हामीले हाम्रा शहर र वस्तीहरूको जग बनेको माटोको महत्वलाई सम्झनु पर्छ । यस वर्षको ‘स्वस्थ शहरका लागि स्वस्थ माटो’ भन्ने नाराले नेपालको तराईदेखि हिमालसम्मको भूगोलमा विशेष अर्थ बोकेको छ । माटो जीवनको किताब हो, जसमा हाम्रो अस्तित्व लेखिएको छ । तर आज यो किताबका पृष्ठहरू मेटिँदै गएका छन् । नेपाली उखान ‘माटो काँडै भएपनि आमाको चोलो जस्तो’को भावना आज अझै जीवन्त भए तापनि, हाम्रो यही आमाको चोलो, हाम्रो माटो, अविश्वसनीय गतिमा क्षय हुँदै गएको छ । यसले केवल कृषिलाई होइन, हाम्रा बढ्दो शहरहरूको टिकाउपन, हावापानीको गुणस्तर र हाम्रो सामूहिक भविष्यलाई नै खतरामा पारेको छ ।
संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले यो नारा चयन गर्नुको मुख्य कारण तीव्र शहरीकरणको समस्या नै हो । सन् २०५० सम्ममा विश्वको करिब दुई तिहाई जनसंख्या शहरहरूमा बसोवास गर्ने प्रक्षेपण छ । जसले शहरमाथि ठूलो दबाव सिर्जना गरेको छ । स्वस्थ माटो विना, शहरहरूले आवश्यक सेवाहरू (Ecosystem Services) प्रदान गर्न सक्दैनन् । उदाहरणका लागि, माटो सील (Soil Sealing) गरिँदा बाढी रोकथाम र जलवायु नियन्त्रण जस्ता महत्वपूर्ण कार्यहरू नष्ट हुन्छन् । स्वस्थ माटो नै सहरको तापक्रम नियन्त्रण गर्ने, पानी शुद्ध पार्ने, र स्थानीय खाद्य सुरक्षा बढाउने भौतिक, पारिस्थितिकीय र जैविक आधार हो । त्यसैले, यो नाराले केवल कृषिलाई होइन, हाम्रा बढ्दो शहरहरूको टिकाउपन र सामूहिक भविष्यलाई नै खतरामा पार्ने माटो संकटलाई सम्वोधन गर्न आवश्यकता तिर दिशानिर्देश गरेको छ ।
माटोको बिग्रँदो अवस्थाः प्राज्ञिक तथ्याङ्कले पुष्ठी :
नेपालमा माटोको ह्रास (Soil Degradation) गम्भीर राष्ट्रिय चुनौती बनिसकेको छ । राष्ट्रिय तथ्याङ्क अनुसार देशको औसत वार्षिक माटो क्षय दर प्रति हेक्टर २५ टन छ, जुन विश्वव्यापी औसत भन्दा धेरै बढी हो । यसबाट राष्ट्रिय स्तरमा वार्षिक ३६९ मिलियन टन माटोको क्षति हुँदैछ। भौगोलिक क्षेत्र अनुसार यो समस्या फरक–फरक देखिन्छः
मध्य पहाड क्षेत्रमा क्षय दर प्रति हेक्टर ३८.४ टन पुगेको छ, जुन देशको सबैभन्दा उच्च दर हो ।
– उच्च पहाड क्षेत्रमा पनि दर ३२.५ टन÷हेक्टर (हे)÷वर्ष रहेको छ ।
– तराई क्षेत्रमा यो दर तुलनात्मक रूपमा कम (०.१ टन) भए पनि यहाँको मुख्य चुनौती भनेको रासायनिक असन्तुलन र जैविक पदार्थको कमी हो ।
माटोको यो क्षयले माटोको मात्रा मात्र घटाउँदैन, यसको साथै जीवनदायी पोषक तत्व पनि बगाएर लग्दछ । एक समीक्षाले देखाएको छ कि हरेक वर्ष कृषि जमिनबाट औसत २ देखि १०५ टन माटो प्रति हेक्टर सँगै लगभग ३१० किलोग्राम मुख्य पोषक तत्व (एनपीके) पनि हराइरहेको छ, जबकि अपेक्षित मात्रामा जम्मा ६७ केजी÷हे मात्र पुनः स्थापना हुन्छ । अर्को शब्दमा, हाम्रो माटोको ’कोख’ खाली हुँदै गएको छ। त्यसैगरी नेपालको ६६% भन्दा बढी कृषि माटो अम्लीय (एसीडिक) रहेको छ । मध्य पहाडी जिल्लाहरूमा गरिएको एक अध्ययनले पोटासियम (के) जस्ता आवश्यक तत्वको चिन्ताजनक स्तर देखाएको छ । यो अवस्थाले हाम्रो भविष्यको खाद्य सुरक्षालाई नै प्रश्नचिन्ह लगाएको छ । रिजाल (२००१) ले तराईलाई नेपालको ‘अन्न भण्डार’ भए पनि जैविक पदार्थ (अर्गानिक म्याटर)को मात्रा अत्यन्तै न्यून् भएको (२% भन्दा कम) र यसले माटोको स्वास्थ्यमा गम्भीर असर पारेको औंल्याएका छन् र माटोको उत्पादकत्व बढाउन जैविक पदार्थको महत्व र एकीकृत मल व्यवस्थापन (Integrated Nutrient Management-INM) को रणनीति अपनाउनुपर्नेमा जोड दिएका छन् ।
भौगोलिक क्षेत्र अनुसार माटो संरक्षणको पाटो :
१. तराईः उर्वरताको भण्डारमा जैविकताको अभाव
तराई, नेपालको ‘अन्न भण्डार’, आज रासायनिक मलको अत्यधिक प्रयोग र जैविक पदार्थको कमीको कारण थाक्दै गएको छ । यहाँको मुख्य चुनौंती भनेको माटोको ‘स्वास्थ्य’ (Soil Health) को ह्रास हो । समाधान संरक्षणात्मक कृषि (Conservation Agriculture) मा निहित छ । अनुसन्धानले देखाएको छ कि न्यूनतम् जोताई, छापो र बाली चक्र जस्ता पद्धतिहरूले माटोको संरचना र जल धारण क्षमता सुधार्छन् । साथै, सटीक मल सिफारिश (Site–Specific Nutrient Management) लाई प्राथमिकता दिँदा मात्र सन्तुलित उर्वरता कायम राख्न सकिन्छ । यस्तो वैज्ञानिक मल प्रबन्धनले धान उत्पादन ३६% सम्म बढाउन सक्ने देखिएको छ । यो ’खेती गर्नका लागि मात्र होइन, बुद्धि लगाएर गर्नुपर्छ’ भन्ने सिद्धान्तको जीवन्त प्रमाण हो।
२. पहाडः क्षयको मुखमा संरक्षणको पर्खाइ :
पहाडका ठाडो भिरालोहरूमा माटोको संरचना भत्किनु स्वाभाविक जस्तो देखिए पनि, अनियन्त्रित मानवीय हस्तक्षेपले यसलाई विकराल बनाएको छ। नेपालका विभिन्न पहाडी जिल्लामा गरिएको अध्ययनहरूले देखाउँछ कि स्थानीय किसानहरूले माटोको स्वास्थ्य र उर्वरता मूल्यांकन गर्न ६२ भन्दा बढी परम्परागत सूचकहरू प्रयोग गर्छन् । जस्तै माटोको रङ, बनावट, चिल्लो–खस्रोपन, आद्र्रता समात्ने क्षमता, कणहरुको समुच्चय (Aggregation) को स्थिति, जैविक सामग्रीको गन्ध, सतहमा हुने स–साना बोटबिरुवाहरू, आदि। यी सूचकहरू किसानहरूको पुस्तौंदेखिको अनुभवमा आधारित अत्यन्त व्यावहारिक छ जुन वैज्ञानिक परीक्षणसँग पनि मिल्दछ । यो स्थानीय ज्ञान नै पहाडको माटो जोगाउने मूल आधार हो । यसलाई घेरावार (Hedgerow) प्रणाली र कृषि–वन –ब्नचयAgro-forestry) जस्ता आधुनिक प्रविधिसँग जोड्दा ठूलो फाइदा हुनसक्छ । घेरावार प्रणालीले माटो क्षय ६०% सम्म घटाउन सक्ने देखाइएको छ । “जोगाई राखेको माटो ÷ संरक्षण गरिएको माटो (terrace), वन, झाडी, मलजल, जैविक आवरण) कहिल्यै दगुर्दैन (Erosion) “भन्ने पहाडी ज्ञान र विज्ञानको यो साझेदारी नै भविष्यको बाटो हो ।”
३. हिमालः जलवायू परिवर्तनको प्रहार र कार्वनको महत्व
हिमाली क्षेत्रको चट्टानी माटो पहिले नै नाजुक छ, अब जलवायु परिवर्तनले यसलाई अझ सङ्कटमा पारेको छ । यहाँको समाधान जलवायु–मैत्री कृषि (Climate–Smart Agriculture) मा निहित छ । प्लास्टिक टनेल (Greenhouse), हरित मल (Green Manuring) र छापो बाली (Cover Cropping) जस्ता उपायहरूले माटोलाई थुन्न र जैविक पदार्थ थप्न मद्दत गर्छ । कृषि–वन –ब्नचय(Agro-forestry) जस्ता पद्धतिहरूले माटोमा कार्वन सञ्चय (Carbon sequestration) बढाउन महत्वपूर्ण भूमिका खेल्छन् । बढ्दो कार्वनले माटोको उर्वरता मात्र बढाउँदैन, वातावरणबाट कार्वनडाइअक्साइडलाई पनि अवशोषित गरी जलवायु परिवर्तन मुकाविला गर्न मद्दत गर्छ ।
सहरीकरणः कंक्रिट बिछ्याउनाले माटोको सास रोकिनु :
नेपाल विश्वमै सबैभन्दा तीव्र गतिमा सहरीकरण भएका देशहरूमध्ये एक हो । काठमाडौं उपत्यका जस्ता ठाउँहरूमा निर्माण क्षेत्र (Built-up Area) लगातार बढ्दै गएको छ, प्रायः कृषियोग्य भूमि मासिने अवस्थामा । यसले गम्भीर नतिजा ल्याएको छ । स्थानीय खाद्य उत्पादन घटेको, बाढी र पानी जम्ने समस्यामा वृद्धि भएको र सहरको तापक्रम वरपरको क्षेत्रभन्दा बढी हुने ‘ताप द्वीप प्रभाव’ (Urban Heat Island Effect) बलियो भएको । कंक्रिट र अरकत्राले माटोलाई ‘सास फेर्न नदिई’ बन्द गरेको छ भन्दा फरक पर्दैन ।
भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकामा गरिएको एक ताजा अध्ययनले शहर नजिकैको कृषि भूमिमा पनि माटो स्वास्थ्य व्यवस्थापनको सीमित ज्ञान र फोहोरको असर जस्ता समस्याहरू देखाएको छ । यसको समाधान हरित सहरी योजना (Green Urban Planning) मा निहित छ । मध्यपहाडका सहरहरू जस्तै पोखरा र बुटवलमा ‘रूफटप फार्मिङ्’ (Green Roof), सामुदायिक बगैँचा, र सडक किनार पानी सोस्ने प्रणाली (Permeable Pavement) जस्ता उपायहरूले सहरलाई बाढी र गर्मीबाट बचाउन मद्दत गर्छन् । यी उपायहरूले सहरमा ‘हरियालीको आत्मा’लाई जिउँदो राख्छन् । यसको अर्थ सहरमा भएका हरा क्षेत्र, वृक्षारोपण, खुला स्थान, र वातावरणीय सन्तुलन जोगाउन अपनाइएका उपायहरूले सहरलाई प्राकृतिक रूपमा जिउँदो, सफा र स्वस्थ राख्छन् भन्ने नै हो ।
