेका छौं ।
यसर्थ आज समय आएको छ, किसानहरू र कृषि विज्ञहरूको विचमा सहकार्य गर्ने, कृषि विज्ञानका आधुनिक प्रविधिहरूलाई प्रयोग र विस्तार गर्ने र किसानहरूका रैथाने ज्ञान, सिप र अनुभवहरूलाई मूल प्रवाहीकरण गर्दै जैविक विविधतामा आधारित दिगो, उच्च उत्पादनयुक्त, प्रतिस्पर्धी र आत्मनिर्भर कृषिको विकास गरी कृषि क्षेत्रको समग्र विकास गर्ने, किसानहरूको किसानहरूको हक, हित र अधिकार सुनिश्चित गर्दै उनीहरूको जीवनस्तर सुधार्ने र कृषिको समाजवादीकरणमार्फत् वैज्ञानिक समाजवादको आधार तयार गर्ने ।
यही सन्दर्भमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले “किसानसँग वैज्ञानिक अभियान“ अन्तर्गत ऐतिहासिक प्रथम कृषि विशेषज्ञ सभा आयोजना गरी कृषि विशेषज्ञ सभा गठन गर्ने र त्यसमार्फत् किसान महासंघ र यसका विषयगत किसान संगठनहरू र कृषि विशेषज्ञहरूको बिचमा संवाद, समन्वय, सहकार्य र जीवन्त सम्बन्ध स्थापना गर्दै समाजवादी क्रान्तिको तयारी र समाजवादका आर्थिक भ्रूणहरू विकास गर्ने कार्यमा हातेमालो गर्ने प्रयत्नको प्रारम्भ गरेको छ । सोही अभियानमा हामी आज यो ऐतिहासिक कार्यक्रममा सगौरव उपस्थित छौं ।

४. अभियान र कृषि विशेषज्ञ सभाको उद्देश्य :
खाद्य, भूमि र कृषि क्षेत्रका वैज्ञानिक, प्राविधिक, विज्ञ–विशेषज्ञ, अनुसन्धानकर्ता र अनुभवी किसानहरूलाई एउटै मञ्चमा ल्याउने ।
किसानहरूको व्यावहारिक समस्या र आवश्यकता, कृषिको रूपान्तरण र भूमिसुधारबारे वैज्ञानिक दृष्टिकोण अपनाउँदै खाद्य, कृषि तथा भूमि सम्बन्धी नीति तर्जुमा गरी किसान महासंघ र पार्टीको केन्द्रीय कृषि तथा भूमिसुधार विभागमार्फत पार्टीसमक्ष प्रस्तुत गर्ने (जसलाई पार्टीबाट एक विशेष कार्यक्रम गरी सार्वजनिक गर्ने)।
देशको खाद्य तथा कृषि प्रणालीलाई समाजवादी दिशाउन्मुख गराउन सैद्धान्तिक र व्यवहारिक सुझावहरू संकलन गरी ठोस नीति तर्जुमा गर्ने ।
किसानहरू र कृषि विज्ञहरूका बिचमा संवाद र सहकार्यमार्फत कृषि नीति, योजना, र दृष्टिकोणमा हस्तक्षेप गर्ने रणनीति बनाउने ।
सेवानिवृत्त र बहालवाला कृषि विज्ञहरूलाई पार्टी, किसान महासंघ र यसका घटक संघहरूमार्फत उत्पादक किसानहरूसँग जोडी पार्टीको उत्पादन अभियान र किसानहरूको व्यावसायिक उत्पादनमा सहयोग गर्ने ।
५. कृषि विशेषज्ञ सभाको गठन र संचालन सम्बन्धी कार्यविधि :
क. अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) द्वारा कृषि विशेषज्ञ सभा आयोजना गरी कृषि विशेषज्ञ सभा गठन गरिनेछ । यस्तो कृषि विशेषज्ञ सभा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को केन्द्रीय समितिको मातहत रहनेछ ।
ख. कृषि विशेषज्ञ सभाको संख्या हुनेछ ।
ग. अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष कृषि विशेषज्ञ सभाको प्रमुख रहनेछन् ।
घ. कृषि विशेषज्ञ सभाको बैठक वर्षमा कम्तीमा एकपटक बस्नेछ । बैठकको अध्यक्षता कृषि विशेषज्ञ सभाका अध्यक्ष (महासंघका अध्यक्ष) ले गर्नेछन् .
ङ. हरेक २–२ वर्षमा बृहत कृषि विशेषज्ञ सभाको आयोजना गरिनेछ ।

६. कृषि विशेषज्ञ सभाको भूमिका :
क. किसान र विज्ञहरूको बिचमा सेतुको भूमिका
कृषि वैज्ञानिक, अनुसन्धानकर्ता, विश्वविद्यालयका प्राध्यापक, अनुभवी किसानहरू नीति निर्माताहरूको बिचको प्रत्यक्ष संवाद अत्यन्तै दुर्लभ छ। कृषि विशेषज्ञ सभाले यी सबैलाई एकआपसमा जोड्ने सेतुको काम गर्नेछ, जहाँ किसानले प्रत्यक्षरूपमा आफ्ना समस्या वैज्ञानिकहरूलाई भन्न सक्छन् र विज्ञहरूले समाधान सुझाउन सक्छन् ।

ख. अनुसन्धान र व्यवहार बिचको समन्वय
नेपालमा गरिएको थुप्रै अनुसन्धान प्रयोगशाला वा कागजमा सीमित हुन्छन्। तिनलाई व्यवहारिक रूपमा उत्पादनसँग जोडेर लैजान र किसानका अनुभवहरूबाट नयाँ अनुसन्धानको दिशा तय गर्न यस्ता बृहत कृषि विशेषज्ञ सभाहरू र यसबाट गठन गरिने कृषि विशेषज्ञ सभा उपयोगी हुनेछ ।

ग. परम्परागत कृषिबाट वैज्ञानिक कृषितर्फको रूपान्तरण

खाद्य, भूमि र कृषि क्षेत्रका वैज्ञानिक, प्राविधिक, विज्ञ–विशेषज्ञ, अनुसन्धानकर्ता र अनुभवी किसानहरूलाई एउटै मञ्चमा ल्याउने ।
किसानहरूको व्यावहारिक समस्या र आवश्यकता, कृषिको रूपान्तरण र भूमिसुधारबारे वैज्ञानिक दृष्टिकोण अपनाउँदै खाद्य, कृषि तथा भूमि सम्बन्धी नीति तर्जुमा गरी किसान महासंघ र पार्टीको केन्द्रीय कृषि तथा भूमिसुधार विभागमार्फत पार्टीसमक्ष प्रस्तुत गर्ने (जसलाई पार्टीबाट एक विशेष कार्यक्रम गरी सार्वजनिक गर्ने) ।
देशको खाद्य तथा कृषि प्रणालीलाई समाजवादी दिशाउन्मुख गराउन सैद्धान्तिक र व्यवहारिक सुझावहरू संकलन गरी ठोस नीति तर्जुमा गर्ने ।
किसानहरू र कृषि विज्ञहरूका बिचमा संवाद र सहकार्यमार्फत कृषि नीति, योजना, र दृष्टिकोणमा हस्तक्षेप गर्ने रणनीति बनाउने ।
सेवानिवृत्त र बहालवाला कृषि विज्ञहरूलाई पार्टी, किसान महासंघ र यसका घटक संघहरूमार्फत उत्पादक किसानहरूसँग जोडी पार्टीको उत्पादन अभियान र किसानहरूको व्यावसायिक उत्पादनमा सहयोग गर्ने ।
नेपालमा आज पनि कृषि उत्पादनको ठुलो हिस्सा वर्षाको भरमा आधारित छ। किसानहरूमा बिउबिजनको छनोट, मलखाद, सिँचाइको प्रयोग, बाली व्यवस्थापन, कीट नियन्त्रण, माटो परीक्षण र उत्पादनोपरान्तको व्यवस्थापन लगायतका सबैजसो क्षेत्रमा वैज्ञानिक ज्ञानको अभाव छ। यस अभियानमार्फत किसानहरूलाई समयअनुकूल प्रविधि, मौसमअनुकूल बाली छनोट र उत्पादन प्रवद्र्धनका उपायहरू सिकाउने कार्य हुन्छ ।

घ. किसानहरूमा वैज्ञानिक चेतना र आत्मविश्वासको विकास :
जब किसानहरू वैज्ञानिक आधारमा आफ्ना खेतबारीमा प्रयोग गर्न थाल्छन्, उनीहरूमा चेतना, तर्कशील सोच र परिणामप्रतिको अपेक्षा बढ्छ । उनीहरू अब केवल मौसम हेरेर होइन, तथ्य र प्रयोगका आधारमा निर्णय गर्न थाल्छन्। किसानहरूमा वैज्ञानिक चेतनाको थप विकास हुनेछ भने व्यावसायिकता, उद्यमशीलता र आत्मविश्वासको बृद्धि हुनेछ ।

ङ. समाजवादी कृषि विकासको बहस :
वर्तमान पुँजीवादी बजार अर्थतन्त्रले कृषि उत्पादनलाई मुनाफा आर्जनको माध्यम बनाएको छ। यस्ता अभियानहरूले केवल प्रविधिको हस्तान्तरण मात्र होइन, कृषिको सामाजिक स्वामित्व, राज्यको भूमिकाको सशक्तीकरण र किसानको नेतृत्वमा आधारित समाजवादी दृष्टिकोणलाई पनि अघि सार्न सक्नेछन् ।

च. क्रान्तिकारी तथा किसानमैत्री विज्ञहरूको सञ्जाल निर्माण :
क्रान्तिकारी किसान आन्दोलनलाई उत्पादनसँग जोड्दै समाजवादी क्रान्तिको दिशामा अघि बढाउन वैज्ञानिकहरू, प्राविधिकहरू र सामाजिक विचारकहरूको आवश्यकता पर्दछ। यस्ता कृषि विशेषज्ञ सभाहरूले हाम्रो आन्दोलनसँग सहकार्य गर्न र सँगै हिँड्न तयार विज्ञहरूको पहिचान, संलग्नता र सञ्जाल विस्तार गर्न सघाउँछ। यसबाट कृषि वैज्ञानिक र किसानबीच स्थायी संवादको सुरुवात हुनेछ, समाजवादी कृषि विकासको खाका निर्माणमा टेवा पुग्नेछ । किसानसँग वैज्ञानिक अभियानलाई अझ संगठित र सुदृढ बनाउने आधार तयार हुनेछ भने राष्ट्रिय कृषि नीति निर्माणमा हाम्रो धारणा तयार गर्न मद्दत पुग्नेछ ।

७. निष्कर्ष :
किसानसँग वैज्ञानिक अभियान र कृषि विशेषज्ञ सभा हाम्रा लागि कुनै सामान्य कार्यसूची होइनन् । यी कृषि क्षेत्रमा परिवर्तन ल्याउने सशक्त क्रान्तिकारी माध्यम हुन्। यस्ता पहलले किसानलाई आत्मनिर्भर, प्रविधिसम्पन्न र सचेत बनाउनुका साथै कृषिको सामाजिक र वैज्ञानिक रूपान्तरणतर्फ डो–याउँछ। हाम्रो देशको कृषि क्षेत्रको विकास तथा रूपान्तरणका लागि ज्ञानको भण्डार र महत्त्वपूर्ण पुँजीको रूपमा रहेका कृषि वैज्ञानिक, प्राविधिक, अनुसन्धानकर्ताहरू र उत्पादक किसानहरूको बिचमा समन्वय आजको आवश्यकता हो । वैज्ञानिक ज्ञानलाई क्रान्तिकारी आन्दोलनसँग जोड्दै किसान महासंघ, यसका घटक संगठनहरू र पार्टीमार्फत् उत्पादन र समाजवादी क्रान्तिको तयारीको महाअभियानमा जोड्नु हाम्रो एउटा महत्त्वपूर्ण कार्यभार हो । यो अभियानले कृषि विकासलाई वैज्ञानिक, आत्मनिर्भर, किसानमैत्री र समाजवादी दिशामा योगदान दिने विश्वास लिइएको छ ।

अध्यक्ष चित्रबहादुर श्रेष्ठद्धारा प्रस्तुत अवधारणा पत्र

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain