काठमाडौं असोज ६, हालै गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी कृषि विज्ञ डा.मदन परियारलाई सुम्पिएको छ ।
शीतल निवासमा शपथ ग्रहण समारोहपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि सत्ता परिवर्तनसँगै परियारलाई मन्त्रीको हैसियतमा जिम्मेवारी दिइएको हो । अब उनले किसानको असन्तुष्टि, सीमित स्रोत, बजार अव्यवस्था र प्रशासनिक कमजोरीजस्ता चुनौतीहरूको सामना गर्दै कृषि क्षेत्रलाई संकटबाट उबार्ने कठिन कार्यभार पाएका छन् ।
कृषि क्षेत्रमा भुक्तानी ढिलाइ, उत्पादनको उचित मूल्य नपाउने समस्या, तरकारी सडकमा फाल्नुपर्ने अवस्था, अनियमितता र भ्रष्टाचारजस्ता मुद्दा तत्काल सम्बोधन गर्नुपर्ने दबाब छ ।
विशेषज्ञहरूका अनुसार नेपालको कृषि केवल मल वा सिँचाइको कमीमा सीमित छैन । जमिन स्वामित्व, बीउ र मलको गुणस्तर, जलस्रोतको दीगो उपयोग, प्रविधिको कमी, जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय व्यापार नीति र संस्थागत कमजोरीजस्ता बहुआयामिक समस्या यसमा गाँसिएका छन् ।
विगतमा कृषि सुधारका छलफलहरू सतही र तात्कालिक मुद्दामा मात्र सीमित हुने गरेका कारण दीर्घकालीन रणनीति बन्न नसकेको विज्ञहरूको तर्क छ । नयाँ मन्त्री परियारले यिनै संरचनात्मक समस्यालाई गहिराइमा बुझेर समाधान खोज्ने कि फेरि पुरानै शैलीमा सीमित रहने भन्ने जिज्ञासा सर्वत्र छ ।
पदभार ग्रहण गर्दै उनले दुग्ध र उखु किसानका समस्याहरू समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले फागुन २१ गते निर्वाचन गराउने सरकारको मुख्य कार्यभार भएको उल्लेख गर्दै सोहीअनुसार सबै पक्षको सहयोगमा अघि बढ्ने पनि बताए ।
उनले किसानको समस्या समाधान गर्ने कुरा आफ्नो प्राथमिकतामा भएको बताउनु भएको छ ।
मन्त्री घिसिङले भने, ‘सबैभन्दा पहिले फागुन २१ गते जुन निर्वाचन गर्ने भनिएको छ । त्यसलाई पूरा गर्नको लागि हामी सबै मिलेर लाग्नुपर्छ । त्यो नै सरकारको पहिलो प्राथमिकतामा छ । अर्को कुरा शासकीय सुधार र मुलुकमा विद्यमान बेथितिको अन्त्य गर्ने हाम्रो कार्यभार हो । मैले कृषि मन्त्रालयका सचिवज्यूहरूसँग पनि सल्लाह गरेर मन्त्रालयको कार्यभार कसरी पूरा गर्ने भन्ने कुरामा ध्यान जान्छ। किसानका समस्याहरू समाधान गर्ने कुरा मेरो प्राथमिकतामा हुन्छ ।’
मल आयातमा हुने अवरोधलाई अध्ययन गरेर समस्या समाधान गर्ने आफ्नो प्रयास रहने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्