२०८३ श्रावण २७

सामुहिक टिमुर–कागती खेतीमा गर्दै कार्मारोङका महिला
जीवन सेजुवाल
मुगु, साउन २७, कार्मारोङ महिला कृषि सहकारी संस्थामा आवद्ध महिलाहरूले सामूहिक रूपमा टिमुर र कागती खेती शुरु गरेका छन् ।
राष्टिय भू–संरक्षण दिवसको अवसर पारेर आइतवार मुगुम कार्मारोङ गाउँपालिका–९, स्थित कार्मारोङ महिला कृषि सहकारी संस्थामा आवद्ध महिलाहरूले छायल गाउँको मागुडी र चिमात गाउँको लिगुडीमा सामूहिक टिमुर तथा कागती खेती शुरु गरेका हुन् ।
छा—याँ नेपालको आर्थिक सहयोगमा उक्त सहकारी संस्थालाई ८ सय बोट टिमुर र २ सय कागतीका गरी १ हजार बिरुवा उपलब्ध गराइएको थियो ।
बिरुवा खरिद, ढुवानी, रोप्न आवश्यक घेरबार, गोठेमल, सिँचाईं तथा खाडल निर्माणका लागि छा—याँ नेपालले २ लाख २२ हजार २४ रुपैयाँ आर्थिक सहयोग गरेको सहकारीकी अध्यक्ष तारादेवी बुढाले बताइन् ।
अध्यक्ष बुढाका अनुसार सामूहिक खेतीसँगै सहकारीमा आवद्ध प्रत्येक सदस्यलाई आफ्नो घरबारीमा समेत टिमुर र कागती खेती गर्न चारवटा टिमुर र एउटा कागतीको बिरुवा वितरण गरिएको छ ।
सहकारीले यसअघि सामूहिक तरकारी खेतीसमेत गर्दै आएको छ । तरकारी खेतीसँगै संस्थाको दिगो आयआर्जनका लागि सबै महिलाको सहभागितामा टिमुर र कागती खेती शुरु गरेका हौं, सहकारीकी सदस्य उजेली विकले भनिन्, दुई स्थानमा गरिएको खेतीमा सिँचाईं, गोडमेलदेखि बिरुवाको संरक्षणसम्मका सबै काम सदस्यहरूले मिलेर गर्ने निर्णय गरेका छौं ।”
करिब तीन रोपनी जग्गामा टिमुर र कागतीका बिरुवा रोपिएको छ । बिरुवाका लागि आवश्यक सिँचाईं, मलखाद तथा घेरबार व्यवस्थापनका लागि सहकारीले छा—याँ नेपालसँग आर्थिक सहयोग माग गरेको थियो ।
राष्ट्रिय भू–संरक्षण दिवसको अवसरमा बिरुवा रोपेर सामूहिक खेतीको सुरुवात गरिएको सहकारीका सदस्यहरूले बताएका छन् ।
स्थानीय बजारमै टिमुर प्रतिकिलो १ हजार २ सयदेखि १ हजार ४ सय रुपैयाँसम्ममा बिक्री हुने भएकाले यसको व्यावसायिक सम्भावना राम्रो देखेर सामूहिक खेती शुरु गरिएको उनीहरूको भनाई छ ।
महिला सशक्तीकरणका लागि सञ्चालित जीविकोपार्जन परियोजनाअन्तर्गत सहकारीको कृषि व्यवसाय विकास, सहकारी सुदृढीकरण तथा वन–वातावरण संरक्षणमा स्थानीयको सहभागिता बढाउने उद्देश्यले सहकारीको मागका आधारमा सामूहिक खेतीका लागि आवश्यक सहयोग गरिएको छा—याँ नेपालका जीविकोपार्जन विज्ञ लोकेन्द्र रावलले बताए ।
उनका अनुसार स्थानीय महिलाहरूलाई कृषि उत्पादनमार्फत आयआर्जनमा जोड्दै सहकारीलाई दिगो र आत्मनिर्भर बनाउने उद्देश्यले टिमुर तथा कागती खेतीलाई प्राथमिकता दिइएको छा—याँ नेपालले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain