२०८२ माघ २७

कृषि सुरक्षाका लागि जलवायु अनुकूलन डिजिटल नक्साको सुरुवात

काठमाडौं माघ १९, नेपालका लागि तयार गरिएको जलवायु अनुकूलनसम्बन्धी डिजिटल नक्सा सार्वजनिक गरिएको छ । नक्सा सार्वजनिक समारोहमा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले नक्सा नेपालको कृषि क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धि भएको बताए ।
मन्त्री परियारले जलवायु परिवर्तनका कारण बढ्दो जोखिममा परेको परम्परागत कृषि प्रणालीको संरक्षणका लागि नक्सा उपयोगी हुने उल्लेख गरेका छन् ।
मन्त्री परियारले केही संस्थाले नक्साको प्रयोग शुरु गरिसकेकोमा खुशी व्यक्त गर्दै किसानस्तरसम्म यसको प्रयोग विस्तार गर्न सम्बन्धित निकायहरूले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।
नर्मन बोर्लाग इन्स्टिट्यूट फर साउथ एसियाका क्षेत्रीय कार्यक्रम प्रमुख डा.प्रमोद अग्रवालले जलवायु परिवर्तनले विश्वव्यापी समस्या सिर्जना गरिरहेको वर्तमान अवस्थामा नेपाल, भारत, बंगलादेश र श्रीलंकाका वैज्ञानिकहरूको सहकार्यमा तयार गरिएको उक्त नक्सा समयसापेक्ष र नवीन प्रयास भएको बताएका छन् ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा.कृष्णप्रसाद तिमसिनाले नक्साले बालीनाली र पशुपन्छीमा जलवायु परिवर्तनबाट पर्ने नकारात्मक असर न्यूनीकरण गर्न सहयोग पुग्ने र त्यससम्बन्धी नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने र जलवायु मैत्री प्रविधिको प्रवद्र्धनतर्फको महत्वपूर्ण कोसेढुंगा भएको उल्लेख गरेका छन् ।
कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्रमुख डा.तुलसी पौडेलले नक्साले जलवायु अनुकूलन योजना तर्जुमा, जोखिम विश्लेषणमा आधारित वित्तीय सेवा प्रवाह, शैक्षिक अध्ययन तथा सचेतनामूलक कार्यक्रम सञ्चालनमा उपयोगी हुने बताएका छन् ।
नक्साको सञ्चालन र प्रयोगबारे वैज्ञानिक डा.रोशनबाबु ओझा र डा.विवेक सापकोटाले विशेष प्रस्तुति दिएका थिए ।
कार्यक्रममा कृषि तथा वन विश्वविद्यालयका डिन प्रा.डा.अर्जुन श्रेष्ठले यसरी डिजीटल नक्साको प्रयोगले सरकार, किसान र सम्बन्धित सरोकारवालालाई सहयोग पुग्ने कुरामा विश्वास रहेको बताए ।
राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा.कालिकाप्रसाद उपाध्यायका अनुसार डिजिटल नक्सा ‘डिजिटल नेपाल’ को राष्ट्रिय लक्ष्य हासिल गर्ने दिशामा महत्वपूर्ण कदम भएको माटोको डिजिटल नक्सा नार्कको अर्को उल्लेखनीय उपलब्धि रहेको पनि बताए ।
डा.सुनिता सन्ज्यालको सञ्चालनमा भएको कार्यक्रममा संघीय, प्रादेशिक तथा स्थानीय तहका कृषि तथा पशुपन्छी कार्यालय प्रमुखहरूको सहभागीता रहेका थिए । उक्त नक्साले किसानलाई बालीनाली र पशुपन्छीमा जलवायुजन्य जोखिमको विश्लेषण गर्न सहयोग गर्नुका साथै स्थान र समयअनुसार उपयुक्त प्रविधिबारे जानकारी उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain