वित्त बजारसमाचार

नेपालमा वार्षिक ८ करोडको कोदो आयात

नेपालमा दुई लाख ६३ हजार हेक्टर क्षेत्रमा कोदो खेती

काठमाडौं, भाद्र २८ कृषि प्रधान मुलुकमा वार्षिक ८ करोड रुपैयाँभन्दा बढीको कोदो आयात् हुने गरेको छ । सरकारी तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७५÷०७६ मा ८ करोड ३ लाख रुपैयाँ बराबरको कोदो आयात् भएको थियो ।
त्यस्तै, २०७४÷०७५ आर्थिक वर्षमा ७ करोड १५ लाख २७ हजार रुपैयाँ बराबरको कोदो आयात् भएको थियो । पछिल्लो समय नेपालमा कोदो खेती गर्ने क्रम घट्दै गएका कारण आयात् बढेको बताइएको छ ।
नेपालमा दुई लाख ६३ हजार हेक्टर क्षेत्रमा कोदो खेती गरिने र तीन लाख १४ हजार २ सय २५ मेट्रिक टन कोदो उत्पादन हुने गरेको छ । नेपालको चौथो प्रमुख बाली मानिएको कोदोवाली विगतमा विपन्न ग्रामीण समुदायको बाँच्ने आधार थियो तर पछिल्लो समय यो क्रमिक रुपमा विस्थापित हुँदै गएको भन्दै राष्ट्रिय कृषक समूह महासंघले चिन्ता व्यक्त गरेको छ । साउन १५ गते कोदो दिवस मनाउने गरी महासंघले वहस शुरु गरेको छ ।
एसोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नालिष्ट (अनाज) सँगको सहर्कायमा महासंघले विहिवार कोदो खेतीको प्रवद्र्धनका लागि कोदो वहस गरेको छ । महासंघका अध्यक्ष नवराज वस्नेतले यसपटक वहस चलाएका छौं, अर्को वर्षदेखि दिवसकै रुपमा राष्ट्रव्यापी रुपमा मनाउने छौं । यसका लागि सरकारलाई पनि ध्यानाकर्षण गराउने सरकारले नै घोषणा गरेर दिवस मनायो भने झन् राम्रो नभए महासंघले नै निजी क्षेत्रको सहयोगमा दिवसकै रुपमा मनाउने छ ।’ कोदो रैथाने बाली भएपनि यसको संरक्षणमा सरकारले ध्यान नदिएको गुनासो छ ।
पौष्टिकताले भरिपूर्ण र नेपाल मौलिक बालीका रुपमा रहेको कोदो खेतीको प्रवद्र्धनमा जोड दिनुपर्ने पनि बस्नेतलेले बताउनुभयो । महासंघका पूर्व अध्यक्ष तथा संरक्षक उद्धव अधिकारीले पनि कोदोको प्रवद्र्धनमा सरकारी उदासिनताका कारण कोदो खेतीमा लाग्ने किसान पनि निरुत्साहित भएको बताउनुभयो ।
महासंघले कोदोखेतीको पवद्र्धनका लागि विभिन्न ९ बुँदे सुझाव प्रस्तुत गर्दै साउन १५ लाई कोदो दिवसका रुपमा मनाउन सरकारसँग मागसमेत गरेको छ । कोदो बाली साना, सिमान्त कृषकको जीविकाको आधार भएकाले सरकारी लगानी र प्राथमिकतासहित प्रतिस्पर्धात्मक क्षमता बढाउनु पर्ने, वातारण सन्तुलन, पोषणयुक्त र आइरनयुक्त खाद्यन्न भएकोले भौगोलिक अवस्था अनुसार विकास गरिनु पर्ने, जमीनको संरक्षण, उपयोग र युवा रोजगारका हिसावले कोदोवालीलाई हेरिनु पर्ने, खेती प्रक्रियामा सुधार, आधुनिक प्रविधि प्रयोग गरी सहज उत्पादनमा जोड दिनु पर्ने महासंघको सुझाव छ । त्यस्तै अध्ययन अनुसन्धान गरी सम्मानित बालीका रुपमा प्रचार प्रसार गरिनु पर्ने, कोदोको प्रशोधन र उद्यमशिलतासँग कृषि शिक्षामा जोड दिनु पर्ने, राष्ट्रिय नीति तथा कार्यक्रम मार्फत विविधतायुक्त बीउ तथा प्रविधि उपलब्ध गराइनु पर्ने, उत्पादनको मूल्य श्रृङ्खला र बजारीकरणमा जोड दिनुपर्ने र स्थानीय, प्रदेश र संघीय सरकारको नीति तथा कार्यक्रम मार्फत सम्वोधन गरी कोदो दिवस र कोदोखेती प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिनु पर्ने पनि महासंघको सुझाव रहेको छ ।
कोदोमा प्रचुरमात्रमा फलाम पाइने हुनाले महिलाहरूमा देखिने रक्त अल्पताको समस्यालाई न्यूनिकरण गर्नुका साथै क्याल्सियम हाड तथा दाँतको विकास र तन्दुरुस्तीमा महत्वपूर्ण मानिन्छ । यसमा पाइने रेशाजन्य पदार्थले पेट सफा गर्ने भएकोले आन्द्राको क्यान्सरबाट बचाउँछ । कोदोमा प्रसस्त मात्रामा म्यागानिक, जिंक पोटासियम पाइने विभिन्न अध्ययनले देखाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close