काठमाडौं, असार १५, अखिल नेपाल किसान महासंघ अखिल नेपाल किसान महासंघका संयोजक चित्रबहादुर श्रेष्ठ, स–हसंयोजक रामकुमार ज्ञावलीले २३ औं राष्ट्रिय धान दिवसको अवसरमा प्रेस विज्ञाप्ति प्रकाशित गरि कृषि क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ ।
विज्ञाप्तिमा “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’’ भन्ने नाराका साथ देशभर २३औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ मनाइँदैछ । यस ऐतिहासिक अवसरमा अखिल नेपाल किसान महासंघको तर्फबाट हामी देशभरका सम्पूर्ण किसान, कृषि मजदुर, महिला किसान, युवा किसान, आदिवासी जनजाति समुदाय, कृषि प्राविधिक, वैज्ञानिक तथा कृषि क्षेत्रसँग सम्बन्धित सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौं भनिएको छ ।
विज्ञाप्तिमा हामी नेपालीहरूका लागि धान केवल एउटा बाली होइन । यो नेपालको सभ्यता, संस्कृति, अर्थतन्त्र, खाद्य सुरक्षा, खाद्य सार्वभौमिकता र राष्ट्रिय आत्मनिर्भरताको आधार हो । हजारौं वर्षदेखि नेपाली किसानले आफ्नो श्रम, सीप र अनुभवद्वारा धान उत्पादन गर्दै राष्ट्रको कृषि तथा कूल राष्ट्रिय गार्हस्थ उत्पादनमा महत्वपूर्ण योगदान दिएका छन् । त्यसैले राष्ट्रिय धान दिवस किसानको श्रम, पसिना र योगदानप्रति सम्मान प्रकट गर्ने दिन पनि हो ।
तर विडम्बना, कृषि प्रधान देश नेपालमा किसान अझै पनि मल, बीउ, सिँचाईं, कृषि औजार, सहुलियतपूर्ण ऋण, बजार र उत्पादनको उचित मूल्यको अभावमा संघर्ष गर्न बाध्य छन् । खेतीयोग्य जमीनको तीव्र खण्डीकरण र विनाश, अनियन्त्रित प्लटिङ, बढ्दो खाद्यान्न आयात, जलवायु परिवर्तनका असर, उत्पादन लागतमा भएको अत्यधिक वृद्धि तथा कृषि क्षेत्रमा राज्यको अपर्याप्त लगानीले नेपाली कृषि गम्भीर संकटतर्फ धकेलिएको छ । देशमा धान दिवस मनाइरहँदा किसानका यी आधारभूत समस्याहरू समाधान नहुनु गम्भीर चिन्ताको विषय हो ।
–किसानलाई समयमै गुणस्तरीय मल, उन्नत तथा स्थानीय बीउ, सिँचाइ सुविधा र आवश्यक कृषि सामग्री सहज रूपमा उपलब्ध गर्न, धानसहित सम्पूर्ण कृषि उपजको वैज्ञानिक उत्पादन लागतका आधारमा लाभ सुनिश्चित हुने न्यूनतम समर्थन मूल्य निर्धारण गरी प्रभावकारी सरकारी खरिद प्रणाली लागु गर्न, खेतीयोग्य जमिनको संरक्षण गर्दै कृषि भूमिको अनियन्त्रित खण्डीकरण तथा गैरकृषि प्रयोजनमा हुने प्रयोग रोक्न, स्वदेशी बीउ, स्थानीय धानका जातहरूको संरक्षण, जैविक विविधता, जलवायुमैत्री कृषि तथा कृषिमा आत्मनिर्भरताका कार्यक्रमलाई प्राथमिकता दिन, कृषि बीमा, सामाजिक सुरक्षा, सहुलियतपूर्ण कृषि ऋण तथा बजार व्यवस्थालाई प्रभावकारी बनाउन, सिँचाइ, कृषि अनुसन्धान, यान्त्रीकरण, भण्डारण, प्रशोधन, कृषि प्रसार तथा पूर्वाधारमा सार्वजनिक लगानी उल्लेखनीय रूपमा वृद्धि गर्न, संविधानले प्रत्याभूत गरेको खाद्य अधिकार, किसानको अधिकार र खाद्य समप्रभुतालाई व्यवहारमा कार्यान्वयन गर्न माग गरेको छ ।
नेपालको समृद्धि किसानको समृद्धिसँग जोडिएको छ । किसान कमजोर हुँदा राष्ट्रको खाद्य सुरक्षा कमजोर हुन्छ । त्यसैले कृषि र किसानलाई राष्ट्रिय विकासको केन्द्रमा राखी उत्पादनमुखी, आत्मनिर्भर र न्यायपूर्ण कृषि प्रणाली निर्माण गर्नु आजको आवश्यकता हो विज्ञाप्तिमा भनिएको छ ।
यस राष्ट्रिय धान दिवसको अवसरमा अखिल नेपाल किसान महासंघको तर्फबाट हामी देशभरका सम्पूर्ण किसानहरूलाई उत्पादन वृद्धि, कृषि भूमिको संरक्षण, स्वदेशी बीउको संवद्र्धन, जलवायुमैत्री कृषि प्रविधिको प्रयोग तथा किसान अधिकारको संघर्षलाई अझ सशक्त बनाउन समेत अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्