एकीकृत समाधानः नीति, प्रविधि र सामुदायिक सहभागिता :
माटोको स्वास्थ्य जोगाउनु धेरै पक्षसँग जोडिएको काम हो, त्यसैले यसको समाधान समग्र र एकीकृत उपायबाट मात्र सम्भव छ। यो लडाइँ एकीकृत रणनीति माग्छः-
राष्ट्रिय माटो स्वास्थ्य नक्साङ्कनः हरेक ५–१० वर्षमा सम्पूर्ण भू–भागको माटो स्वास्थ्य, जैविक पदार्थ र कार्बन अवस्था नक्साङ्कन गर्ने प्रणाली स्थापना गर्नु पर्छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम –एनएएमपी) अन्तर्गत शुरु गरिएको ‘माटो स्वास्थ्य कार्ड’ कार्यक्रमलाई विस्तार गर्नुपर्छ ।
क्षेत्रीय रणनीतिः
प्रत्येक भेग (तराई, पहाड, हिमाल) अनुसार उपयुक्त एकीकृत माटो उर्वरता व्यवस्थापन (आइएसएफएम) र संरक्षण कृषि प्रविधि अनिवार्य र प्रोत्साहित गर्नुपर्छ ।
शहरी कम्पोस्टिङ्ः सहरी फोहोरबाट जैविक मल बनाउने प्रणालीलाई प्रवद्र्धन गरेर मल स्वावलम्बन र माटो संरक्षण दुबैलाई बल दिन सकिन्छ ।
कानूनी र नीतिगत सुधारः
माटोको क्षयीकरण (degradation) लाई रोक्न, अत्यावश्यक जैविक पदार्थको मात्रा कायम गर्न र रासायनिक मलको अन्धाधुन्द प्रयोग नियन्त्रण गर्न माटो संरक्षण ऐन तर्जुमा गरी लागू गरिनुपर्छ । यसले माटो स्वास्थ्यलाई राष्ट्रिय सम्पदा को रूपमा परिभाषित गरी संरक्षणको कानूनी आधार प्रदान गर्छ ।
भू–उपयोग नीतिमा माटोको वर्गीकरणः
भू–उपयोग नीतिलाई माटोको जैविक गुणस्तर (ाभचतष्ष्तिथ) अनुसार कडा रूपमा वर्गीकरण गरी कार्यान्वयन गर्नुपर्छ । उच्च उर्वर माटोलाई गैर–कृषि प्रयोगमा लैजानबाट रोक्नुपर्छ ।
प्राविधिक तथा क्षमता विकास :
स्थानीय माटो प्रयोगशालाः प्रत्येक पालिका (Municipality) वा कम्तीमा कृषि ज्ञान केन्द्र÷कृषि विकास कार्यालय स्तरमा द्रुत माटो परीक्षण प्रयोगशाला (Rapid Soil Testing Labs) को स्थापना र क्षमता वृद्धि गर्नुपर्छ। यसले किसानहरूलाई माटोको आवश्यकता अनुरूपको मल मात्र प्रयोग गर्न प्रोत्साहित गर्छ । किसानहरूलाई हरियो मल (Green Manure), बाली चक्र (Crop Rotation), अन्तरबाली (Intercropping), र जैविक कीटनाशक तथा जैविक मलको प्रयोग सम्बन्धी नियमित तथा व्यवहारिक तालिम उपलब्ध गराइनुपर्छ ।
डिजिटल विस्तारः
माटो स्वास्थ्य कार्डको तथ्याङ्कलाई किसानको मोबाइलसम्म पुर्याउने गरी डिजिटल कृषि विस्तार प्रणाली (Digital Agricultural Extension System) को विकास गरिनुपर्छ, जसले सिफारिसहरू तुरुन्तै उपलब्ध गराओस् ।
जैविक मलमा अनुदानः
रासायनिक मलमा दिइने अनुदानलाई क्रमिक रूपमा घटाउँदै जैविक मल उत्पादन गर्ने उद्योग, सहकारी र कम्पोस्ट बनाउने किसान लाई थप प्रोत्साहन (सहुलियत ऋण, अनुदान) दिनुपर्छ ।
माटो–मैत्री बालीमा बजार सुनिश्चितताः
माटोको स्वास्थ्य सुधार गर्ने बालीहरू (जस्तैः कोसे बाली, हरियो मलका बाली) को उत्पादनमा न्यूनतम् समर्थन मूल्य (Minimum Support Price) तोक्ने र बजारमा माटो स्वास्थ्य मैत्री उत्पादन को छुट्टै ब्रान्डिङ गरी उच्च मूल्य सुनिश्चित गरिनु पर्ने ।
कार्वन क्रेडिटः
माटोमा कार्वन सञ्चय (Carbon Sequestration) गर्ने संरक्षण कृषि (Conservation Agriculture) अपनाउने किसानहरूलाई कार्बन क्रेडिट प्रणालीमा जोड्ने र अन्तर्राष्ट्रिय बजारबाट लाभ लिने व्यवस्था मिलाउने ।
सामुदायिक सहभागिता र जनचेतनाः
विद्यालय र कलेजहरूको पाठ्यक्रममा माटो विज्ञान र माटो संरक्षणको महत्त्व सम्बन्धी व्यावहारिक शिक्षालाई समावेश गरिनुपर्छ, जसले गर्दा युवा पुस्तामा माटोप्रति जिम्मेवारीको भावना विकास होस् । राष्ट्रिय स्तरमा माटो बचाऔं (Stave Soil)जस्ता अभियानहरू सञ्चालन गरी किसान, नीति निर्माता र उपभोक्ता सबैमा माटोको महत्वबारे जनचेतना फैलाउनुपर्छ ।
निष्कर्षः
माटोलाई सम्मान गर्नु नै भविष्यलाई सुरक्षा नेपालको सन्दर्भमा, तराईका खेतबारीदेखि पहाडका पाखासम्म, हिमालका डाँडासम्म र यहाँसम्म कि काठमाडौं तथा अन्य सहरका कंक्रिट र डाँडामा लुकेका सामुदायिक बगैँचासम्म हामी बस्ने ठाउँको माटोले नै हाम्रो जीवन, उत्पादनशीलता र अस्तित्वको आधार बनाएको छ । तर, आज यही आधार तीव्र रूपमा क्षयीकरणको खतरामा छ । बढ्दो रासायनिक प्रयोग, अव्यवस्थित भू–उपयोग र माटोको जैविक पदार्थमा आएको ह्रासले हाम्रो खाद्य सुरक्षा र राष्ट्रिय अर्थतन्त्रलाई गम्भीर चुनौती दिइरहेको छ । विश्व माटो दिवसको यो अवसरमा, हामीले एउटा कुरा स्पष्ट रूपमा बुझ्नु पर्छ । “माटो बाँच्यो भने देश बच्छ ।’’ हामीले आजै संकल्प गरौं माटोलाई फोहोरले होइन, फूलले ढाक्ने; कंक्रिटले होइन, हरियालीले सजाउने; रसायनले होइन, जैविक उर्वरकले स्याहार्ने । किनभने, अन्ततः “माटो जीवन हो, जीवन माटो’’ यसलाई संरक्षण गर्नु नै आफ्नै भविष्यलाई संरक्षण गर्नु हो ।
डा. शिव प्रसाद रिजाल, वरिष्ठ बालि संरक्षण अधिकृत (सरकारी सेवा निवृत्त)।

प्रतिक्रिया दिनुहोस्