२०८२ फाल्गुन ३०

सिंचाइ पोखरी निर्माणले सेरी गाउँमा कृषिप्रति नयाँ आशा

जीवन सेजुवाल
मुगु फागुन ३०, जाजरकोट जिल्लाको दुर्गम मानिने बारेकोट गाउँपालिका–२, सेरी गाउँमा सिँचाईं पोखरी निर्माण भएपछि स्थानीयवासीमा कृषि तथा जीविकोपार्जनप्रति नयाँ आशा जागेको छ ।
२०७९ कार्तिक १७ गते गएको भूकम्पका कारण जाजरकोटसहित आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको थियो । उक्त भूकम्पमा १ सय ५४ जनाको ज्यान गएको, ३ सय ३६ जना घाइते भएको र करिब २ लाख ५० हजार मानिस प्रभावित भएका थिए । भूकम्पका कारण कृषि, पशुपालन, खानेपानी तथा सिँचाइका संरचनामा ठूलो क्षति पुगेपछि स्थानीयहरूको आयआर्जन, खाद्य सुरक्षा तथा जीविकोपार्जनमा गम्भीर समस्या देखिएको थियो ।
यही समस्याका बीच सेरी गाउँमा सिँचाईं पोखरी निर्माण भएपछि ३५ घरधुरीका किसानलाई राहत पुगेको छ । जापान सरकारको आर्थिक सहयोगमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) र संयुक्त राष्ट्र मानव बसोवास कार्यक्रम (यूएन–ह्याबिट्याट) को सहकार्य तथा छायाँ नेपालको कार्यान्वयनमा उक्त पोखरी निर्माण गरिएको हो ।
करिब ६ लाख ७१ हजार ५ सय ९८ रुपैयाँ १७ पैसाको लागतमा निर्माण गरिएको उक्त सिँचाईं पोखरीले ९० हेक्टर जमिनमा सिँचाईं सुविधा पु¥याउने लक्ष्य राखिएको छ । यसले लामो समयदेखि पानीको अभावका कारण बाँझो हुँदै गएको खेतबारीमा पुनः खेती सम्भव हुने विश्वास स्थानीयहरूले व्यक्त गरेका छन् ।
पहिले खानेपानीको समेत अभाव भोग्दै आएका सेरीवासीले करिब १ हजार २ सय मिटर टाढाबाट पाइपलाइनमार्फत ल्याइएको पानीलाई पोखरीमा संकलन गरी खेतीयोग्य जमीनमा सिँचाईं गर्न थालेका छन् । पोखरी निर्माण भएपछि किवी, कागती, सुन्तला, जौ, गहुँ, कोदो लगायतका बालीमा सिँचाईं पुग्ने भएको छ । यसबाट उत्पादन वृद्धि भई आम्दानी बढ्ने स्थानीयले अपेक्षा गरेका छन ।
निर्माण समितिका अध्यक्ष नवीन घर्तीका अनुसार पोखरीबाट निस्कने पानी व्यक्तिगत सरसफाई र पशुचौपायका लागि समेत प्रयोग भइरहेको छ । यो पोखरी सिँचाइका लागि मात्र नभई बहुउपयोगी बनेको उनले भने ।
सोही गाउँकी स्थानीय हस्तमाया घर्तीका अनुसार गाउँमा खेतीयोग्य जमीन भए पनि सिँचाइको सुविधा नहुँदा किसानहरू आकाशे पानीको भरमा खेती गर्न बाध्य थिए । समयमै पानी नपर्दा खेतमा लगाएको अन्नबाली सुक्थ्यो र जमीन बाँझो बस्ने अवस्था थियो । उनले भनिन् अब सिँचाईं पुगेपछि खेतबारी हरियाली हुने र खेतीबाट आम्दानी पनि बढ्ने आशा जागेको छ ।”
उनका अनुसार पोखरीको पानीले खेतीपातीसँगै सरसफाई र पशुचौपायका लागि समेत प्रयोग गर्न पाइने भएकाले विशेष गरी महिलाहरूलाई ठूलो राहत पुगेको छ ।
समुदायको आधारभूत पूर्वाधार विकास, जीविकोपार्जन सूधार तथा भविष्यका विपत्तिबाट सुरक्षित समुदाय निर्माण गर्ने उद्देश्यले भूकम्प प्रभावित क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ । २०७९ कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित कर्णाली प्रदेशका रुकुम, जाजरकोट र सल्यान जिल्लामा यस्ता कार्यक्रम कार्यान्वयन भइरहेको छ ।
छायाँ नेपालका कर्णाली प्रदेश प्रबन्धक मिन बहादुर रावलका अनुसार सामुदायिक पूर्वाधारनिर्माण हाटबजारसूधार तथा बजारमा आधारित जीविकोपार्जनका गतिविधिलाई व्यवस्थापकीय सहयोग प्रदान गर्दै कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain