काठमाडौं पुस २२ अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) अध्यक्ष जगत सिम्खडा, अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष अमर परियार, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित श्रीपालीले ल्याटिन अमेरिकी देश भेनेजुएलामा भएको अमेरिकी बर्बर आक्रमणको घोर निन्दा गरेको छ ।
विज्ञाप्तिमा बोलिभारियन गणतन्त्र भेनेजुएलामाथि अमेरिकी साम्राज्यवादद्वारा गरिएको सैन्य आक्रमण तथा जननिर्वाचित राष्ट्रपति निकोलस मादुरो मोरोसको अपहरणलाई संयक्त राष्ट्र संघको बडापत्र तथा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन, राष्ट्रहरूको आत्मनिर्णय र जनताको सार्वभौमसत्तामाथिको जघन्य आक्रमणका रूपमा घोर निन्दा तथा भत्र्सना गर्दछौं ।
यो कुनै आकस्मिक घटना नभई बोलिभारियन आन्दोलनद्वारा अघि सारिएको सामाजिक न्याय, जनसत्ता, सार्वभौम विकास, डलर अधिपत्यको अन्त्य र बहुध्रुवीय विश्वव्यवस्थाको विकल्पलाई दबाउने र समाजवादी क्रान्तिलाई ध्वस्त गर्ने साम्राज्यवादी रणनीतिको निरन्तरता हो । अमेरिकी साम्राज्यवादले भेनेजुएलाविरुद्ध लामो समयदेखि आर्थिक नाकाबन्दी, एकपक्षीय दमनकारी प्रतिबन्ध, पटक पटक असफल ’कू’को प्रयास, राजनीतिक अस्थिरता सिर्जना र भाडाका शक्तिको प्रयोग गर्दै अन्ततः खुला सैन्य आक्रमण तथा अपहरणजस्ता औपनिवेशिककालका फासिवादी तरिकाहरू अपनाउँदै आएको छ । यी सबै कार्यहरू बोलिभारियन क्रान्तिको जनाधारलाई कमजोर पार्ने र भेनेजुएलाका पेट्रोलियमसहित प्राकृतिक स्रोतहरूमाथि पुनः साम्राज्यवादी नियन्त्रण स्थापित गर्ने उद्देश्यबाट प्रेरित छन्, जुन सर्वदा अस्वीकार्य छन् ।
भेनेजुएलाको क्रान्ति किसान, श्रमिक, महिला, आदिवासी र उत्पीडित वर्ग समुदायको ऐतिहासिक संघर्षबाट जन्मिएको जनमुखी कार्यक्रम भएकाले यसले विश्वभरका श्रमजीवी जनतामा न्याय र समाजवादप्रतिको आशा तथा आत्मविश्वास जगाएको छ । नेपालका किसान, श्रमिक, दलित र सुकुम्बासीहरू स्वयं सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवादी हस्तक्षेपविरुद्ध लामो संघर्षबाट गुज्रिरहेका हुनाले भेनेजुएलामाथिको आक्रमणलाई हामीले आफ्नो साझा मुक्ति संघर्षमाथिको आक्रमणका रूपमा लिएका छौं ।
हामी राष्ट्रपति निकोलस मादुरो मोरोस र उहाँकी जीवनसंगिनी तथा क्रान्तिकारी नेतृ सिलिया फ्लोरेसलाई विना सर्त, सुरक्षित रूपमा तुरुन्त रिहा गर्न, भेनेजुएलाको संवैधानिक सरकार तथा राष्ट्रिय सार्वभौमसत्ताको पूर्ण सम्मान गर्न, भेनेजुएला विरुद्ध जारी सबै प्रकारका अमेरिकी सैन्य आक्रमण, राजनीतिक हस्तक्षेप र आर्थिक नाकाबन्दी तत्काल अन्त्य गर्न, भेनेजुएली जनतामाथि थोपारिएका सबै एकपक्षीय दमनकारी प्रतिबन्ध खारेज गरी जनताको आत्मनिर्णय र स्वतन्त्र विकासको अधिकार सुनिश्चित गर्न र यो साम्राज्यवादी आक्रमण तथा राष्ट्रप्रमुखको अपहरणका योजनाकार तथा कार्यान्वयनकर्ताहरूलाई अन्तर्राष्ट्रिय कानुन र विश्व जनमतको कठघरामा उभ्याउँदै भेनेजुएलासहित विश्वभर शान्ति र अमनचयनको वातावरण सुनिश्चित गर्न जोडदार माग गर्दछौं ।
हामी विश्वभरका श्रमिक, किसान, दलित, सुकुम्बासी, युवा, महिला, विद्यार्थी, आदिवासी तथा सम्पूर्ण समाजवादी, लोकतन्त्रवादी, प्रगतिशील र साम्राज्यवादविरोधी शक्तिहरूलाई दृढ ऐक्यवद्धताका साथ बोलिभारियन जनताको समर्थनमा उभिन आह्वान गर्दछौं । कूटनीतिक माध्यम र जनआन्दोलन दुवैको शक्तिबाट अन्तर्राष्ट्रिय शान्ति, स्वाधीनता र सामाजिक न्यायको पक्षमा आवाज उठाउनु आजको ऐतिहासिक आवश्यकता हो । हामी नेपालका जनसंगठनहरू भेनेजुएली जनतासँग क्रान्तिकारी भाइचारा, अन्तर्राष्ट्रिय ऐक्यवद्धता र पारस्परिक सम्मान व्यक्त गर्दछौं । जनताको संगठित शक्ति अजेय छ, साम्राज्यवादी दमनको अन्तिम परिणाम तिनको पराजय हुने विज्ञाप्तिमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्