२०८२ फाल्गुन १०

मकै बालीमा लाग्ने अमेरिकन फौजी कीरा र तिनको एकीकृत व्यवस्थापन

परिचयः
अमेरिकन फौजी किरा (American Fall Armyworm,Spodoptera frugiperda) पुतली वर्गमा पर्ने एक रात्रीचर कीरा हो, जुन अमेरिकाको रैथाने किरा हो। यस कीराको प्रकोप सन् २०१६ मा अफ्रिकामा महामारीको रूपमा देखिएको थियो । मुख्यतया मकै बालीमा आक्रमण गर्ने यस कीराले जुनेलो, उखु, घाँसे बालीहरू, धान, गहुँ, कोदो, बदाम, भटमास, कपास, काउली वर्गका तरकारी बालीहरू, तेलहन, लहरे तरकारी, गोलभेंडा आदि बालीहरूमा समेत क्षति पु¥याउने गर्दछ। यसले मकै लगायत ८० भन्दा बढी अन्य विरुवामा असर गर्ने गरेको पाइन्छ । प्रायः रातिमा सक्रिय भई यसले विरुवाको विभिन्न भागहरूमा क्षति पु¥याउँछ ।

नेपालमा यस कीराको प्रवेश भएको आधिकारिक पुष्टि मिति २०७६ श्रावण २७ गते बसेको राष्ट्रिय बिरुवा संरक्षण संगठन (NPPO) को १५औँ बैठकले गरेको थियो। सन् २०१८ जुलाईमा भारतको कर्नाटकमा महामारीको रूपमा देखिएको यस कीरा नेपालमा पहिलो पटक सन् २०१९ मे महिनामा नवलपुर जिल्लामा देखिएको थियो । हाल यस वर्ष यो कीरा नेपालको अधिकांश जिल्लामा मकै बालीमा प्रमुख समस्याको रूपमा देखिएको छ ।

जीवनचक्र र पहिचान :
अमेरिकन फौजीकीराको जीवनचक्रमा अण्डा, लार्भाका ६ वटा विभिन्न अवस्थाहरू, अचल अवस्था प्यूपा (Pupae) र वयस्क पुतली गरी ४ वटा प्रमुख अवस्थाहरू हुन्छन् । यीमध्ये लार्भा अवस्था मुख्य रूपमा हानिकारक हुन्छ भने अन्य अवस्थाहरूले विरुवामा खासै क्षति नपु¥याए पनि किराको जीवनचक्र पूरा गर्न सहयोग पु¥याउँछन् ।
वयस्क भाले र पोथीको संसर्गपछि वयस्क पोथीले सामान्यतया पातको तल्लो सतहमा १०० देखि २०० सम्मको संख्यामा अण्डाहरू पार्दछ । अण्डाहरू झुण्डमा रहेका हुन्छन् र तिनीहरू खैरो कत्ला जस्तो भुवाले ढाकिएका हुन्छन् । मौसमी अवस्था अनुसार ३ देखि ५ दिनभित्र अण्डाबाट लार्भाहरू निस्कन्छन् ।

लार्भाः
लार्भा अवस्था तापक्रम तथा आहारको आधारमा १४ देखि ३० दिनसम्म रहन सक्छ। लार्भाको विकास ६ चरणमा पूरा हुन्छ। ५ पटक काँचुली फेरेपछि मात्र लार्भा अचल अवस्था (प्यूपा) मा प्रवेश गर्दछ । सामान्यतया वयस्क लार्भाको लम्बाइ ३.१ देखि ३.८ से.मी. हुन्छ र यसको रङ हल्का हरियोदेखि कालोसम्म हुन सक्छ ।
वयस्क लार्भाको पहिचानका लागि यसको टाउकोमा उल्टो एक्स आकारको चिन्ह देखिन्छ । साथै, लार्भाको पेटको आठौँ खण्डको माथिल्लो भागमा वर्गाकार (क्त्रगबचभ) रूपमा मिलेर रहेका ४ वटा काला थोप्लाहरू स्पष्ट रूपमा देख्न सकिन्छ । शरीरको अन्य भागमा पनि केही उठेका काला थोप्लाहरू तथा ती थोप्लामा मसिना रौँहरू देखिन्छन् । लार्भाको निधारमा दुईवटा आँखाको बीच भागमा अंग्रेजी अक्षरमा उल्टो ४ जस्तो चिन्ह पनि देखिन्छ। शरीरको माथिल्लो भागमा तीनवटा हल्का पहेँलो रङका धर्काहरू टाउकोको पछाडिदेखि पेटको अन्तिम भागसम्म समानान्तर रूपमा स्पष्ट देखिन्छन् ।
यस किराको लार्भा सुशुप्त अवस्थामा जाँदैन, त्यसैले अत्यधिक चिसो अवस्थामा (१० डिग्री सेल्सियसभन्दा कम तापक्रममा) लार्भाहरू मर्ने गर्दछ। लार्भाको सुरुवाती अवस्थाले विरुवाको गुबोका कलिला पातहरूको हरियो भाग खाई सेतो पत्र मात्र बाँकी राख्दछ । विशेषगरी लार्भाको पाँचौँ र छैटौँ चरण अत्यन्त हानिकारक हुन्छन्। यस अवस्थामा लार्भाले पातमा प्वाल पारेर खाने, गुबोभित्र पसेर गुबोका पातहरू खाने तथा मकैको घोगामा समेत प्वाल पारेर जुगा र कलिला दाना खाइदिन्छ, जसका कारण मकैको घोगामा दाना नै नरहने अवस्था सिर्जना हुन्छ ।

अचल अवस्था (प्यूपा):
प्यूपा अवस्था पूर्ण रूपमा विकसित हुन गर्मी मौसममा ८ देखि १० दिन लाग्दछ भने जाडो महिनामा १४ दिनसम्म लाग्न सक्छ । प्यूपाको रङ रातो, खैरो हुन्छ । अचल अवस्थामा प्रवेश गर्नु अघि लार्भा माटोमा २ देखि ८ से.मी. गहिराइमा गई प्यूपा अवस्थामा प्रवेश गर्दछ ।
लार्भाले रेशमी धागो र माटोका कणहरू जोडेर कमजोर प्रकृतिको अण्डाकार कोया बनाउँछ र त्यसको भित्र अचल अवस्थामा रहन्छ । माटो अत्यधिक कडा भएको अवस्थामा भने लार्भा सुकेका पात(पतिङ्गरहरूमा लुकेर अचल अवस्थामा प्रवेश गर्दछ ।

वयस्क पुतलीः
वयस्क पुतलीहरू खरानी मिसिएको खैरो रङका हुन्छन् । भाले तथा पोथी दुवै पुतलीको पछिल्लो पखेटा सेतो र भित्री किनारामा कालो धर्सा भएको हुन्छ। भाले पुतलीको अघिल्लो पखेटाको टुप्पोमा ठूलो सेतो धब्बा हुन्छ भने बीचतिर अण्डाकार आकारको हल्का खैरो रङको धब्बा देखिन्छ । साथै, वयस्क भाले पुतलीको अगाडिको पखेटाको किनारामा र टुप्पोमा त्रिकोण आकारका सेतो धब्बाहरू देखिन्छन् । तर पोथी पुतलीको अगाडिको पखेटा पूर्ण रूपमा खैरो हुन्छ र यसमा यस्ता धब्बाहरू देखिँदैनन् ।

त्यसैगरी, वयस्क किरा करिब १० दिनसम्म बाँच्दछ । वयस्क पुतलीले एक रातमा करिब १०० किलोमिटरसम्मको दूरी पार गर्न सक्ने क्षमता राख्दछ ।

क्षतिको लक्षणः
यो किरा अत्यन्तै खन्चुवा प्रकृतिको भएकोले यसको समयमै व्यवस्थापन गर्न नसके मकै उत्पादनमा ठूलो गिरावट आउन सक्छ । यस कीराको लार्भा अवस्थाले मकैको पात, गुबो, धान चमरा, जुगा, घोगा तथा डाँठमा समेत क्षति पु¥याउँछ । अण्डाबाट निस्किएलगत्तै कलिला लार्भाहरूले पात खान थाल्दछन्, जसका कारण पातमा सिसाको झ्यालजस्ता आकृतिहरू देखा पर्दछन् ।
लार्भाहरूले मसिनो रेशमी धागो निकालेर त्यसमा झुण्डिएर हावाको बहावसँगै नजिकका नयाँ बिरुवामा फैलिने गर्दछन् । विशेषगरी लार्भाका पहिलोदेखि तेस्रो अवस्थासम्म यस प्रकारको क्षति देखिन्छ । चौथो अवस्थासम्म आइपुग्दा लार्भा गुबोभित्र पसेर पातहरू छियाछिया पार्दै नोक्सानी गर्दछ । यदि बिरुवा कलिलो अवस्थामा रहेको छ भने गुबो मर्न सक्छ, जसका कारण नयाँ पात पलाउन तथा घोगा लाग्न सक्दैन ।
हुर्किसकेको तथा घोगा लागिसकेको बिरुवामा लार्भाले घोगाको खोस्टा खान थाल्छ र दाना लाग्दै गरेको घोगाभित्र पसेर समेत नोक्सानी पु¥याउँछ । लार्भाहरू बढ्दै जाँदा परभक्षी स्वभावका समेत हुन्छन् । कीराको आक्रमण भएको स्थानमा काठको धुलोजस्तो विष्टा प्रशस्त मात्रामा देखिन्छ। मकैमा कीराको आक्रमण अत्यधिक भएको अवस्थामा पातहरू असिनाबाट भएको क्षतिजस्तै छियाछिया भएको देखिन्छ ।
विषादीको सुरक्षित प्रयोगतर्फ अधिकांश किसानहरूको ध्यान गएको पाइँदैन । सम्भव भएसम्म उपलब्धताको आधारमा जैविक विषादीको प्रयोग गर्नुपर्दछ र अन्तिम विकल्पका रूपमा मात्र रासायनिक विषादीको प्रयोग गर्नुपर्छ । विषादीको सुरक्षित प्रयोग नगर्दा मानव स्वास्थ्य, जीवजनावर तथा वातावरणमा प्रतिकूल असर पर्न सक्ने भएकाले सकेसम्म कृषि विज्ञ वा प्राविधिकको सल्लाह लिएर मात्र विषादीको प्रयोग गर्नुपर्छ ।
यो किराको एकीकृत व्यवस्थापनका लागि उल्लेखित विधिहरू अवलम्बन गरेमा यसबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न तथा उचित व्यवस्थापन गर्न सकिन्छ ।

एकिकृत शत्रुजीव व्यवस्थापनः
– मकै रोप्नुभन्दा अगाडि गहिरो गरी जमीन खनजोत गर्नुपर्दछ ।

–सकेसम्म वर्षा सुरु हुनासाथ चाँडै मकै रोप्नुपर्दछ र एउटै पकेट क्षेत्रमा सम्भव भएसम्म सबैले एकै समयमा मकै रोप्ने व्यवस्था गर्नुपर्दछ ।
–मकैबालीमा अन्तरबालीका रूपमा यस कीरालाई मन नपर्ने बालीहरू जस्तै डेस्मोडियम घाँस, तरुल, सिमल तरुल आदि लगाउनुपर्दछ ।
–बाली छर्ने बित्तिकै बत्तीको पासोको प्रयोग गरी यस किराको माउ पुतलीलाई आकर्षित गरेर यसको व्यवस्थापन गर्न सकिन्छ। माउ पुतलीको व्यवस्थापन गर्नु भनेको करिब १,५०० नयाँ लार्भा जन्मिन नदिनु हो, त्यसैले यो विधि अत्यन्तै महत्वपूर्ण हुन्छ ।
–मकै लगाएलगत्तै एक हप्ताभित्र प्रति हेक्टर १० वटा फनेल (फल आर्मीवर्म ल्युर वा स्पोडो ल्युर) पासोको प्रयोग गरी फौजी किराको भालेलाई जम्मा गरी नष्ट गर्नुपर्दछ। फल आर्मीवर्म ल्युर एक महिनाको अन्तरालमा फेर्नुपर्दछ ।
–खेतबारीको नियमित अवलोकन तथा अनुगमन गर्नुपर्दछ। यदि उक्त किराको अण्डाको थुप्रो वा लार्भा भेटिएमा संकलन गरी मिचेर नष्ट गर्नुपर्दछ र सम्भावित क्षतिको आँकलन गर्नुपर्दछ ।
–मकैको जात छनोट गर्दा सकेसम्म खोस्टाले पूरै घोगा छोपिने जातको मकै लगाउनुपर्दछ ।
–खेतबारीको वरिपरि फूल फुल्ने बिरुवाहरू लगाई मित्रजीवहरू जस्तै माकुरा, ब्राकोनिड आदि कीराहरूको संरक्षण गर्नुपर्दछ ।
–मकै रोप्नु अघि इमिडाक्लोप्रिड (Imidacloprid) ४८ प्रतिशत एफ.एस. विषादी ४ मि.लि. प्रति किलोग्राम बीउका दरले बीउ उपचार गरेर रोप्नुपर्दछ ।–

