काठमाडौ, जेठ १०, कृषि वन तथा पर्यावरण मन्त्री माननीय गिता चौधरीसँग नेपालका लागि स्पेनका गैर–आवासीय राजदुत एच.ई.श्री जुआन एन्टोनियो मार्च पुजोलबीच शुक्रबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।
भेटका क्रममा कृषि आधुनिकीकरण, कृषि डिजिटलाइजेशन, गुणस्तरीय कृषि उत्पादन, जल व्यवस्थापन, जलवायु अनुकूल कृषि तथा द्विपक्षीय सहकार्य विस्तारका विविध विषयमा छलफल भएका थिए । भेटका क्रममा राजदुतले सन् २०२७ मा हुने संयुक्त राष्टूसंघीय खाद्य तथा कृषि संगठनका महानिर्देशक पदको निर्वाचनमा नेपाल सरकारको सकारात्मक समर्थन अपेक्षा गरिएको बताउनुभयो । सो सम्बन्धमा माननीय मन्त्रीले विषयलाई परराष्ट्र मन्त्रालयसँग समन्वय गरी अघि बढाइने जानकारी दिएका थिए ।
राजदुतले गुणस्तरीय कृषि उत्पादन, कृषि टे«सबिलिटी प्रणाली तथा कृषि क्षेत्रमा लगानी र प्रविधि आदानप्रदानका क्षेत्रमा स्पेन सहकार्य गर्न इच्छुक रहेको बताए । स्पेनको ज्वालामुखीय क्षेत्रमा विकसित वाइन उत्पादन, जैतुन तेलको ट्रेसबिलिटी प्रणाली, सुन्तला, सिटूस तथा अंगुर खेतीका अभ्यासका साथै जल अभाव भएका टापु क्षेत्रमा रातको समयमा पानी उठाउने प्रविधिबारे जानकारी गराएका थिए । स्पेनमा आयोजना हुने कृषि प्रदर्शनी तथा लगानी सम्मेलनहरूमा उत्पादक, लगानीकर्ता तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहने जानकारी दिँदै नेपाललाई पनि यस्ता अवसरमा सहभागी हुन आग्रह गरेका थिए । साथै महिलासम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाललाई परराष्ट्र मन्त्रालयमार्फत निमन्त्रणा गरिएको जानकारी दिएका थिए ।
माननीय मन्त्रीले नेपाल सरकारले कृषि डिजिटलाइजेशन, युवा सशक्तीकरण तथा कृषि नवप्रवर्तनलाई प्राथमिकतामा राखी काम गरिरहेको बताए । मन्त्री चौधरीले नेपालमा भौगोलिक संकेत दर्ता प्रक्रिया सुरु गरिएको र सुन्तला तथा किवीका लागि पाइलट कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिएका थिए ।
मन्त्रीले नेपालमा प्राकृतिक स्रोतको प्रचुर सम्भावना भए पनि प्रविधि तथा जलवायू सहनशील कृषि प्रणालीको आवश्यकता रहेको उल्लेख गर्दै परम्परागत कृषिलाई बजारसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका थिए । साथै वन संरक्षणका प्रयासका बाबजुद नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्दै स्पेनको अनुभव तथा विज्ञताबाट सिक्न नेपाल इच्छुक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्