काठमाडौं, बैशाख १६, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक ले कृषि क्षेत्रमा कर्जा प्रवाहलाई प्राथमिकतामा राख्दै उल्लेखनीय लगानी विस्तार गरेको जनाएको छ। बैंकका अनुसार २०८२ साल चैत मसान्तसम्म कृषि क्षेत्रमा मात्रै ३९ अर्ब ५३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरिएको छ ।
बैंकले आधार दरमा न्यूनतम प्रिमियम राख्दै सहुलियतपूर्ण ब्याजदरमा कृषि कर्जा उपलब्ध गराउँदै आएको छ। कृषक तथा कृषि उद्यमीलाई आकर्षित गर्न कर्जामा प्रशोधन शुल्कमा समेत छुट प्रदान गरिँदै आएको छ ।
कुखुरापालन, बाख्रापालन, गाईपालन, भैंसीपालन तथा माछापालनजस्ता परियोजनामा लगानी गर्दै आएको बैंकले पछिल्लो समय प्रदेशगत कृषि उत्पादन प्रवद्र्धन गर्न ४.७५ प्रतिशत ब्याजदरमा पाँच करोड रुपैयाँसम्मको ‘प्रदेश विशेष कृषि कर्जा’ योजना सञ्चालन गरेको छ।
त्यसैगरी साना किसानलाई लक्षित गर्दै बिना प्रशोधन शुल्क ४.७५ प्रतिशत ब्याजदरमा १० लाख रुपैयाँसम्म ‘साना किसान सरल कर्जा’ उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ। किसानका लागि ‘किसान क्रेडिट कार्ड’ सुविधा समेत सञ्चालनमा रहेको छ ।
कृषि कर्जा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन बैंकले छुट्टै कृषि कर्जा नीति र कार्यविधि लागू गरेको छ। साथै केन्द्रीय कार्यालयमा कृषि तथा सामाजिक बैंकिङ विभाग स्थापना गरी दक्ष कृषि विज्ञलाई परिचालन गरिएको छ ।
हाल बैंकका ७७ वटै जिल्लामा फैलिएका ३१४ शाखामार्फत कृषि कर्जा उपलब्ध गराउँदै ग्रामीण कृषकको पहुँच विस्तार गरिएको छ। बैंकले वित्तीय साक्षरता कार्यक्रममार्फत कृषकलाई कर्जा सम्बन्धी जानकारीसमेत प्रदान गर्दै आएको छ ।
बैंकका अनुसार कृषि कर्जा मार्फत पूँजी परिचालनले कृषिको यान्त्रिकीकरण, व्यवसायीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्रको विकासमा सकारात्मक योगदान पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्