२०८३ भाद्र २४

राष्ट्रिय कृषि नीति २०८३ जारी

काठमाडौं, साउन १७, कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति–२०८३ सार्वजनिक गरेको छ ।
संघीय शासन प्रणालीअनुसार तयार गरिएको यस नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आय वृद्धि, कृषि उत्पादन विस्तार, आयात प्रतिस्थापन तथा कृषि निर्यात प्रवद्र्धनलाई प्रमुख प्राथमिकताका रूपमा अघि सारेको मन्त्रालयले जनाएको छ ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीका अनुसार कृषि क्षेत्रमा देखिएका विद्यमान चुनौतीलाई सम्बोधन गर्दै उत्पादनमुखी, दिगो र प्रविधिमैत्री कृषि प्रणाली विकास गर्ने उद्देश्यले नयाँ नीति ल्याइएको हो ।
नीतिमा भूमि खण्डीकरण, बढ्दो बाँझो जमिन, सिँचाइ तथा भण्डारण पूर्वाधारको अभाव, युवा जनशक्तिको पलायन, जलवायु परिवर्तनको प्रभाव, न्यून उत्पादकत्व र आयातमा बढ्दो निर्भरताजस्ता समस्याको समाधानका लागि स्पष्ट नीतिगत व्यवस्था गरिएको उल्लेख छ ।
यस्तै, आधारभूत खाद्यवस्तुमा आत्मनिर्भरता हासिल गर्ने, कृषि व्यवसायीकरण र औद्योगिकीकरणलाई प्रोत्साहन गर्ने तथा कृषि उत्पादनको ब्रान्डिङमार्फत अन्तर्राष्टिूय बजार विस्तार गर्ने लक्ष्य पनि नीतिले लिएको छ ।
नीतिमा जैविक विविधताको संरक्षण, वातावरणमैत्री कृषि प्रणालीको विकास, डिजिटल कृषि प्रविधिको प्रयोग, स्थानीय ज्ञानको उपयोग तथा नवप्रवर्तनलाई कृषि विकाससँग जोड्ने विषयलाई समेत समेटिएको छ ।
उत्पादन र उत्पादकत्व वृद्धि, समावेशी कृषि यान्त्रिकीकरण, भूमि संरक्षण तथा सदुपयोग, कृषि अनुसन्धान र प्रविधि विस्तार, न्यूनतम समर्थन मूल्य, कृषि बिमा, सहुलियतपूर्ण कृषि ऋण, खाद्य स्वच्छता तथा पोषण सुरक्षालाई पनि प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ ।
यसैगरी कृषि बजार तथा कृषि उद्योगको विकास, निजी क्षेत्र र सहकारीको लगानी प्रवद्र्धन, माटो स्वास्थ्य व्यवस्थापन, जलवायु अनुकूलन, कृषि तथ्याङ्क प्रणाली सुदृढीकरण तथा कृषिलाई सम्मानित र आकर्षक पेसाका रूपमा स्थापित गर्ने विषयलाई नीति कार्यान्वयनको महत्त्वपूर्ण आधार बनाइएको छ ।
मन्त्रालयका अनुसार नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय, आवश्यक कानुनी तथा संस्थागत व्यवस्था, पर्याप्त वित्तीय स्रोत परिचालन, निजी क्षेत्रको सक्रिय सहभागिता तथा नियमित अनुगमन र मूल्याङ्कनको व्यवस्था गरिएको छ ।
मन्त्रालयले राष्ट्रिय कृषि नीति–२०८३ को सफल कार्यान्वयनबाट खाद्य आत्मनिर्भरता, रोजगारी सिर्जना, आयात प्रतिस्थापन, कृषि निर्यात वृद्धि तथा समृद्ध राष्ट्रिय अर्थतन्त्र निर्माणमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain