काठमाडौं असार १५, लोकभाकाका यी हरफहरूलाई चरितार्थ गर्दै तारकेश्वर नगरपालिका वडा नम्बर ३ स्थित जितपुरफेदीका खेतका गराहरू यतिबेला बेहुलीझैँ सजिएका छन् ।
आकाशबाट झरेको झरी र खेतको हिलोलाई नै सौभाग्य सम्झँदै किसान मानो रोपेर मुरी उब्जाउने महान् अभियानमा होमिएका छन् ।
जितपुरफेदीमा देखिएको यो रोपाइँ सामान्य खेतीपाती मात्र थिएन, यो त एउटा भव्य साँस्कृतिक उत्सव जस्तो देखिन्थ्यो । परम्परागत रातो बुट्टे चोली र कालो गुन्यूमा सजिएका रोपाहरहरूको टोलीले जब खेतका गरामा धानका बिरुवा गाँज्न थाले, तब वातावरण नै सङ्गीतमय बन्यो ।
रोपाइँलाई थप उल्लासमय बनाउन पञ्चेबाजाको टोली नै खेतको डिलमा उपस्थित थियो । सनाई र दमाहाको तालमा रोपारहरूले धानका बेर्ना रोप्दै गर्दा बाटो हिँड्ने बटुवाहरू समेत लोभिएका देखिन्थे । हिलो छ्यापाछ्याप गर्दै, असारे गीत गाउँदै र पञ्चेबाजाको धुनमा खुट्टा टेक्दै रोपाइँ गर्नुले नेपाली मौलिक श्रम संस्कृतिको जीवन्त तस्बिर झल्काउँथ्यो ।
रोपाइँमा बाउसेहरूको सक्रियता पनि लोभलाग्दो थियो । कोही खेत सम्याउँदै थिए त कोही पानीको कुलो व्यवस्थापनमा व्यस्त थिए। हातमा धानका बेर्ना समातेर मुस्कुराइरहेका दिदीबहिनीहरूको मुहारमा देशको मेरुदण्ड मानिने कृषिको गर्व झल्किन्थ्यो। आधुनिकताको चपेटामा हराउँदै गएको असार १५ को रौनकतालाई जितपुरफेदीले यसरी नै जोगाइराखेको भान हुन्छ ।
अहिलेको जमाना मोबाइल र सेल्फीको पनि हो । रोपाइँको बीचमा टिकटक बनाउने, तस्विर खिच्ने र यो खुसीलाई विश्वभर फैलाउने प्रयासमा युवा पुस्ता पनि निकै सक्रिय देखिएका थिए । हातमा हिलो र ओठमा मुस्कान लिएर खिचिएका यी तस्विरहरूले कृषि पेसालाई घृणा होइन, सम्मान गर्न सिकाउँछन् ।
जितपुरफेदीको यो रोपाइँले फेरि एकपटक सम्झाएको छ(हाम्रो समृद्धि माटोमै छ । जबसम्म पञ्चेबाजाको तालमा यसरी नै खेतका गराहरू गुञ्जिरहन्छन्, तबसम्म हाम्रो मौलिकता बाँचिरहनेछ ।
खाद्यान्नमा आत्मनिर्भर हुने नीति ल्याउन राष्ट्रियसभा सदस्यहरूको सरकारलाई आग्रह
काठमाडौं असार १५, राष्ट्रियसभा सदस्यहरूले कृषिलाई राज्यको प्राथमिकतामा राख्दै खाद्यान्नमा आत्मनिर्भर हुने दीर्घकालीन नीति तथा कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेका छन् ।
राष्ट्रियसभाको आइतबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले कृषि उत्पादन वृद्धि, किसानको संरक्षण र खाद्य सुरक्षालाई केन्द्रमा राखेर प्रभावकारी नीति निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद दुर्गा गुरुङले गरिब, सीमान्तकृत तथा भूमिहीन नागरिकको हकहित सुनिश्चित हुने गरी कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिइन् ।
धान खेत जोगाऔँ, खाद्य सुरक्षा संकटबाट बचाऔं ः कृषि सचिव मिश्र
काठमाडौं, असार १५, कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्रले घट्दो धान खेतीयोग्य जमीन जोगाउन नसके भविष्यमा खाद्य सुरक्षामा गम्भीर चुनौती उत्पन्न हुन सक्ने बताएका छन् ।
ललितपुरको खुमलटारस्थित राष्टिूय बाली विज्ञान अनुसन्धान केन्द्रमा सोमबार आयोजित २३औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव(२०८३ लाई सम्बोधन गर्दै सचिव मिश्रले प्रविधिको विकास जतिसुकै भए पनि धान उत्पादनका लागि धानखेतको विकल्प नहुने बताएका छन् ।
मिश्रले, ‘घट्दै गएको धान खेत हाम्रो साझा चिन्ताको विषय हो । आजको दुई सय वर्षपछिको प्रविधिले पनि धान खेती गर्न धान खेत नै चाहिन्छ । धान खेत जोगाउनु सबैको साझा दायित्व हो ।’
मिश्रका अनुसार प्लटिङ, जलवायु परिवर्तन, बसाइँसराइ तथा अन्य विभिन्न कारणले धानखेतीयोग्य जमीन घट्दै गएको छ । साथै बढी नाफा दिने अन्य बालीतर्फ किसान आकर्षित हुँदा पनि धानखेतीको क्षेत्रफल खुम्चिँदै गएको छ ।
मिश्रले भने, ‘अहिले किसानहरू धानभन्दा मकै, उखुलगायत बढी आम्दानी हुने बालीतर्फ आकर्षित भइरहेका छन् । यसले भविष्यमा हाम्रो थाली नै खाली हुने हो कि भन्ने चिन्ता बढेको छ ।’
नेपालमा पाइने स्थानीय धानका जात संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले एउटै गाउँ र एउटै घरमा समेत पाँच(पाँच वटा स्थानीय धानका जात भेटिने गरेको अनुभव रहेको बताए ।
