जनकपुर माघ २०, मधुवनी, बिहार (भारत), विश्व खाद्य सुरक्षामा जलवायु–स्मार्ट खेतीको भूमिकामाथि केन्द्रित अन्तर्राष्ट्रिय सम्मेलन मधुवनीमा सन् २०२६ जनवरी ३१ देखि फेब्रुअरी २ सम्म सफलतापूर्वक सम्पन्न भएको छ ।
एस.के. चौधरी शैक्षिक फाउन्डेसनको आयोजनामा सम्पन्न उक्त सम्मेलनमा नेपालसहित २७ देशका कृषि, स्वास्थ्य र शैक्षिक क्षेत्रका विज्ञ, नीति निर्माता तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहेका थिए ।
सम्मेलनमा जलवायु परिवर्तनका चुनौती, दिगो खेती प्रणाली, किसानमैत्री प्रविधि, नवप्रवर्तन र विश्व खाद्य सुरक्षाका उपायहरूबारे गहन छलफल गरिएको आयोजकले जनाएको छ । तीन दिनसम्म चलेको सम्मेलनमा जलवायु परिवर्तनले कृषि उत्पादनमा पार्ने प्रभाव, जलवायु अनुकूल प्रविधिको प्रयोग, साना किसानको सशक्तीकरण र भविष्यका लागि सुरक्षित खाद्य प्रणाली विकासका विषयमा कार्यपत्र प्रस्तुति तथा अन्तरक्रिया कार्यक्रम समेत भएको थियो ।
सहभागीहरूले जलवायु–स्मार्ट खेतीलाई विश्वव्यापी खाद्य संकट समाधानको महत्वपूर्ण आधारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए । सम्मेलनले विकासशील मुलुकका लागि जलवायु परिवर्तन अनुकूल कृषि नीतिको आवश्यकता औंल्याउँदै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ बनाउने निष्कर्ष निकालेको छ । साथै, किसानको जीवनस्तर सुधार र दिगो खाद्य प्रणाली निर्माणका लागि अनुसन्धान, प्रविधि हस्तान्तरण र नीति समन्वय अपरिहार्य रहेको उल्लेख गरिएको छ ।
आयोजकका अनुसार सम्मेलनले जलवायु परिवर्तन र खाद्य सुरक्षासम्बन्धी साझा चुनौंतीलाई सम्वोधन गर्न अन्तर्राष्ट्रिय संवाद र सहकार्यलाई नयाँ दिशा दिएको छ । कार्यक्रममा नेपालबाट पूर्व कृषि सचिव डा.योगेन्द्र कुमार कार्कीको नेतृत्वमा टोली समेतको उपस्थिति रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्