२०८३ असार २४

साना किसान विकास लघुवित्तको २५औं वार्षिकोत्सव सम्पन्न

धनबहादुर मगर
काठमाडौ, असार २२, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २५औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक गुणाकर भट्ट ले ग्रामीण अर्थतन्त्रको सुदृढीकरणमा साना किसानको भूमिका महत्वपूण रहेको बताए ।
प्रमुख अतिथि गुणाकर भट्टले नेपालको कृषि तथा ग्रामीण अर्थतन्त्रको दिगो विकासका लागि साना किसानमा आधारित वित्तीय प्रणालीलाई थप सवल बनाउनुपर्ने आवश्यकता रहेको बताए । उत्पादनमूलक क्षेत्रमा लगानी बढाउँदै आधुनिक कृषि, उद्यमशीलता र वित्तीय साक्षरतामार्फत ग्रामीण अर्थतन्त्रलाई गतिशील बनाउन साना किसान लघुवित्तको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।
साना किसान लघुवित्तका अध्यक्ष पाठकले साना किसानको आर्थिक, सामाजिक तथा उद्यमशील विकासलाई केन्द्रमा राखेर संस्थाले विगत २५ वर्षदेखि निरन्तर काम गर्दै आएको बताए । गामीण क्षेत्रमा कृषि उत्पादन, रोजगारी सिर्जना र वित्तीय पहुँच विस्तारका लागि संस्थाले खेलेको भूमिका आगामी दिनमा अझ प्रभावकारी बनाइने उहाँको भनाइ थियो ।
संस्थाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०५८ सालमा स्थापना भएको साना किसान विकास लघुवित्त हाल नेपालका ७७ जिल्लाका ५७४ भन्दा बढी स्थानीय तहमा सेवा विस्तार गरिसकेको छ । संस्थासँग १ हजार ९ सय ६५ साझेदार सहकारी संस्था आवद्ध रहेका छन् भने करिब १० लाख परिवार लघुवित्त सेवाबाट लाभान्वित भएका छन् । सदस्यहरूमध्ये महिलाको सहभागिता ५७ प्रतिशत, दलित ११ प्रतिशत र जनजाति १९ प्रतिशत रहेको जनाइएको छ ।
संस्थाले विगत १५ वर्षदेखि पशुपालन तथा ६ वर्षदेखि तरकारी खेतीका लागि नेपाल सरकारको सहयोगमा सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । आर्थिक वर्ष २०८१÷८२ सम्म पशुपालनतर्फ १ लाख ६७ हजार किसानलाई रु. २० अर्ब ६० करोड ६० लाख तथा तरकारी खेतीतर्फ ३ लाख ३४ हजारभन्दा बढी किसानलाई रु. ४६ अर्ब १० करोड ४५ लाख कर्जा प्रवाह गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कर्जा लगानीबाट लाखौँ किसानले पशुपालन र तरकारी खेती विस्तार गरी उत्पादन तथा आम्दानी वृद्धि गरेको संस्थाको दाबी छ। साथै, पशुधन संरक्षण, वित्तीय साक्षरता, क्षमता अभिवृद्धि, सहकारी अनुगमन र युवा उद्यमशीलता विकासका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जानकारी दिइएको छ।

संस्थाले आगामी दिनमा पनि साना किसानको उत्पादन, आयआर्जन, वित्तीय पहुँच र ग्रामीण अर्थतन्त्रको दिगो विकासलाई प्राथमिकतामा राखी आफ्नो सेवा र कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain