२०८३ श्रावण २

किसान सशक्तीकरण र दिगो विकासका लागि नेपाल–केन्या कृषि सहकार्यमा ऐतिहासिक पहल

काठमाडौं, जेठ ३०, नैरोबी, केन्या। नेपाल र केन्याका किसान संगठनबीच अन्तर्राष्ट्रिय सहकार्यको नयाँ अध्याय सुरु भएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड (संघ) र केन्या नेशनल फार्मर्स फेडेरेशन (केना) बीच किसान संगठनको क्षमता अभिवृद्धि, कृषि सहकारीको सुदृढीकरण तथा दिगो कृषि विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित रणनीतिक समझदारीपत्र एमओयूमा हस्ताक्षर भएका हुन् ।
यस सम्झौताले दुई देशका किसान समुदायबीच ज्ञान, अनुभव र प्रविधिको आदान–प्रदानलाई विस्तार गर्दै कृषि क्षेत्रमा दीर्घकालीन साझेदारीको आधार तयार गरेको छ । विशेषगरी किसान–किसान सिकाइ, प्राविधिक सहयोग, कृषि उद्यमशीलता, नवप्रवर्तन र अनुसन्धानका क्षेत्रमा संयुक्त कार्यक्रम सञ्चालन गरिनेछ ।
समझदारी पत्र अनुसार दुबै संस्थाले कृषि मूल्य शृँखला विकास, बजार पहुँच विस्तार, जलवायू परिवर्तनका चुनौंतीसँग सामना गर्न जलवायुमैत्री खेती प्रणालीको प्रवद्र्धन तथा सहकारी संस्थाको संस्थागत क्षमता वृद्धि गर्न सहकार्य गर्नेछन् ।
यो साझेदारीले कृषि क्षेत्रमा युवा र महिलाको नेतृत्व तथा सहभागिता अभिवृद्धि गर्न विशेष जोड दिएको छ । युवालाई कृषि उद्यमशीलतामा आकर्षित गर्ने र महिलालाई निर्णय प्रक्रियामा थप सशक्त बनाउने साझा लक्ष्य दुवै संस्थाले लिएका छन् ।
समझदारीपत्रलाई दुबै संस्थाका नेतृत्वले दक्षिण–दक्षिण सहकार्यको उत्कृष्ट उदाहरणका रूपमा व्याख्या गर्दै यसले नेपाल र केन्याका किसानबीच मित्रता, अनुभव आदान–प्रदान र कृषि क्षेत्रको दिगो विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

यो सहकार्यले विश्वव्यापी कृषि चुनौतीबीच विकासशील राष्ट्रका किसान संगठनहरूबीच एकता र साझेदारीलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain