काठमाडौं, जेठ २७, कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन गरिएको किसान सूचीकरण प्रणालीमा हालसम्म देशभरका करिब २५ लाख किसान आवद्ध भएका छन् । किसानलाई जमीनको स्वामित्व, खेतीयोग्य क्षेत्रफल र कृषि उत्पादनका आधारमा विद्युतीय प्रणालीमार्फत सूचीकृत गरिएको हो ।
कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितका अनुसार कृषि उत्पादन वृद्धि तथा किसानलाई आवश्यक सेवा–सुविधा प्रभावकारी रूपमा उपलब्ध गराउने उद्देश्यले सूचीकरण अभियान सञ्चालन गरिएको छ ।
कृषि जनगणना २०७८ अनुसार देशमा ४१ लाख ३० हजार किसान परिवार रहेको तथ्याङ्क छ । सोही आधारमा अझै १६ लाखभन्दा बढी किसानलाई सूचीकरण प्रणालीमा आवद्ध गराउने काम जारी रहेको पण्डितले बताउनु भयो ।
पण्डितका अनुसार सम्पूर्ण किसानको विवरण संकलन भएपछि मन्त्रालयले किसानलाई निर्वाहमुखी, साना, मझौला र ठूला किसान गरी चार वर्गमा विभाजन गर्ने योजना बनाएको छ । वर्गीकरणपछि किसान परिचयपत्र वितरण, विद्युतीय सूचना प्रणालीसँग आवद्धता तथा लक्षित कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।
परिचयपत्रको आधारमा किसानले रासायनिक मल, उन्नत बिउ, कृषि अनुदान तथा अन्य सरकारी सेवा–सुविधा सहज रूपमा प्राप्त गर्न सक्ने मन्त्रालयको अपेक्षा छ ।
देशभरका स्थानीय तहसँग समन्वय गरी किसानका तथ्याङ्क तथा विवरण संकलन गरिएको केन्द्रले जनाएको छ । साथै, सूचीकरणमा सहभागी नभएका किसानलाई आफ्नो नाम दर्ता गराउन केन्द्रले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्