धनबहादुर मगर
काठमाडौं कार्तिक २७, नेपालको कृषि क्षेत्रलाई यान्त्रिकीकरण, आधुनिकीकरण तथा व्यावसायीकरण गर्ने उद्देश्यले ‘‘आठौं अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी २०८३’’ आयोजना हुने भएको छ । यही मंसिर ४ गतेदेखि ६ गतेसम्म राजधानी काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुने प्रदर्शनीमा २० वटा देशका ७० वटा भन्दा बढी प्रदर्शक सहभागी हुने भएका छन् । ‘‘कृषिमा यन्त्र र प्रविधि ः कृषक र राष्ट्रको समृद्धि’’ भन्ने मूल नारासहित आयोजना हुने ३ दिने प्रदर्शनीमा १ सय ५० भन्दा बढी स्टल रहने छन् । उक्त प्रदर्शनीमा २० वटा देशका २ हजारभन्दा बढी प्रकारका कृषि औजार, उपकरण, मेसिन तथा प्रविधि प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा प्रवेश निःशुल्क रहने छ । नेपालमा कृषि यान्त्रिकीकरण तथा आधुनिक कृषि प्रविधिको प्रयोग विस्तार गर्ने, किसानहरुलाई नयाँ प्रविधिबारे जानकारी गराउने र स्वदेशी कृषि उपकरण उत्पादक तथा व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको टेकुस्थित नेपाल उद्योग महासंघको सभाहलमा पत्रकार गरी जानकारी दिएको छ ।
उक्त प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्प खेती, व्यावसायिक तरकारी खेती, सिँचाइ, पोस्ट हार्भेस्ट, प्रशोधन तथा बजारीकरणसँग सम्बन्धित आधुनिक मेसिन, उपकरण र प्रविधि प्रदर्शन गरिने छ ।
साथै, बीउबिजन, कृषि तथा पशुपन्छीसम्बन्धी सेवा प्रदान गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिष्ठित उत्पादक र बिक्रेताको सहभागिता रहने छ । किसानहरुले एउटै स्थानमा विभिन्न प्रविधि तथा उपकरणको जानकारी लिन, तुलना गर्न र आवश्यक सामग्रीबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन् । स्वदेशी कृषि यन्त्र, उपकरण तथा प्रविधि उत्पादकलाई प्रोत्साहन गर्ने उद्देश्यले करिब ३० वटा स्टल स्वदेशी उत्पादक कम्पनी तथा संस्थालाई निःशुल्क उपलब्ध गराइएको आयोजकले जनाएको छ । यस्तै, ‘‘मेक इन नेपाल’’ तथा ‘‘मेड इन नेपाल’’ कम्पनीलाई स्टलमा ६० प्रतिशत छुट, नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) का सदस्यहरुलाई ५० प्रतिशत र अन्य नेपाली कम्पनीलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
प्रदर्शनीको आयोजकमा नेपाल सरकार, संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभाग मातहतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रिकीकरण प्रवद्र्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) रहेका छन् । बागमती प्रदेश सरकारअन्तर्गत कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, हेटौंडा र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) सह–आयोजकका रूपमा रहेका छन् ।
नेपालको कृषि तथा पशुपन्छीपालन क्षेत्रलाई यान्त्रिकीकरण, औद्योगिकीकरण, आधुनिकीकरण तथा व्यावसायिकीकरणतर्फ अगाडि बढाउने लक्ष्यसहित प्रदर्शनी आयोजना गरिएको हो । कृषि उत्पादन लागत घटाउने, श्रम अभावको समस्या कम गर्ने, उत्पादन र उत्पादकत्व वृद्धि गर्ने तथा किसानलाई आधुनिक प्रविधिमा पहुँच पुर्याउने विषयलाई प्रदर्शनीले प्राथमिकता दिएको छ ।
प्रदर्शनीमार्फत उपभोक्ता तथा नीति÷निर्मातालाई कृषि यान्त्रिकीकरणसम्बन्धी नवीनतम प्रविधिबारे जानकारी गराउने, कृषि यन्त्र तथा उपकरणको प्रचारप्रसार बढाउने र कृषि यान्त्रिकीकरण प्रवद्र्धनमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ ।
प्रदर्शनीले नेपाली किसानहरु, कृषि उद्यमीहरु, कृषि उपकरण व्यवसायीहरु, अनुसन्धानकर्ताहरु तथा नीति÷निर्मातालाई एउटै मञ्चमा जोड्दै नेपालको कृषि क्षेत्रलाई आधुनिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्