२०८२ आश्विन २८

नर्सरी व्यवसायी संघले ल्यायो तेस्रो फ्लोरा एक्स्पो २०८२ भृकुटी मण्डपमा

काठमाडौं असोज २६, नर्सरी व्यवसायी संघ नेपालले आगामी तेस्रो तिहार फ्लोरा एक्स्पो–२०८२ आयोजना गर्ने घोषणा गरेको छ । “तिहारको उत्सव, फूलको महोत्सव” भन्ने मूल नारासहित आयोजना हुने उक्त एक्स्पोबारे जानकारी दिन संघले काठमाडौंमा पत्रकार सम्मेलन गरेको हो ।
संघका अनुसार गत वर्ष सम्पन्न दोस्रो तिहार फ्लोरा एक्स्पो–२०८१ भव्य र सफल भएको थियो, जसले नर्सरी व्यवसायीहरूलाई थप उत्साहित बनाएको छ । “कार्यक्रमको सफलता सञ्चारकर्मीहरूको सहकार्य र प्रचारप्रसारकै कारण सम्भव भयो,” संघले विज्ञप्तीमार्फत जनाएको छ ।
संघका उपाध्यक्ष तथा मेला संयोजक लक्ष्मी महर्जनले नर्सरी व्यवसायको विकास, विस्तार र प्रवद्र्धनमार्फत स्वच्छ वातावरण, रोजगारी र आय स्रोत वृद्धि गर्ने उद्देश्य रहेको बताए । उनका अनुसार संघ २०८० असोज १५ गते आधिकारिक रूपमा दर्ता भई क्रियाशील बनेको हो ।
संघले हालसम्म चार वटा फ्लोरा एक्स्पो, वृक्षारोपण, नर्सरी बाटिका निर्माण र रक्तदान जस्ता सामाजिक कार्यक्रम सम्पन्न गरिसकेको छ । नर्सरी व्यवसायलाई बोटबिरुवा उत्पादनमा मात्र सीमित नराखी यसलाई आयात–निर्यात, मौलिक जातको संरक्षण, जैविक विविधता र परम्परागत सीप पुस्तान्तरणसँग जोड्नुपर्ने संघको धारणा छ ।
महर्जनले देशमा बढ्दो राजनीतिक अस्थिरताले उद्यमीहरूको मनोबल घटाएको भन्दै स्थायित्व र लगानी–मैत्री वातावरण बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । उनले नेपाल सरकार र राजनीतिक दललाई जनशक्ति पलायन र लगानी असुरक्षाको समस्या गम्भीर रूपमा लिन आग्रह गरेका छन् ।
संघले सञ्चारकर्मीहरूलाई फ्लोरा एक्स्पोको जानकारी र नर्सरी उत्पादनका समाचारहरू आम जनतासम्म पु¥याउन सहयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain