काठमाडौं पुस २५, अखिल नेपाल किसान महासंघका अध्यक्ष डा.प्रेम दंगालले एक प्रेस विज्ञाप्ति प्रकाशित गरि रसुवा जिल्ला नौकुण्ड गाउँपालिका वडा नं. ५, लामाचेत निवासी किसान चुडामणि पौडेलले विगत दुई वर्षदेखि करिब ८ रोपनी निजी जमीनमा व्यवसायिक गोलभेडा खेती गर्दै आएको पौडेलको यही पुष १६ गते लामटाङ राष्ट्रिय निकुञ्जका कर्मचारीहरूको समूहले गुण्डागर्दी शैलीमा प्रवेश गरी फलिरहेका करिब ६ हजार गोलभेडाका विरुवा काट्नुका साथै टनेल संरचनामा व्यापक क्षति पु¥याएको घटनाप्रति अखिल नेपाल किसान महासंघ घोर निन्दा र भ्रत्सर्ना गरेको छ ।
राज्यका निकायबाट किसानमाथि यस प्रकारको दमन, ज्यादती र हिंसात्मक व्यवहार हुनु अत्यन्त निन्दनीय र अस्वीकार्य छ । उत्पादनमा जुटिरहेका किसानको खेतमा छापा मारेर बाली नष्ट गर्नु केवल व्यक्तिगत क्षति मात्र होइन, किसान विरोधी, उत्पादन विरोधी र राष्ट्रिय आत्मनिर्भरता विरोधी राज्य नीतिको प्रत्यक्ष अभिव्यक्ति हो । यस प्रकारका ज्यादतीविरुद्ध संगठित रूपमा प्रतिकार गर्न सबै किसान संघ–संस्था, न्यायप्रेमी सञ्चार माध्यम तथा जिम्मेवार राजनीतिक दलहरूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।
किसान पौडेलको फार्ममा नियोजित रूपमा गराइएको क्षतिको पूर्ण क्षतिपूर्ति तथा तत्काल राहत उपलब्ध गराउन, साथै फार्म नष्ट गर्न निर्देशन दिने तथा संलग्न अधिकारीहरूमाथि कडा कारबाही गर्न अखिल नेपाल किसान महासंघ राज्यका सम्बन्धित निकायहरूसँग जोडदार माग गर्दछ ।
कठोर मेहनत, लगनशीलता र संकल्पका साथ देशमै कृषि उद्यममार्फत परिवार, समाज र राज्यलाई योगदान गरिरहेका किसानलाई हतोत्साहित गर्दै विस्थापन गर्ने, सार्वजनिक जमीन संरक्षणको नाममा जंगली जनावर बढाउने, जमिन बाझो राख्ने र देशलाई कृषि उत्पादनमा परनिर्भर बनाउने सरकारका नीति र अभ्यासहरूप्रति अखिल नेपाल किसान महासंघ घोर विरोध प्रकट गर्दछ र यस्ता नीति तथा क्रियाकलाप तत्काल सच्याउन माग गर्दछ ।
अखिल नेपाल किसान महासंघका केन्द्रीय कमिटी सदस्य समेत रहनुभएका किसान चुडामणि पौडेलले करिब ३० लाख रुपैयाँको व्यक्तिगत लगानीमा, राज्यबाट कुनै अनुदान नलिई सहकारीबाट ऋण लिएर आधुनिक टनेल निर्माण गरी व्यवसायिक गोलभेडा खेती गर्दै आउनुभएको छ । गत वर्ष मात्र उहाँले १३२७ क्यारेट उत्पादन गरी करिब २४ लाख रुपैयाँ बराबरको बिक्री वितरण गर्नुभएको थियो । उहाँबाट प्रभावित भई सो क्षेत्रमा अन्य किसानहरूले समेत व्यवसायिक खेती सुरु गरिरहेका छन् । स्थानीय तहमा उहाँ उदाहरणीय किसानका रूपमा स्थापित हुनुहुन्छ ।
घटनाको यथार्थ बुझ्न अखिल नेपाल किसान महासंघको टोली र सञ्चारकर्मीहरू सम्बन्धित स्थानमा पुगेको थियो । किसान पौडेलले पैत्रिक सम्पत्तिको रुपमा करिब ८ रोपनी निजी जमिन भोगचलन गर्दै आएको, करसमेत तिर्दै आएको तथ्य स्पष्ट छ । व्यवसायिक खेती सुरु गरेको एक वर्षपछि पटक–पटक राष्ट्रिय निकुञ्जका कर्मचारीले जमीन छाड्न दबाब दिएपछि गरिएको नापजाँचमा खेति गरेको करिब पौने ३ रोपनी सार्वजनिक जमिन परेको जानकारी उहाँलाई दिइयो । यसकारण उहाँको उक्त जमिन अतिक्रमण गर्ने मनसाय नरहेको तथ्य प्रस्ट देखिन्छ ।
उक्त गाउँमा सार्वजनिक जमिनमा घरवास र खेतीपाती गर्दै आएका धेरै व्यक्तिहरू हुँदाहुँदै किसान पौडेललाई मात्र लक्षित गरी, उहाँले लगाएको बाली भित्र्याउन नदिई, संरचनामा गरिएको लगानीको कुनै मूल्याङ्कन नगरी खेती नष्ट गर्नु अमानवीय, दमनकारी र षड्यन्त्रमूलक कार्य हो । गाउँमै उदाहरणीय काम गरेकै कारण उहाँलाई योजनाबद्ध रूपमा विस्थापन गर्न खोजिएको प्रष्ट देखिन्छ । यो घटना कुनै एक किसानमाथिको मात्र होइन, समग्र किसानप्रति राज्यको दृष्टिकोण र व्यवहारको प्रतिनिधि दृष्टान्त हो ।
उहाँले आफुले कर तिर्दै आइरहेको जमिन छुट्याइदिन माग गरेपछि पालिकाको सहजीकरणमा जमिन नापजाँच गरी छुट्याउने प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा राष्ट्रिय निकुञ्जका कर्मचारीद्वारा एकाएक फार्म नष्ट गरिनुले किसानको मनोविज्ञानमा गम्भीर आघात पु¥याएको छ । राष्ट्रिय निकुञ्जका नाममा पटक–पटक दोहोरिने यस्ता मनपरी र दमनकारी कार्यहरू रोक्न नेपाल सरकारका सम्बन्धित निकायहरूले तत्काल गम्भीर ध्यान दिनु आवश्यक छ ।
सार्वजनिक जमिन संरक्षण राज्यको दायित्व हो भने त्यो सबैका लागि समान रूपमा लागू हुनुपर्छ । जमिनलाई उत्पादन वृद्धिका लागि प्रयोग गर्नु, व्यवसाय गर्न इच्छुक व्यक्तिलाई व्यवस्थित रूपमा जमिन उपलब्ध गराउनु राज्यको दायित्व हो । तर, उत्पादनशील किसानलाई लक्षित न्यूनतम सार्वजनिक (पौने ३ रोपनी) जमिनको बहानामा गरिने यस्ता अन्यायपूर्ण कार्यले जंगल विस्तार होइन, बाझो जमिन र किसान पलायन बढाउने काम मात्र गरिरहेको छ । यसले किसानलाई कृषि पेशाबाट विस्थापित गरी वैदेशिक रोजगारीमा धकेल्ने सरकारी नीतिको चरित्र उजागर गरेको छ ।
कुनै पनि बहानामा किसानमाथि गरिने हमला, दमन र अन्यायपूर्ण व्यवहारप्रति अखिल नेपाल किसान महासंघको शून्य सहनशीलता नीति रहेको स्पष्ट पार्दै, यस्ता कार्य पुनः नदोहो¥याउन राज्य पक्षलाई चेतावनी दिन चाहन्छौं । अध्यक्ष दंगालद्वारा प्रसित विज्ञाप्तिमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्