धनबहादुर मगर
ललितपुर, असार १५, यस वर्ष सरकारको निर्णय अनुसार ‘‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’’ भन्ने मूल नाराका साथ २३औं राष्ट्रिय धान दिवस देशैभर मनाईरहेको अवस्थामा राजधानीकै नेवार समुदायको ऐतिहासिक भूमि ललितपुर, बुङ्मती, खोकना खुदोलस्थित स्थानीयवासीहरुले आफ्नो भूमिमा खेती किसानी कृषि कर्म गर्न नपाएकोमा दुखित छन् ।
आँखाले नभेट्ने सम्म परेको फाँटैफाँट भएको मिलेको जमीनमा विगतका २ दशक देखि उनीहरुले धान रोप्न पाएका छैनन् । अन्न उत्पादन गरिने त्यो समथर तराईकै झल्को दिने भूमिमा सिरु उम्रेर बाँझो भई दशकौंदेखि त्यो जमीन अनुत्पादक बनिरहेको छ ।
संयौं विगाह जमीन बाँझो रहेको देख्दा कसलाई मन दुख्दैन होला । त्यसमा पनि राजधानीको कृषि भूमिमा धान रोप्न नपाएकोमा चिन्तित छन् खोकनावासीहरुमा ।
भूमि हाम्रो प्राण हो, गुठीको भूमि संरक्षण गरौं, हाम्रो आन्दोलन जारी छ, भन्ने नारा र प्लेकार्ड बोकेर नारा र जुलुस सहित बाँझो चउर पल्टेको भूमिमा खन्न पुगेको स्थानीय खोकनावासीहरु आफ्नो भूमिको लागि संघर्षरत छन् ।
जनसरोकार समिति खोकनाको आयोजनामा २३औं राष्ट्रिय धान दिवसको अवसर पारी ‘‘ऐतिहासिक नगरी खोकना बुङ्मतीको अस्तित्व जोगाऔं’’ भन्ने नाराका सेनाको व्यारेक रहेको स्थान खुदोलमा स्थानीय वासीहरुले आफ्नो जमीन हडपेको स्थानमा आएर विरोधमा कार्यक्रम गरि धान दिवस मनाएका छन् ।

२०७२ सालको भूकम्प पछि प्रचण्डको सरकारको पालामा उक्त ऐतिहासिक क्षेत्र खोकनालाई फाष्ट ट्रयाक बनाउने भनेर निर्णय गरेको खोकनावासीहरु गुनासो गर्छन् ।
काठमाडौं तराई द्रुत मार्ग सडक आयोजना सञ्चालनमा ल्याउनका लागि उक्त जमीनको अधिग्रहण गरेका थियो । अधिग्रहण गरेको जमीनमाथि स्थानीय निकाय र खोकनावासीहरुसँग कुनै छलफल नै नगरी आफ्नो ऐतिहासिक भूमि मास्न गरेको सरकारको कार्यप्रति खोकनावासीको आक्रोशित छन् । त्यही बनाउनुपर्ने वाध्यता के थियो ? महर्जन, डंगोल, लगायत प्राय किसान समुदाय बसोवास गर्ने उक्त भूमिमा आफ्नो भूमि मासिदियो भनेर त्यहाँका जनताले विगत देखिनै विरोध गर्दै आएका छन् ।
स्थानीय वासीका अनुसार हजारौं वर्षदेखि आफ्नो पिता पुर्खाले कमाउँदै आएको जमीनमा त्यहाँ बसीरहेका आदिवासीहरुमाथि अन्याय गरेको बताएका छन् । र अहिले पनि उनीहरु हाम्रो भूमि, हाम्रो पहिचान, हाम्रो प्रतिज्ञा, हाम्रो अभियान भनेर आन्दोलनरत छन् ।
ललितपुर महानगरपालिकाले समेत खोकना र बुङ्मती क्षेत्रलाई पुरातात्विक महत्वको स्थान मान्दै आएको छ । त्यसले त्यस ठाउँलाई छोडेर अर्को ठाउँमा सार्न समेत सुझाव र विकल्प समेत दिएको उनीहरु बताउँछन् । पूर्व प्रधानमन्त्री सुशिला कार्कीको कार्यकालमा समेत त्यस क्षेत्रको महत्व बुझेर कार्कीको सरकारले समेत त्यस क्षेत्रलाई मास्न नहुने निष्कर्षमा पुगेको भनाई छ ।
प्रेमभक्त महर्जन, निमकृष्ण महर्जनले हामीले त्यहाँको मुआव्जा लिएका छैनौं । मुआव्जा नलिएको ठाउँमा नै सेनाले व्यारेक बनाएको छ । खोकनावासीहरुका अनुसार नियोजित रुपमा नेवार सभ्यातालाई मास्न खोजेको सरकारमाथि आरोप छ । ‘‘सहिद भएर जान्छु जग्गा छोड्दैनौं’’ जनसरोकार समिति खुदोल फाँटका अध्यक्ष अष्ट महर्जनले भन्नु भयो ।
दुई दशकदेखि खोकना भूमिलाई बचाउनु पर्छ भनेर हामी आन्दोलनमा छौं । साँस्कृतिक भूमिको जग्गा भएकोले यसको आफ्नै ऐतिहासिक महत्व छ ।
बुङ्मती, खोकनाको खुदोलस्थित गुठी र निजी जमीन छ । फाष्ट ट्रयाक बनाउने ठेक्काको जिम्मा नेपाली सेनाले पाएपछि २०७४ सालदेखि सैनिक व्यारेक राखेको छ ।
निषेधित क्षेत्रमा आएर तपाईहरु आन्दोलन गरिराख्नु भएको छ, यसमा केही भन्नु हुन्छ ? भन्ने प्रश्नमा, हो हामी निषेधित क्षेत्रमा आएर धान दिवस मनाउने कार्यक्रम गरेका छौं । साथै सैनिक इलाका मान्दै आएको जमीनमा उनीहरुले खनजोत गर्न लागि परेको देखिन्छ ।
संघर्ष समितिका सदस्य अष्टबहादुर महर्जनले भन्नुभयो, ‘‘फाष्ट ट्रयाक बनाउने नाममा हाम्रो ऐतिहासिक भूमि मास्न दिन्नौं ।’’ पूर्व प्रधानमन्त्री सुशिला कार्कीले भनेको कुरापनि सेनाले मान्नु भएन । नेपाली सेनालाई वहाना चाहेको छ । र नेपाली सेनाले ठेक्का लिएपछि व्यारेक राखेको हो । राष्ट्रिय गौरव मानेको सेनाबाट यस्तो कार्यको हुनु खेदपूर्ण छ महर्जनले भन्नु भयो ।
अब पनि यो आयोजनाले १५ दिन भित्र सम्वाद गरेन भने आफ्नो खेत जोतेर भटमास लगाउने योजना रहेको छ । यो आयोजनाले अन्तर्राष्ट्रिय महासन्धी यूएन ड्रीप १६९को उल्लंघन गरेको अवस्था छ । स्थानीय जनताको विरोध भइरहेको अवस्थामा २०७२ को डिपीआर संशोधन गरि अन्तर्राष्ट्रिय अधिकारलाई पालना गर्न हामी पुनः माग गर्दछौं । हामीले फाष्ट ट्रयाक नबनाउनु भनेको छैन । ऐतिहासिक भूमि नमासेर बनाउनु भनेको हो । हजारौं वर्षदेखि हामीले यो ठाउँ भोगचलन गर्दै आएका छौं । हामीसँग आयस्रोत गर्ने भूमि मात्र छ ।
राज्यले छेक्ने अवस्था नआओस् र आफ्नो भूमि सम्पदा बचाउन हामी अठोट लिएर आएका हौं । हामीमाथि बुझ पचाएर दमन गरेको अवस्था छ । उक्त राष्ट्रिय धानदिवस कार्यक्रममा गुठी, निजी, किसान र संघ–संस्थाका प्रतिनिधीहिरु कार्यक्रमलाई ऐक्यवद्धता जनाउन आएका थिए ।

प्रतिक्रिया दिनुहोस्