‘हामी धानका जातमा निकै समृद्ध छौं । यदि यी स्थानीय जात हराए भने बजारले ती जात फर्काएर दिन सक्दैन । यसको संरक्षण अत्यन्त आवश्यक छ ।’,
धान उत्पादन बढाउने ठूलो सम्भावना नेपालसँग रहेको उल्लेख गर्दै सचिव मिश्रले हाल प्रतिहेक्टर औसत उत्पादन करिब चार टनको हाराहारीमा रहेको बताए । अन्य मुलुकले प्रतिहेक्टर १० टनसम्म उत्पादन गरिरहेको उल्लेख गर्दै, नेपालले उत्पादनलाई आठ टनसम्म पु¥याउन सके देशमा धानको पर्याप्त उत्पादन हुने बताए ।
‘हामी एक बाली धानमा सीमित छौं । यदि चैते धान विस्तार गर्दै दुई बाली धान प्रणालीमा जान सक्यौं र एकदेखि दुई लाख हेक्टर क्षेत्रमा चैते धान उत्पादन गर्न सक्यौं भने देशमा भातको अभाव हुँदैन,’ ।
नहुने बताए ।
यस्तै कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कायममुकायम कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले धान अनुसन्धानमा आधुनिक प्रविधि प्रयोग अझै पर्याप्त हुन नसकेको बताए ।
श्रेष्ठले, ‘हामी आधुनिक प्रविधिमा अपेक्षित रूपमा जम्प गर्न सकिरहेका छैनौं । विशेषगरी धान तथा विभिन्न हाइब्रिड अनुसन्धानका लागि जुटबाली अनुसन्धान केन्द्र रहेको स्थानमा अनुसन्धान केन्द्र स्थापना गर्ने योजना बनाएका छौं । त्यसका लागि आवश्यक लगानी उपलब्ध गराइदिन कृषि मन्त्रालयसँग अनुरोध गर्दछु ।’
राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आयोजित कार्यक्रममा वैज्ञानिक, कृषि विज्ञ, किसान तथा सरकारी अधिकारीहरूको सहभागिता रहेका थिए ।
रोल्पामा दुई दिने कृषि सीपमूलक तालिम सम्पन्न, कृषक र विद्यार्थी लाभान्वित
रोल्पा, असार १४, माडीचौर, प्राकृतिक स्रोत व्यवस्थापन कलेज, माडीचौर, रोल्पाको आयोजनामा तथा रोल्पा नगरपालिका(७ को सहयोगमा सञ्चालित दुई दिने क्षमता अभिवृद्धि तथा सीपमूलक कृषि तालिम बुधबार र शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ ।
“स्थानीय स्तरमा उत्पादित फलफूल तथा तरकारीहरूको पोष्ट(हार्भेस्ट व्यवस्थापन, प्रशोधन तथा मूल्य अभिवृद्धि” विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा स्थानीय सहकारी सदस्यहरू, महिला कृषक समूह, महिला उद्यमीहरू, कृषक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेका थिए ।
प्रशिक्षणका क्रमको पहिलो दिन स्थानीय उत्पादनको उचित व्यवस्थापन, प्रशोधन प्रविधि, मूल्य अभिवृद्धि तथा बजारमुखी उद्यम विकासका विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । सहभागीहरूले स्थानीय स्रोत र उत्पादनलाई व्यवसायिक रूपमा उपयोग गरी आम्दानी वृद्धि गर्ने विभिन्न उपायहरूबारे सिक्ने अवसर प्राप्त गरेका थिए ।
प्रशिक्षण कार्यक्रमको दोस्रो दिन “बागवानी बालीमा लाग्ने रोग तथा कीराको पहिचान, रोकथाम तथा व्यवस्थापन” विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण तालिम सञ्चालन गरेका थिए । कार्यक्रममा बालीमा देखिने प्रमुख रोग तथा कीराको पहिचान, एकीकृत व्यवस्थापन विधि, सुरक्षित विषादी प्रयोग तथा दिगो बागवानी प्रविधिबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।
दुई दिने तालिममा स्थानीय कृषक, महिला कृषक समूह, सहकारी सदस्य, महिला उद्यमी तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको कलेजले जनाएको छ । तालिमले कृषक तथा विद्यार्थीहरूको प्राविधिक ज्ञान, व्यावहारिक सीप र उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रमको समापनका अवसरमा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । यस्ता तालिमहरूले स्थानीय उत्पादनको गुणस्तर सुधार, मूल्य अभिवृद्धि, कृषि उद्यम विकास तथा आयआर्जन वृद्धि गर्दै आत्मनिर्भर र समृद्ध समुदाय निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको प्रिन्सिपल आरसीले बताउनुभयो ।
“ज्ञानबाट सीप, सीपबाट उद्यम, उद्यमबाट समृद्धि’’ भन्ने मूल सन्देशलाई आत्मसात गर्दै सम्पन्न उक्त कार्यक्रमले स्थानीय कृषिको दिगो विकास र उद्यमशीलतालाई थप प्रवद्र्धन गर्ने विश्वास गरिएको छ ।
स्रोतः रातोपाती

प्रतिक्रिया दिनुहोस्