२०८२ चैत्र १०

फितलो कृषि बजारका कारण किसानहरु निराश

नेपालको कृषि क्षेत्र आज धरासायी बन्दै गएको छ भनेर भन्ने गरेका छन् । सरकारको उपयुक्त सहयोग, किसानहरुमा उपयुक्त ज्ञानको कमी, बजार व्यवस्थापनमा रहेको कमजोरी, कृषि गर्ने किसानसँग जमीनको कमी र कृषि गर्ने जमीनको बढ्दो जमीन भाडा प्रविधिहरुको महँगाई आदिका कारण कृषि उत्पादन अगाडि बढ्न नसकेको कारणहरु अगाडि आईरहेका छन् ।
कृषि व्यवसायी हुनु र कृषि गर्नुमा पनि धेरै फरक छ । त्यसकारण कृषिको पहिचान गरि वर्गीकरण हुनु पर्छ भन्दै आएका छौं । कृषिको वर्गीकरण नहुनुमा राज्यको कमजोरी हो । क्यालकुलेटर डबाएर पैसा कमाउने व्यवसाय भनेको कृषि नै हो । किसान सबै किसाननै हुन् तर किसानको परिभाषा राज्यले नबुझी दिँदा किसान सँधै घाटा खाइरहनुपर्ने स्थितिमा छन् । माथि उल्लेख गरेका विषयहरुको पूर्तिबेगर किसानको उत्साह, जोश, जाँगर प्रोत्साहन फिटलो बन्दै गएको छ ।
केही किसानहरू करोडौं लगानी गरी व्यवसायिक फार्म सञ्चालन गरिरहेका छन् । कोही किसानहरू काठमाडौं उपत्यकाको तिनै शहरमा सँधै डोकामा बोकेर शहरवासीलाई तरकारी सागसब्जी खुवाउँछन् । उनीहरू नै वास्तविक किसान हुन् । उनीहरूले राज्यको सेवा सुविधा कहिल्यै प्राप्न गरेको देखिदैन । त्यसरी बढी दुःख गरेका किसानहरुले राज्यको सेवा सुविधा झन् बढी पाउनु पर्ने हो । के गर्मी के जाडो, हिउँद, वर्षा, बाहै्र महिना गाउँ–गाउँबाट डोकामा बोकेर शहरवासीलाई तरकारी तथा सागसब्जीहरु खुवाउँछन् ।
बन्द, हड्ताल बेलामा समेत डोको–नाम्लोले बोकेरै ल्याउँछन् । के बन्द, के हड्ताल खै उनीहरूको मूल्याङ्कन खै उनीहरुलाई सहयोग ? त्यसकारण पनि वर्गीकरण गरी ती किसानहरू पनि मूल्याङ्कन गर्नु पर्छ ।
काठमाडौं उपत्यकाको तिनै शहरबजारमा आफ्नो खेतबारीबाट सिजन अनुसार तरकारी र सागसब्जीहरू उब्जाउ गरि बेच्न ल्याउँछन् ति किसानहरू । यसरी काँठ क्षेत्रका धेरै किसानहरूको दिनचर्या यसरी बितेका हुन्छन् । कोही किसानहरूले आफै बेच्छन् त कोही अरु कसैलाई बेच्न जिम्मा दिएर जान्छन् । उनीहरूको योगदान सानो छैन । त्यसमा पनि ग्राहकको मोलमोलाई र कचकच खप्नु सामान्य हो । दक्षिणकाली, फर्पिङ्ग, चम्पादेवी, मच्छेगाउँ, भीमढुङ्गा, रामकोट भक्तपुर, ललितपुर लगायत दूरदराजबाट समेत शहरमा ल्याएर बिक्री वितरण गरिन्छ ।
उपत्यका वरिपरिको किसानको दिनचर्या सँधै यस्तै हुन्छ । सोध्यो भने अनुदानको कुरै नगर्नु हामीलाई थाहा हुँदैन । ‘बीउ आफैले किनेर लगाउँछौं । बेच्नु तयारी भएपछि बेच्न ल्याउँछौं ।’ उनीहरू व्यवसायिक रुपमै धनिया, रायो, चम्मु्ुर, पालुङ्ग, मूला, तोरी, अहिले नयाँ–नयाँ जातका चिनियाँ सागहरु प्नि भिभिएका छन् । धेरै प्रकारको हरियो सागपात बोकेर आफ्नो दैनिकी चलाउने चलन बाहिरबाट आएका किसानहरुको कर्म र मर्म बन्ने गरेका छन् । यो कार्यमा बढी भन्दा बढी महिला कृषकहरू रहेका छन् । घरको कामधन्दा सकी सागसब्जी बेच्न भ्याउँछन् ।
राज्यको लागि योगदान गरेवापत सेवा सुविधा पाउने कि नपाउने भन्ने विषयमा सम्बन्धित निकाय गम्भीर हुनु जरुरी छ । अर्कोतिर व्यवसायिक समस्या पनि कम छैन । कृषि उत्पादन ग¥यो बजार पाइँदैन । बजार पायो कृषि उत्पादन कम हुन्छ । यो अवस्था नेपालको किसानले भोग्दै आएको प्रमुख समस्या हो ।
अर्को राज्यले ध्यान नदिँदा किसानले उचित मूल्य नपाउने र विचौलियाले बढी फाइदा लिनु झन् अर्को जटिल समस्या रहेका छन् । उपभोक्ताले झन् बढी मूल्य तिरेर खानुपर्ने वाध्यता छन् । किसानको उत्पादनलाई व्यवस्थापन गर्न नसक्नु सरकारनै प्रमुख दोषी हुन् । त्यसकारण कृषि बजार र मूल्यको ग्यारेन्टी गरिनु पर्छ । व्यवस्थित ढंगले कृषि गर्ने कृषि व्यवसायीको कृषिजन्य उत्पादन राज्यले लिनु पर्ने कृषि विज्ञहरुको भनाई रहेको छ ।
कृषिलाई वजेटमा समेत सुक्ष्म ढंगले लिनुपर्ने कुरा उठेका छन् । सरकारले नै तोकेर नेपालको कृषि वजेटमा व्यवस्थित गरेमात्र पनि पुग्छ । कृषि विकास मन्त्रालयले केही कृषिजन्य वस्तुहरूमा २ वर्षभित्र आत्मनिर्भर बनाउने लक्ष्य पूरा हुने बताएका थिए । किसानको उत्पादन किनिदिन्छु भनेको खण्डमा कृषि नबढ्ने कुरै रहेन । कर्मचारीको भरमा कृषिको वजेट छोडिदिँदा साना किसानलाई दिन पुग्ने वजेट चुहावट, भ्रष्टाचार र विदेश भ्रमण कार्यक्रममा नै सकिन्छ । कृषिमा राम्रो आम्दानी छ भनेर जान्दा–जान्दै कोही पनि विदेश पलायन हुने छैन । कृषि पेशा जस्तो दुःख र कृषि पेशा जस्तो सजिलो अरु पेशा पनि केही छैन यो कुरा सबैलाई थाहा छ । त्यसैले बेलैमा सबै तहको कृषि व्यवसायलाई वर्गीकरण गरि सबै तहको किसानको हितमा काम गरिनु पर्छ । उत्पादनलाई मूल्य श्रृँखलामा पर्ने गरी उत्पादन बढाउनु पर्छ । सरकारबाट यति उत्पादन चाहियो भनेर माग गरेको खण्डमा उत्पादन नबढ्ने भन्ने कुरा आउँदैन । अब सरकारले मलाई उत्पादन चाहियो भनेर किसानसँग भन्नु पर्छ । अन्य कुरालाई बढाई चढाई गर्नु भन्दा यही देशको किसानको लागि काम गर्नु पर्छ । अबको देश कृषि आयत गर्ने होइन आवश्यकता परेको खण्डमा निर्यात गर्न सक्ने देश बन्नु पर्छ यहीनै देशको हित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain