
घनश्याम अधिकारी (बैरागी जेठा)
काठमाडौं साउन २२, बौद्ध क्षेत्रमा तामाङ कल्याण गुठी र काठमाडौं महानगरपालिका वडा नं. ६ को सक्रियतामा सम्पन्न हुने साँस्कृतिक पर्वहरु विगतमा जस्तै यस पटक पनि शुरु हुँदैछ । उक्त कुरा गाइजात्रा तथा रोपाईंजात्रा तथा (घोनाई जात्रा) मूल समारोह समिति २०८२ को अवसरमा यही साउन २२ गते पत्रकार सम्मेलन आयोजना गरि बताएका हुन् ।
बौद्ध क्षेत्रमा तामाङ कल्याण गुठीको पहलमा नेवार संस्कृतिसँग जोडिएका गाईजात्रा, रोपाइँजात्रा जस्ता ऐतिहासिक पर्वहरुलाई सम्पन्न गर्नका लागि काठमाडौं महानगरपालिका संस्कृति संरक्षण कोषको सहयोगमा गाईजात्रा तथा रोपाइँजात्रा (घोनाइ जात्रा) मुल समारोह समिति २०८२ मनाउन लागेको हो ।
गाइजात्रा तथा रोपाईं जात्रा (घोनाईं जात्रा) मूल समारोह समितिका प्रवक्ता सम्पूर्णकुमार लामाका अनुसार साउन २५ र २६ गते दुई दिन मनाइने यो पर्वका अवसरमा गुठीले १३ शीर्षकमा पुरस्कार समेत घोषणा गरेको छ । उक्त अवसरमा विभिन्न समूहमा प्रतिस्पर्धा गराई छनौंट गरिने ती पुरस्कारहरुमा हल गोरु, युवा बाउसे, युवा रोपाहार, बाल रोपाहार, बाल बाउसे, व्यङ्ग्य, हास्य, युवा लाखे, बाल लाखे, झाँकी, घोडा, विद्यालयहरुबाट र घोनाई मौलिक नाँच रहेका छन् । यो प्रतिस्पर्धामा प्रथम हुनेलाई १० हजार, द्वितीय हुनेलाई ७ हजार, तृतीयलाई ५ र सान्त्वना २५ सय राशीको पुरस्कार व्यवस्था गरिएको कुरा आयोजकले बताएको छ ।
उक्त अवसरमा मुल समारोह समितिका संयोजक वरिष्ठ समाजसेवी जयमंगल लामाले नेपाली साँस्कृतिक पर्वहरुलाई बचाउनका लागि पनि तामाङ कल्याण गुठीको सक्रियता र स्थानीय संघ–संस्था र समाजसेवीहरुको सहयोगमा नेपाली संस्कृतिको संरक्षण गर्न यस्ता कार्यक्रमहरुलाई बचाउँदै जानुपर्ने बताउनुभयो ।
मुल समारोह समितिले विज्ञप्ति जारी गर्दै भनेको छ । नेपाल विविध धर्म र संस्कृतिको संगमस्थल हो । ऐतिहासिक, धार्मिक एवम् साँस्कृतिक नगरी बौद्धको रोपाइँ जात्रा हाम्रो साँस्कृतिक विविधताभित्रको पहिचान हो । यो हाम्रो अमूर्त साँस्कृतिक सम्पदा हो । सँस्कृति राष्ट्रको गौरव हो । यस पर्वलाई स्थानीय तामाङ भाषामा ‘घोनाई’ भनिन्छ । घोनाई पर्व मुख्य गरी जनैपूर्णिमादेखि प्रारम्भ भई गाईजात्रा हुँदै रोपाइँ जात्रामा समापन हुन्छ । जनैपूर्णिमाको दिनलाई स्थानीय तामाङ भाषामा ‘घोनाई ह्या’ भनिन्छ । यस दिन बिहानै मन्दिर, चैत्य, कुलदेवता र खेत–खेतमा क्वाँटी र तीतेपाती चढाइन्छ र घर–घरमा क्वाँटी खाने गरिन्छ । नेवारी भाषामा गाईजात्रालाई ‘सापारु’ भनिन्छ । विशेष गरी गाईजात्रा नेवारी समुदायले मनाउने गर्दछन् जुन मृत्युसँस्कारसँग सम्बन्धित पर्व हो । असार महिनाको रोपाइँको काम सकेर फुर्सदिला बनेका किसानहरू रोपाइँको प्रतीकात्मक स्वरूप झझल्को दिने गरी रोपाहार, बाउसे, हलीको भेषमा अभिनय सहित मनोरञ्जन गर्दै रोपाइँजात्रा मनाउने गर्दछन् । अर्कोतर्फ दिवंगतको स्मृतिमा घर–घरबाट रोपाहार, बाउसे बनाई रोपाइँजात्रामा सहभागी गराउने चलन छ ।
रोपाइँजात्राको उद्भव सम्बन्धी ठोस प्रमाण र आधार प्राप्त हुन सकेको छैन । यद्यपि लोक धारणा र प्रचलित किम्वदन्तीको आधारमा यस जात्राको बारेमा चर्चा गर्नुपर्ने हुन्छ । रोपाइँजात्रालाई गाईजात्राको प्रचलित जनश्रुतिको आधारमा व्याख्या गरिएको पाइन्छ । कान्तिपुरका मल्लकालीन राजा प्रताप मल्लले विक्रम् सम्वत् १६४१–१६७४) ले गाईजात्रा चलाएको हो भन्ने इतिहासलाई आधार मान्ने हो भने सोह्रौं÷सत्रौं शताब्दीदेखि नै रोपाइँजात्रा मनाउन थालिएको प्रतीत हुन्छ । राजा प्रताप मल्लको छोरा चक्रवतीन्द्र मल्लको कलिलै उमेरमा मृत्यु भएकोले पुत्र शोकबाट भावविह्वल आफ्नी रानी अनन्तप्रियालाई सान्त्वना दिन प्रताप मल्लले यो जात्रा चलाउन थालेका थिए भनिन्छ ।
बौद्धको सन्दर्भमा आफ्ना दिवंगत आफन्तजनको आत्माको शान्तिका लागि घर–घरबाट रोपाहार, बाउसे बनाई रोपाइँजात्रामा सहभागी गराउने चलन अधावधि चलेको पाइन्छ । राजा प्रताप मल्लले गाईजात्रा चलाएको हो भनिए तापनि जयस्थिति मल्लको समयभन्दा पहिले नै गाईंजात्रा शुरु भएको हो भनेर संस्कृतिविद्हरुले बताउँदै आएकाछन् । गाई यात्रालाई जात्राको रूपमा विकास भने कान्तिपुरका राजा प्रताप मल्ल, भक्तपुरका राजा जगतप्रकाश मल्ल र ललितपुरका राजा सिद्धिनरसिंह मल्लको समयमा भएको हो भनिन्छ । त्यस बेलादेखि गाईजात्रामा बाजागाजाको संस्कार थपिएको हो भनिन्छ । गाईजात्रा तथा रोपाइँजात्रा शोक र मृत्युसँग सम्बन्धित पर्व हो ।
नेपाली संस्कृतिले शोकसँगै हाँसोमा पनि साथ दिन्छ भन्ने प्रतीकात्मक अर्थ बोकेको पर्वका रूपमा गाईजात्रा तथा रोपाइँजात्रालाई लिन सकिन्छ । रोपाइँजात्राका दिन आफ्नो आफन्तको मृत्युको शोकबाट दुःखी भएका परिवारजनले शोक र दुःखलाई बिर्सेर मृत्यु शाश्वत सत्य हो भन्ने आत्मानुभूति गर्दै हास्यव्यङ्ग्य, झाँकी, ख्याली आदिको रमाइलो अनुभूति गर्दछन् । अतः जसरी र जहिले शुरु भएको भए तापनि गाईजात्रा तथा रोपाइँजात्रा हाँसो, आँसु र उमङ्गको सँगमको रूपमा रहिआएको छ ।
जबसम्म व्यक्ति वा समुदायमा आफ्नो संस्कृति आफैले वा आफ्नो समुदायले जोगाउन पर्छ भन्ने चेतना आउँदैन तबसम्म चुनौंतीहरू हाम्रा सामु आई नै रहन्छन् । हाम्रा पूर्खाले नासोको रूपमा सुम्पेका हाम्रो पहिचान बनेका अमूर्त साँस्कृतिक सम्पदाको संरक्षण एवम् सम्वद्र्धनमा हाम्रो ध्यान जानु आवश्यक छ । यसै कुरालाई हृदयंगम गरी बौद्ध तामाङ कल्याण गुठीको संयोजकत्वमा काठमाडौं महानगरपालिका वडा नं. ६ को विशेष सहयोगमा रोपाइँजात्रालाई भव्य, सभ्य, मर्यादित र व्यवस्थित बनाउन गाईजात्रा तथा रोपाइँजात्रा (घोनाई जात्रा) मूल समारोह समिति–२०८२ गठन गरिएको छ ।
घोनाई जात्रा तथा गाईजात्रा समारोह सम्पन्न गर्न विभिन्न समितिहरु बनाई कार्य विभाजन समेत गरिएको छ । लाखे, रोपार, बाउसे, हाँस्यव्यङ्गय, घोडा, जोगी, झाँकी आदि प्रस्तुतिहरू रोपाइँजात्रामा समावेश हुनेछन् । साथै विद्यालयस्तरीय प्रस्तुतिहरू समेत रोपाइँजात्रामा समावेश गरिने छन् र उत्कृष्ट प्रस्तुतिलाई पुरस्कृत गरिने बताइएको छ ।
कार्यक्रम सम्पन्न गर्न मूल समारोह समिति अन्तर्गत उपसमितिमा बीरबहारदुर लामा संयोजक निर्णायक मण्डल, मूल समारोह समितिका प्रवक्ता सम्पूर्ण कुमार लामा, प्रचार प्रसार समितिका संयोजक चन्द्रजित मोक्तान, स्वयम सेवक परिचालन ज्ञानबहादुर मोक्तान, खास्ती नेवा पुच , देवः भ्वय गुठी, बौद्ध पिपलबोट युवा क्लब, श्री भुवाल डाँडा युवा क्लव, नेपाल स्काउट स्थानीय संयोजक ज्ञानी महर्जन, सहयोगी महिला समूह, बौद्ध स्तुपा क्लव, रामहिटी बज्र युवा क्लव, होप फाउडेशन नेपाल रहेका छन् ।
घोनाई नाँच व्यवस्थापन संयोजन तथा अतिथि सत्कार, छोरङान महिला समाज, बौद्ध एकल महिला समाज, आनन्दपुर महिला समाज, मञ्च तयारी तथा खाना–खाजा व्यवस्थापन बौद्ध तामाङ कल्याण गुठी,
कार्यक्रमको ¥याली व्यवस्थापन बौद्ध तामाङ कल्याण गुठी, टुसाल युवा क्लव, बौद्ध पिपलबोट युवा क्लव, भुवाल डाँडा युवा क्लव लगायत दर्जनौं संघ संस्थाहरुले गरेका छन् ।
घिन्ताङ नाका व्यवस्थापन कृष्णबहादुर लामा –बौद्ध तामाङ कल्याण गुठी, ओम तामाङ सुखःदुख सेवा गुठी रहेका छन् ।
ट्राफिक व्यवस्थापन तथा सुरक्षा समन्वय, बौद्ध प्रहरी वृत, ट्राफिक प्रहरी पोष्ट, वडा नं ६ बौद्ध कामनपा नगर प्रहरी, सामुदायिक सेवा केन्द्र, पर्यटक प्रहरी रहेका छन् ।
कार्यक्रम : साउन २५ गते साँढे तीन बजे घिनतिङनाका, साउन २६ १२ देखि २ बजेसम्म साँस्कृति कार्यक्रम रोपाईजात्राको ¥याली अगाडि, साउन २६ गते साँढे २ बजे (गाईजात्रा ¥याली शोभा यात्रा) प्रारम्भ, साउन २६ गते साँझ ५ बजे पुरस्कार वितरण कार्यक्रम रहेका छन् ।
¥याली परिक्रमा : बौद्ध स्तुप परिक्रमा, बौद्ध फूलवारी, बौद्ध गेट, बौद्ध पिपलबोट मूल सडक, बौद्ध टुसाल चोक मूल सडक रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्