स्वस्थ बिरुवाले किराको आक्रमण सहन सक्ने भएकाले सिफारिस बमोजिम सन्तुलित मात्रामा मलखाद तथा सिँचाइको व्यवस्थापन गर्नुपर्दछ ।
–निरीक्षणको क्रममा पातको तल्लो भागमा अण्डाका थुप्रा वा लार्भाहरू भेटिएमा संकलन गरी नष्ट गर्नुपर्दछ ।
–पातमा सेता लाम्चा झिल्लीसहित प्वाल देखापरेमा नीमजन्य विषादी एजाडिराक्टिन १५०० पिपिएम ५ मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्नुपर्दछ ।
–मकैको पात तथा गुबोमा लार्भाको क्षतिको लक्षण देखिएमा अनिवार्य रूपमा तल उल्लेखित रासायनिक विषादीहरू आलोपालो गरी प्रयोग गर्नुपर्दछ ।
–इमामेक्टिन बेन्जोएट (Emamectin Benzoate) ५% एस.जी. ०.४ ग्राम प्रति लिटर पानीका दरले वा स्पिनोसाड (Spinosad) ४५% एस.सी. ०.३ मि.लि. प्रति लिटर पानीका दरले वा स्पाइनेटोराम (Chlorantraniliprole) ११.७% एस.सी. ०.५ मि.लि. प्रति लिटर पानीका दरले वा क्लोरान्ट्रानिलीप्रोल (Trichogramma chilonis) १८.५% एस.सी. ०.३ मि.लि. प्रति लिटर पानीका दरले बिरुवाको गुबो भिज्ने गरी प्रयोग गर्दा प्रभावकारी पाइएको छ ।
–लार्भा हुर्किसकेपछि तथा मकैको घोगा लाग्न थालेपछि विषादीको प्रयोग प्रभावकारी नहुने भएकाले यस अवस्थामा विषादीको प्रयोग नगर्नु उपयुक्त हुन्छ ।
–ट्राइकोग्रामा चिलोनिस (Trichogramma chilonis) तथा टेलेनोमस प्रजाति (Telenomus spp) प्रति हेक्टर १,००,००० का दरले एक हप्ताको अन्तरालमा ३ पटक प्रयोग गर्दा पनि यस किराको व्यवस्थापन गर्न सकिन्छ। तर यी परजीवी कीराहरू हाल नेपालको बजारमा सजिलै उपलब्ध छैनन् ।
यो कीराको व्यवस्थापनको लागि एउटै मात्र उपाय प्रभावकारी हुन नसक्ने हुँदा एकिकृत शत्रुजीव व्यवस्थापनका उपायहरु अवलम्बन गर्नुपर्दछ ।

सन्दर्भ सामग्री :
( राजेन्द्र रेग्मी, मकैको अमेरिकन फौजी किरा (Spodoptera frugiperda) र यसको एकीकृत व्यवस्थापन, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन
(अमेरिकन फौजी कीराको पहिचान क्षति र त्यसको ब्यवस्थापन,कृषि तथा पशुपंक्षी विकास मन्त्रालय हरिहरभवन, ललितपुर।
(मकैवालीमा लाग्ने अमेरीकन फौजीकीरा । अजय श्री रत्न बज्राचार्य, बिनुभाट र डा. प्रेम निधि शर्माकीट विज्ञान महाशाखा खुमलटार, ललितपुर ।
( डा घनश्याम भण्डारी , डा सरस्वती न्यौपाने मकैवालीमा लाग्ने अमेरीकन फौजीकीरा तथा तिनको एकीकृत ब्यबस्थापन बिधि , राष्ट्रिय मकै अनुसन्धान कार्यक्रम, रामपुर
लेखकहरु डा. राजेन्द्र दराई, मुख्य वैज्ञानिक (एस ५), सुरेन्द्र प्रसाद यादव, प्राबिधिक अधिकृत, बिनोद यादव, प्राबिधिक अधिकृत, नेपाल कृषि अनुसन्धान परिषद्, कृषि अनुसन्धान निर्देशनालय, तरहरामा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain