२०८१ माघ २

कोशी, मधेश र बाग्मती प्रदेशका कूल २१ विद्यालयमा कक्षा ८, ९ र १० का विद्यार्थीलाई चुरे संरक्षणका बारेमा विशेष पाठ्यक्रम अध्यापन

 

काठमाडौं असार ३१, चुरे उत्थानशील आयोजनाका सञ्चार विज्ञ सेवा भट्टराईले प्रेस विज्ञाप्ति प्रकाशित गरि बागमती प्रदेशमा चुरे संरक्षण कक्षा लागु गरेको छ जनाएको छ ।
कोशी, मधेश र बाग्मतीका कूल २१ विद्यालयमा कक्षा ८, ९ र १० का विद्यार्थीलाई चुरे संरक्षणका बारेमा विशेष पाठ्यक्रम अध्यापन गराइएको विज्ञाप्तिमा जनाइएको छ ।
विज्ञाप्तिमा, चुरे उत्थानशील आयोजनाले सिन्धुली, सुनसरी र महोत्तरी जिल्लामा संरक्षण कक्षा सञ्चालन गरेको छ । प्रत्येक माध्यमिक विद्यालयमा कक्षा ८, ९ र १० का ३० जना विद्यार्थीलाई गरेर कूल २१ विद्यालयमा यसै वर्षको जेठ र असार महिनामा यो कक्षा सञ्चालन गरिएको हो । त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन सँस्थानसँग मिलेर चुरेको संरक्षणका बारेमा तयार गरिएको विशेष पाठ्यक्रम यी कक्षामा अध्यापन गराइएको छ ।
सिन्धुलीको जनजागृति माविमा विद्यालयकै सामाजिक शिक्षक र विज्ञान शिक्षकले यो पाठ्यक्रम पढाइरहेका छन् । कक्षामा सबैतिरको प्रतिनिधत्व होस् भनेर विभिन्न भौगोलिक क्षेत्रका बालबालिका राखिएको विद्यालयले बताएको छ । आफ्नै परिवेशका बारेमा पढ्न पाउने हुनाले विद्यार्थीहरूले जिज्ञासु र उत्सुक रहेको प्रशिक्षकहरू बताउँछन् ।
जनजागृति माविका विज्ञान शिक्षक हरिप्रसाद कोइराला भन्छन्, “यो पाठ्यक्रममा विद्यार्थीहरूले आफैँले देखेका कुराहरू, बोटबिरूवा, घर छेउछाउमा भएका वनविनाशका, बाढि पहिरो, लगायतका कुराका बारेमा पढिरहेका छन् । हिजो मात्र एकजना विद्यार्थी बहिनी खोलामा बाढी आएको कारण विद्यालय आउन सकिनन् । यस्ता आफैँले भोगिरहेको समस्याको बारेमा पढ्न र यसको समाधान के हुन्छ भनेर खोज्न विद्यार्थीहरूले रूची देखाएका छन् ।”
जनजागृति माविमा हरेक शुक्रबार विद्यालयको नियमित कक्षा बन्द भइसकेपछि छानिएका विद्यार्थीलाई दुई घण्टी थप कक्षा लिइने गरिएको छ । यी कक्षाहरूमा चुरेको भू–परिधी, वन, वन व्यवस्थापन प्रणाली, औषधीजन्य वनस्पति, वन्यजन्तु, जनावर र चराचुरूङ्गी, मानव वन्यजन्तु अन्तत्र्रिmया, जलाधार तथा जलश्रोत, चुरेको भू–परिधीको सामाजिक आर्थिक अवस्था, चुरे भू–परिधीमा भू–उपयोगमा परिवर्तन, भू–क्षय, क्षयीकरणका कारणहरू, जलवायु परिवर्तन र विपत्ती, समुदायमा पर्ने प्रभावहरू, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, दिगो वन व्यवस्थापन, वन संरक्षण, जलश्रोत संरक्षण, प्राङ्गारिक खेती, लगायतका विषयबाट दिगो प्राकृतिक स्रोत व्यवस्थापनमा जोड दिइएको छ ।
चुरेको भू–उपयोगमा परिवर्तन भएको कारणले गर्दा चुरेको क्षयीकरण बढेकोमा पाठ्यक्रमले जोड दिएको छ । विद्यार्थीहरूले यी सिकाइहरू आत्मसात गरिरहेका छन् । “चुरे क्षेत्रमा पहिले वन धेरै थियो, अहिले वनलाई मासेर मानिसहरू बसोवास गर्छन्, जसले वनलाई नकारात्मक प्रभाव पारेको छ । कुन भू–भागलाई कसरी संरक्षण गर्ने भन्ने कुरा हामीले सिक्यौं,” जनजागृति माविकी विद्यार्थी सङ्गीता हायु भन्छिन् ।
हाल विभिन्न विद्यालयहरूमा स्थानीय पाठ्यक्रम अन्तर्गत स्थानीय मठ मन्दिर, वातावरण, आदिको बारेमा जानकारी दिने पाठ्यक्रम भएता पनि विशेष गरी चुरे क्षेत्रको भौगोलिक र सामाजिक अवस्था र संरक्षणमा केन्द्रित पाठ्यक्रम भने छैनन् । यो अवस्थामा चुरे क्षेत्रको बारेमा यसरी विस्तृत रूपमा जान्न पाउँदा खुशी लागेको विद्यार्थीहरू बताउँछन् । “आफू बस्ने ठाउँको बारेमा जानकारी पाउँदा खुशी लागेको छ । अब कसैले हामीलाई चुरेको बारेमा सोध्यो भने हामी सब कुरा भन्न सक्छौं, र कोही बच्चालाई थाहा भएन भने पनि हामी सिकाउन सक्छौं,” जनजागृति माविकी विद्यार्थी जस्टिना राई भन्छिन् ।
चुरेको वर्तमान अवस्थाको सन्दर्भमा यो पाठ्यक्रम सान्दर्भिक रहेको प्रशिक्षकले बताएका छन् । “विगत १०, १२ वर्षमा चुरेको अवस्था धेरै फरक भएको छ, कतिपय ठाउँमा विद्युत प्रसारण लाइन लगायतका विकास पुर्वाधारका कामले रूख काटेर उदाङ्गो बनाएको छ, त्यो देखेर विरक्ति लाग्छ,” जनजागृति माविका सामाजिक शिक्षक शम्भु कोइराला भन्छन् । “यो पाठ्यक्रमले वन किन विनाश हुन्छ, वनको कसरी संरक्षण गर्ने, वन्यजन्तुको संरक्षण कसरी गर्ने भनेर सिकाएको छ, जुन एकदम सान्दर्भिक छ ।”
चुरे क्षेत्र संरक्षणका बारेमा जनचेतना जगाउने चुरे उत्थानशील आयोजनाको उद्देश्य अनुरूप यो कक्षा सञ्चालन गरिएको हो । “आफ्नो गाउँठाउँमा रहेका प्राकृतिक श्रोतलाई दिगो रूपमा कसरी व्यवस्थापन गर्ने भन्ने यो पाठ्यक्रमको निचोड हो । यसलाई आत्मसात गरेर विद्यार्थीहरू आफ्नो परिवार र समुदायसँग संरक्षणमा लागुन् भन्ने हाम्रो आशा हो,” आयोजनाका बाग्मती प्रदेश संयोजक राम बालक यादव भन्छन् ।
यस पाठ्यक्रमबाट चुरे क्षेत्रको संरक्षण गर्न प्रेरित भएको विद्यार्थीले बताएका छन् । “हाल चुरे क्षेत्रमा काठ दाउराको लागि रूख धेरै काटिँदै छन् । तर रूख भए हाम्रो जीवन छ, नत्र छैन । त्यसैले रूखको संरक्षण गर्नुपर्छ भन्ने सिकेँ,” लदाभिरस्थित नमुना माविका विद्यार्थी ओमप्रकाश चौधरी भन्छन् । “सकेसम्म यो विषयमा करियर बनाउनु पर्छ भन्ने मलाई लागेको छ ।’’
“विज्ञाप्तिमा भनिएको छ । यो पाठ्यक्रममा जीवन पद्धतिसँग गाँसिएका कुराहरू छन् । त्यसैले विद्यार्थीहरूको व्यवहारिक जीवनका लागि, कक्षामा पढ्न मात्र नभएर भविष्यमा पनि काम लाग्ने देखिएको छ, ।”

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain