जीवन सेजुवाल
मुगु, बैशाख ८, मुगुम कार्मारोङ गाउँपालिका–९, मा व्यवसायिक तरकारी खेती गर्दै आएका महिलाहरूलाई पुरस्कृत गरिएको छ ।
मुगुम कार्मारोङ गाउँपालिका–९, अन्तर्गत तीन वस्तीमा २०७८ देखि छा–याँ नेपाल’द्वारा महिला सशक्तिकरणका लागि जीविकोपार्जन कार्यक्रम सञ्चालन भएपछि मौसमी तथा वेमौसमी तरकारी खेती शुरु गरिएको थियो । उक्त कार्यक्रम अन्तर्गत व्यवसायिक तरकारी खेतीमा संलग्न महिलामध्ये उत्कृष्ट प्रदर्शन गर्ने चारजनालाई पुरस्कृत गरिएको हो ।
कार्मारोङ महिला कृषि सहकारी संस्थामा आवद्ध ८६ जना महिलाहरू हाल व्यवसायिक तरकारी खेतीमा सक्रिय रहेका छन् । ‘छा—याँ नेपालले तालिम, कृषि औजार, बिउबिजन तथा प्लास्टिक टनेल उपलब्ध गराएपछि उनीहरूले मौसमी तथा वेमौसमी तरकारी खेतीमार्फत राम्रो आम्दानी गर्न थालेका हुन् । उत्कृष्ट आम्दानी गर्ने चार जना महिलालाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको सस्थाका जीविकोपार्जन विज्ञ लोकेन्द्र रावलले जानकारी दिए ।
रावलका अनुसार प्रतियोगितामा कमला बढुवाल प्रथम, नन्दा देवी रोकाया द्वितीय, जिरकला रोकाया तृतीय र बाँचुमता बुढा सान्त्वना पुरस्कार हासिल गरेका थिए । उनीहरूलाई क्रमशः २० हजार, १५ हजार, १२ हजार र ८ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रथम पुरस्कार प्राप्त कमला बढुवालले व्यवसायिक तरकारी खेतीबाट मौसमी उत्पादनबाट वार्षिक करिब १ लाख रुपैयाँ र वेमौसमी तरकारीबाट यस वर्ष ६० हजार रुपैयाँ आम्दानी भएको बताइन् । घरखर्चदेखि बालबालिकाको पढाइसमेत यही व्यवसायबाट चलेको छ । उनले भनिन् पुरस्कारले थप हौसला मिलेको छ ।
छायल, चिमात र पापु गाउँका सहकारीमा आवद्ध महिलाहरूले उत्पादन गरेका तरकारीहरूको बजार छायल बजार, सहकारीको कोशेली घर, आवासीय विद्यालय ताखा, माग्री र मह गाउँमा रहेको छ । बजारको खास समस्या नभएकाले महिलाहरू व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएको सहभागीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्