२०८३ भाद्र १८

नयाँ नम्बरबाट आएको फोनसँगै नौखोरवासीलाई सय वर्षसम्म दुखाउने घाउ लाग्यो

काठमाडौं भाद्र १८, यही भाद्र १० गते भोटेकोशी बाढीमा वेपत्ता भएका पालुङटारवासीको अन्तिम संस्कार बुधबार दोभानमा चलिरहेको थियो । गाउँलेहरु कोही कुशबाट मान्छेको आकार निकाल्दै थिए, कोही कुशमाथि जौको पिठोले लेप लाउँदै थिए । कोही किनारमा चिता बनाउँदै गरेका, कोही बाँस काँटछाँट गरिरहेका थिए । पालुङटारस्थित चेपे र मस्र्याङ्दीको दोभानमा अन्तिम संस्कारमा जुटेका छन् । गाउँलेहरु कोही कुशबाट मान्छेको आकार निकाल्दै थिए, कोही कुशमाथि जौको पिठोले लेप लाउँदै थिए । कोही किनारमा चिता बनाउँदै गरेका, कोही बाँस काँटछाँट गरिरहेका थिए ।
शव फेला नपरेपछि कुशबाट शवको आकार बनाइएको थियो । कुशमाथि जौको पिठोले ढाकिएको, परबाट हेर्दा दुरुस्तै शव देखिन्थ्यो ।
स्थानीय पुरेतहरुले शव नपाएपछि कुशको शव बनाएर दाहसंस्कार गर्न सकिने उपाय सुझाए । उनीहरुकै सल्लाहमा पालुङटार नौखोरका स्थानीयले पालैपालो कुशको शव बनाउँदै अन्तिम संस्कार गर्दै गरेका छन् ।
बुधबार ६ जनाको अन्तिम संस्कार भएको छ । शुक्रबारसम्ममा सबै बेपत्ताको अन्तिम संस्कार सक्ने तयारीमा छन् गाउँले ।
नौखोरबाट गोसाइकुण्डका लागि गएको तीर्थयात्री बोकेको गाडी नुवाकोटको भैंसे पुगेपछि भोटेकोशीको बाढीमा हेलियो ।
बसमा सवार ३१ जना सोही बाढीको भंगालोमा गाडीसँगै बगे । ५ जना बसबाट मुस्किलले हामफालेर जोगिए । अहिले नौखोर गाउँ पूरै शोकमा छ ।
‘सबैका अनुहार झल्झली आँखामा छ । आडैमा बसेर कुरा गरिरहेका छन् कि जस्तो लाग्छ अझै पनि,’ अन्जनले भने, ‘गाडी बगायो, गाउँलेहरु बगे भन्ने त विश्वास नै लागिरहेको छैन ।’ भदौ १० गते बिहान चिया पिउँदै गर्दा अन्जनलाई नयाँ नम्बरबाट फोन आयो । उठाउन नपाउँदै उताबाट आवाज आयो, ‘बाबु, सबै गयो, गाडी बग्यो । हामी २–३ जना हामफालेर बाँच्यौँ ।’
भैंसेमा गाडीबाट हामफालेर जसोतसो भाग्न सफल भएका तुलाराम देवकोटाको फोन थियो त्यो । त्यही फोनबाट तुलारामले धेरैलाई खबर गर्न भ्याए । पछि एक कान, दुई कान हुँदै गाउँभरि खबर फैलियो । घटना भएको ९ दिन भइसक्यो, अहिलेसम्म कोही विश्वास नै मान्दैनन्, तर उनीहरुलाई एउटा बाध्यता छ– सबैको अन्तिम संस्कार गर्ने ।
गाउँलेहरु दिनहुँ चेपेको दोभानमा पुग्छन्, पालैपालो शवको दाहसंस्कार गर्छन् र साँझपख घर फर्किन्छन् । अन्जनको विचारमा नौखोरले सय वर्षसम्म पनि नपुरिने चोट पाएको छ ।
‘हामीले त सबै कुरा गुमायौँ । आफन्त, नातागोता सबै । यो त हामीलाई १ सय वर्षसम्म नबिर्सने खालको घाउ बनेको छ,’ उनले भने, ‘मेरो छोराले, मेरो छोरीले पनि थाहा पाएका छन् यो खबर । छोरी अहिले ७ वर्षकी भइन् । अनि उनले बाँचुञ्जेल बिर्सिन सक्छिन् त यो चोट ?’

अन्जनजस्तै अगुवाहरुले पीडितहरुलाई सम्हालिरहेका छन् । त्यसो त गाउँमा धेरै मान्छे छैनन् । एउटै गाउँमा धेरैको घरले आफ्ना सदस्य गुमाएको छ । तसर्थ, अरु बेलामा जस्तो दुःख पर्दा मान्छेहरु भेला हुने र समवेदना दिने अवस्था यहाँ छैन ।
तीर्थयात्रामा गएका ३० जनामध्ये २६ जना त एकै नौखोरका मात्र थिए । गाउँलेहरुका अनुसार २० घर परिवार यतिबेला पूर्ण रूपमा जुठो बारिरहेका छन् । दुर्घटनामा गाउँलेले आफ्ना आत्मीय साथीमात्र होइन, दुःख सुखमा मार्गनिर्देशन गर्ने अभिभावक पनि गुमाएका छन् ।
‘गाउँमा विवाह, भोजभतेर हुँदा ल नुन हाल, अब यति तेल हाल भनेर सिकाउने हाम्रा अभिभावक सकिए,’ अन्जनले भावुक हुँदै भने, ‘सँगैको लगौंटिया भएर हिँडेको साथी सागरलाई बाढीले निल्यो । त्यो पाटो त अब पूरै शून्य भएको छ ।’
अन्जनका अनुसार दुर्घटनामा बेपत्ता भएका गाडी चालक सागर देवकोटा गाउँका प्रिय र मेहनती युवा थिए । उनी स्थानीय ब्लु स्टार युथ क्लबका उपाध्यक्ष समेत थिए, जहाँ अन्जन महासचिव छन् । सागरको पनि शव नभेटिएपछि बुधबार कुशको शव बनाएर ५ वर्षकी छोरीले दागबत्ती दिइन् ।
‘हिजो मैले त्यो सानी नानीलाई सोधेँ– नानी कहाँ गएर आएको तिमी ? उसले भनी– मन्दिर । किन गएकी नि भन्दा उसले बाबा छिट्टै फर्कनुहुन्छ भनेर पूजा गरेर आएको भनी । यो सुनेपछि भित्रैबाट मैले आफैँलाई धान्नै सकिनँ । म टाउको निहुराएर निस्किएँ । अब हामी नै उनको पनि सहारा बन्नुपर्छ ।’
गाडीका सहचालकका अनुसार लेदोले गाडी आधा पुरिँदा समेत सागरले यात्रु बचाउन अन्तिम समयसम्म स्टेरिङ घुमाइरहेका थिए । श्वास पाउने आस नभए पनि सबैको शव पाए दाहसंस्कारमा सहज हुने अन्जन सुनाउँछन् । ‘शव पाइए पनि एउटा सन्तोष हुन्थ्यो । आफ्नो तरिकाले संस्कार गरेर चित्त बुझाउन पाइन्थ्यो,’ घाटको किनारमा उभिएर अन्जनले लामो स्वास फेर्दै भने, ‘प्रकृतिले त्यो पनि दिएन ।’
हालसम्म ५ जनाको शव भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain