काठमाडौं, बैशाख १७ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण पाण्डे दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धक पदमा नियुक्त भएका छन् ।
डा. पाण्डेले बागमती, मधेश र कोशी प्रदेशमा प्रदेश सचिवका रूपमा सफल नेतृत्व प्रदान गर्दै कृषि तथा पशुपन्छी विकासका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गरेका थिए । त्यसपछि संघीय कृषि मन्त्रालयमा सहसचिवको जिम्मेवारी सम्हाल्दै उनले नीतिगत सुधार, किसानमुखी कार्यक्रम तथा प्रविधिमा आधारित कृषि प्रणाली विकासमा महत्वपूर्ण योगदान दिएका छन् ।
नवनियुक्त महाप्रबन्धक पाण्डेले दुग्ध क्षेत्रका प्रमुख चुनौतीहरूलाई सम्वोधन गर्ने स्पष्ट प्रतिवद्धता व्यक्त गरेका छन्। उनले लामो समयदेखि बाँकी रहेको दुग्ध किसानको भुक्तानी छिट्टै गर्ने विषयलाई उच्च प्राथमिकतामा राख्ने बताएका छन् । “किसानको श्रमको उचित मूल्य समयमै सुनिश्चित गर्नु हाम्रो पहिलो दायित्व हो,” उनले भने ।
उनले डीडीसीलाई अझ प्रभावकारी, प्रतिस्पर्धी र किसानमैत्री संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित दुग्ध उत्पादन, संकलन, प्रशोधन र वितरण प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्ने योजना अघि सारेका छन् ।
डा. पाण्डेको नियुक्तिसँगै दुग्ध क्षेत्रका सरोकारवालाहरूले संस्थागत सुधार, बजार विस्तार र किसानको आय वृद्धि हुने अपेक्षा गरेका छन्। विशेषगरी भुक्तानी व्यवस्थापनमा सुधार आएमा किसानको मनोवल बढ्ने र उत्पादनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्