काठमाडौं, बैशाख २८, कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरी ले दुग्धजन्य पदार्थको गुणस्तर र सरसफाइमा कुनै पनि हालतमा सम्झौता नहुने बताएकी छन् ।
शुक्रबार काठमाडौंको बालाजु र लैनचौरस्थित दुग्ध उत्पादन तथा प्रशोधन केन्द्रहरूको स्थलगत अनुगमन गर्दै मन्त्री चौधरीले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खाद्य वस्तु भएकाले दुग्धजन्य पदार्थ उत्पादनमा उच्च मापदण्ड कायम गर्नुपर्नेमा जोड दिइन् ।
अनुगमनका क्रममा मन्त्री चौधरीले दूध संकलन, प्रशोधन, प्याकेजिङ, भण्डारण तथा वितरण प्रक्रियाबारे जानकारी लिएकी थिइन् । उनले उत्पादन केन्द्रहरूमा प्रयोग भइरहेका उपकरण, सरसफाइको अवस्था, चिस्यान व्यवस्थापन, गुणस्तर परीक्षण प्रणाली तथा कर्मचारीहरूको कार्यशैलीबारे समेत निरीक्षण गरेकी थिइन् । उनले बजारमा बिक्री हुने दूध तथा दुग्धजन्य पदार्थ गुणस्तरीय, सुरक्षित र स्वच्छ हुनुपर्ने उल्लेख गर्दै उपभोक्ताको विश्वास जोगाउन उत्पादन प्रक्रियामा कुनै कमजोरी हुन नहुने बताइन् । “दुग्ध क्षेत्र किसानको आयआर्जनसँग मात्र नभई आम नागरिकको स्वास्थ्यसँग पनि प्रत्यक्ष सम्बन्धित छ,” मन्त्री चौधरीले भनिन्, “त्यसैले गुणस्तर र सरसफाइमा कुनै सम्झौता हुँदैन ।”
मन्त्री चौधरीले उत्पादन केन्द्रहरूलाई आधुनिक प्रविधि प्रयोग गरी सेवा तथा उत्पादन प्रणालीलाई थप प्रभावकारी बनाउन निर्देशन दिइन् । उनले दूध उत्पादनदेखि प्रशोधन र बजार व्यवस्थापनसम्मको सम्पूर्ण श्रृंखलालाई व्यवस्थित बनाउन सरकार प्रतिवद्ध रहेको बताइन् ।
अनुगमनका क्रममा मन्त्रालयका उच्च अधिकारी, दुग्ध विकाससँग सम्बन्धित प्राविधिक कर्मचारी तथा सम्बन्धित संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।
सरकारले पछिल्लो समय दुग्ध क्षेत्रमा देखिएका समस्या समाधान, किसानको उत्पादनको उचित मूल्य सुनिश्चित तथा स्वदेशी दुग्धजन्य वस्तुको प्रतिस्पर्धात्मक क्षमता बढाउने उद्देश्यले विभिन्न सुधारका कार्यक्रम अघि बढाइरहेको जनाएको छ ।
मन्त्री चौधरीले दुग्ध उद्योगहरूलाई उपभोक्तामैत्री, पारदर्शी र विश्वसनीय बनाउन आवश्यक मापदण्ड कडाइका साथ लागू गरिने पनि स्पष्ट पारिन् ।

प्रतिक्रिया दिनुहोस्