२०८२ पुष २४

दोश्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल

काठमाडौं पुस ६, नेपालको मध्य भागमा अवस्थित इच्छाकामना गाउँपालिका र विशेषगरी मुग्लिङ बजार, नेपालकै एक प्रमुख “ट्रान्जिट हब’’ र खानाको गन्तव्यको रूपमा परिचित छ । हजारौं यात्रुहरूको आवागमन हुने यस क्षेत्रको आर्थिक मेरुदण्ड भनेकै यहाँको कृषि उपज र होटल व्यवसाय हो । मिति २०८० पौष १५ गतेदेखि १७ गतेसम्म इच्छाकामना गाउँपालिकाको अभिभावकीय भूमिकामा सम्पन्न “प्रथम इच्छाकामना सुन्तला महोत्सव“ ले यहाँको सुन्तलालाई राष्ट्रिय बजारमा चिनाउनुका साथै कृषि पर्यटनको आधार खडा गरेको र सुन्तलालाई राष्ट्रिय फलफूलको रुपमा घोषणा गर्ने आधार तयार गरेको थियो ।
आतिथ्यता क्षेत्रमा मुग्लिङ बजारले देशव्यापी रूपमा आर्जन गरेको साखलाई निरन्तरता दिने र कृषि उपजलाई होटल व्यवसायसँग जोड्ने उद्देश्यका साथ इच्छाकामना गाउँपालिकाको मुख्य प्रवद्र्धन सहयोग, चितवन उद्योग संघ, होटल व्यवसायी संघ, चितवनको संरक्षकत्वमा चितवन उद्योग संघ इच्छाकामना समिति र होटल व्यवसायी संघ इच्छाकामना इकाइ समितिको आयोजनामा २०८२ पौष ११ गते देखी १५ गतेसम्म बिहान १०ः०० बजेदेखी राती ०८ः०० बजेसम्म मुग्लिङ बजारमा दोश्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ आयोजना गर्न लागिएको हो ।
महोत्सवको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षण गर्ने, स्थानीय परिकार र होटल व्यवसायको सेवा सुविधाको बजारीकरण गर्ने, महोत्सवले स्थानीय होटल व्यवसायीहरूलाई आफ्ना परिकार पस्कने, स्वच्छ र स्वस्थ खानाको प्रवद्र्धन गर्ने तथा स्थानीय मौलिक खानालाई “ब्रान्डिङ“ गर्ने अवसर प्रदान गर्ने, इच्छाकामना लगायत छिमेकी गाउँपालिकामा उत्पादित सुन्तलाको प्रचार–प्रसार गरी यसलाई राष्ट्रिय स्तरमा चिनाउने, कृषक र उपभोक्ताबीच सीधा सम्पर्क स्थापित गराई छोटो वितरण माध्यम मार्फत
पकलाई उचित मूल्य दिलाउने आधार तयार गरी सुन्तला कृषिकलाई व्यवसायिक सञ्जालमा जोडी दिगो उत्पादन लाग्न प्रेरित गर्ने र सुस्त भएको बजारलाई महोत्सवको माध्यमबाट आर्थिक रूपमा चलायमान बनाउनु यस कार्यक्रमको उद्देश्य रहेको छ ।
यस महोत्सवका मुख्य आकर्षणहरुमा मौलिक स्थानीय तथा राष्ट्रिय परिकारका विविध फुड स्टलहरू हरेक दिन कम्तीमा एक जना राष्ट्रिय तथा चर्चित कलाकारद्वारा विशेष प्रस्तुति तथा स्थानीय कलाकारहरूको वेजोड प्रस्तुति, उत्कृष्ट सुन्तलाको प्रदर्शनी तथा सुपथ मूल्यमा बिक्री वितरण गर्ने रहेको छ । मेलामा सुन्तला महोत्सव व्यवस्थापनको जिम्मेवारी चितवन उद्योग संघ इच्छाकामना समिति र फुड फेस्टिवल व्यवस्थापनको जिम्मेवारी होटल व्यवसायी संघ, इच्छाकामना इकाई समितिले लिएका छन् ।
महोत्सवमा होटल तथा रेस्टुरेन्ट व्यवसायको प्रचार भई भविष्यमा ग्राहक संख्यामा वृद्धि हुने, इच्छाकामना लगायत छिमेकी गाउपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने, स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा सम्वद्र्धन हुने, करिब १०० जना स्थानीय सुन्तला कृषकले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ लिने, स्थानीय स्तरमा आपसी भाइचारा र व्यावसायिक सञ्जाल निर्माण हुन गई सम्बन्ध विस्तार हुने लक्ष्य लिइएको छ ।
महोत्सवको दोश्रो दिन व्यवसायिक सुन्तला खेतीको सम्भावना, अवसर र चुनौती विषयक गोष्ठी कार्यक्रम सञ्चालन गरिने छ । कार्यक्रममा राष्ट्रिय फलफूल विकास केन्द्र, कृषि विकास कार्यालय, चितवन, सुन्तला विज्ञ, सुन्तला उत्पादन गर्ने कृषक लगायतका सरोकारवाला निकायहरुको सहभागिता रहनेछ । मेला अन्तर्गत इच्छाकामना गाउँपालिकाको सिफारिसमा उत्कृष्ट व्यवसायिक सुन्तला कृषकलाई सम्मान समेत गरिनेछ । निःशुल्क प्रवेश रहेको महोत्सवमा सुन्तला तथा होटलका गरी करीब ५० भन्दा बढी स्टलहरु रहने मेलामा ५० लाख बराबरको कारोबार हुने अनुमान गरिएको छ भने मेलामा करीव ५० हजारले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।
महोत्सवमा इच्छाकामना गाउँपालिका लगायत छिमेकी गाउँपालिकाबाट वाण्डिङ गरिएका सुन्तलाका स्टलहरु र फुट फेष्टिवल अन्तर्गत स्थानीय, रैथाने उत्पादनका स्टलहरु रहनेछन् । महोत्सवको मुख्य प्रायोजकको रुपमा याक ब्रईङ कम्पनी र सहयोगी संस्थाको रुपमा मनकामना दर्शन प्रा. लि. रहेका छन् ।
दोश्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ इच्छाकामना क्षेत्रको कृषि, पर्यटन र व्यवसाय विकासमा कोसेढुङ्गा साबित हुने विश्वासका साथ स्थानीय उत्पादनलाई माया गर्न र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन यो कार्यक्रम अत्यावश्यक रहेको व्यहोरा अनुरोध गर्दै मुख्य प्रवद्र्धनका रुपमा सहयोग गर्नुहुन इच्छाकामना गाउँपालिकाको कार्यालयलाई अनुरोध गर्दछौं । साथै आयोजकका रुपमा हुने संस्थाबाट मेलाको पूर्ण सफलताका लागि प्रतिवद्धता व्यक्त गर्दछौं । चितवन उद्योग संघ र होटल व्यवसायी संघको यो संयुक्त प्रयासलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला निकायहरुमा हार्दिक आभार व्यक्त गर्दछौ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain