विचारसमाचार

आयोगहरुमार्फत समाधान खोज्नुपर्छ ः महासंघ

काठमाडौं फागुन २५ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल माथि सर्वोच्च अदालतमा लगाइएको मुद्दाको विषयलाई अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठले ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ र ‘वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग’मार्फत किनारा लगाउनु पर्ने ठहर गरि प्रेस विज्ञाप्ति प्रकाशित गरि सार्वजनिक गरिएको छ ।
प्रेस विज्ञप्ति
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का पूर्वअध्यक्ष, नेपाली जनवादी क्रान्तिका महानायक एवं गणतन्त्र नेपालका प्रथम तथा बहालवाला सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयअघि सार्वजनिक समारोहमा फरक प्रसंगमा दिएको अभिव्यक्तिलाई आधार बनाई उहाँलाई गिरफ्तार गरी जेल हाल्ने मागसहित सर्वोच्च अदालतमा विगतमा रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भनी दरपीठ गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायधीशद्वयको उत्प्रेषण आदेशका आधारमा दर्ता भएको र सो मुद्दाको बारेमा यही २०७९ फागुन २५ गते (राष्ट्रपति निर्वाचनको दिनमा) सुनवाई राखिएकोमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को गम्भीर ध्यानाकर्षण भएको छ ।
नागरिकले दिएको सार्वजनिक अभिव्यक्तिको आधारमा न्यायालयमा मुद्दा दर्ता गरिनु संविधानप्रदत्त विचार र अभिव्यक्ति स्वतन्त्रताको हक विरुद्ध हो । त्यसमाथि जनयुद्धसँग सम्बन्धित मुद्दाहरू संक्रमणकालीन न्यायसम्बन्धी विषय भएकोले तिनको निरुपण ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ र ‘वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग’बाट हुनुपर्छ । यसको विपरीत सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विरुद्ध मुद्दा दर्ता हुनु दुःखद मात्र होइन, ऐतिहासिक विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र नेपालको संविधान विरुद्ध भएकोले सो रिट पहिलो सुनुवाइबाटै खारेजयोग्य भएको हाम्रो ठहर छ । देशको संविधान र कानुनको ब्याख्याताको रूपमा रहेको सम्मानित सर्वोच्च अदालतले देशमा पुनः द्वन्द्व सिर्जना हुने, महान् जनयुद्धका सहिद तथा वेपत्ता योद्धाहरू, पीडापूर्ण जीवन बाँचिरहेका घाइते तथा अपाङ्ग योद्धाहरू, सहिद तथा वेपत्ताजनका परिवारहरूमाथि अपमान र अन्याय हुने एवं शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन अवरोध सिर्जना हुने कुनै पनि कार्य गर्ने छैन भन्ने कुरामा हाम्रो दृढ विश्वास रहेको छ ।
विश्व हल्लाउने महान् जनयुद्ध नेपाली सामाजिक क्रान्तिको एक गौरवपूर्ण र ऐतिहासिक परिघटना हो । महान् जनयुद्धकै प्रतिफलस्वरूप नेपाल विश्वको कान्छो गणतन्त्रको रूपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीकरण र समानुपातिक प्रतिनिधित्वको व्यवस्थामा पुग्न सफल भएको हो । जनयुद्धपूर्व देशमा चरमखालको सामन्ती शोषण तथा क्रुर दमन, जातीय विभेद, छुवाछुत र उत्पीडन थियो । महिलाहरूमाथिको शोषण तथा उत्पीडन वर्णन गरिसाध्य थिएन । कमैया, हलिया, हरवा, चरवा र कमलरीहरूमाथि गरिने शोषण र उत्पीडनको व्यथा सुनिसाध्य थिएन । राजपरिवारका नाममा अकुत सम्पत्ति जोडिएको थियो भने किसानहरू र आम जनताको ठूलो हिस्सा भूमिहीन, सुकुम्बासी र गरिब थियो, तिनलाई दुई छाक टार्न मुस्किल थियो । जनताले तिरेको करबाट राजपरिवारको ठूलो संख्यालाई सामान्यभन्दा हजारौं गुणा बढी तलब भत्तासहित भरणपोषण गरिन्थ्यो । राजपरिवारका सदस्यहरूले दिनदहाडै मान्छे मार्दा पनि कुनै कानुन लाग्दैन्थ्यो । नमिता–सुनिता काण्डजस्ता बलत्कारका घटना सामान्य थिए । दलितहरूलाई मन्दिर तथा विद्यालयमा जान र एउटै धारो–पँधेरो प्रयोग गर्न पनि सामाजिक र सांस्कृतिकरूपमा निषेध गरिएको थियो । आदिवासी, जनजाति र मधेसी समुदायका नागरिकहरूलाई उच्च जाति र उच्च पदमा पुगेका मानिसहरूको हली, गोठाला र दासको जस्तो व्यवहार गरिन्थ्यो । उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गका मानिसहरूले संसद र सरकारमा पुग्ने कुरा कल्पना समेत गर्न सकिँदैनथ्यो । राजाको सक्रिय शासनको कालमा देशलाई विश्वको दोस्रो सबैभन्दा गरिब मुलुक बनाइयो । राजतन्त्रकै कालखण्डमा यो देशका गण्डकी, कोशी र महाकालीजस्ता नदीहरू बेचियो । सोभियत संघ र जनवादी गणतन्त्र चीन लगायतका देशहरूले बनाइदिएका दर्जनौं सरकारी उद्योगधन्दा र कलकारखानाहरू बेचियो । लाखौं जनता बेरोजगार बनाइयो । नेपालमा साक्षर जनताको संख्या अत्यन्तै न्यून् थियो । राजातन्त्रकै कालमा कालापानीमा भारतीय सेना राखियो, देशका ७०भन्दा धेरै ठाउँमा सिमाना मिचियो । राजाले न त्यतिबेला कहिल्यै चुइँक्क बोले, न त यतिबेला पूर्व राजा ज्ञानेन्द्रले नै बोल्ने हिम्मत गरेका छन् । राजदरबारभित्र तत्कालीन राजा विरेन्द्र शाहको पूरै वंशनाश भयो । राजतन्त्रले राजाकै परिवार जोगाउन सकेन । जनतालाई दिसा गरेपछि र खाना खानुअघि हात धुनुपर्छ भन्ने अभियान सञ्चालन गर्न र देशलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न पनि गणतन्त्र नै आउनुप¥यो । त्यस्तो सामन्ती शोषण र विभेदयुक्त, राष्ट्रघाती, जनविरोधी र भ्रष्ट व्यवस्थालाई अन्त्य गरेर देशमा नयाँ गणतन्त्रात्मक व्यवस्था ल्याउने कार्य महान् जनयुद्ध विना कल्पना गर्न समेत सकिँदैनथ्यो ।
महान् जनयुद्धमा नेपाली जनताका हजारौं छोराछोरीले आफ्नो जीवन बलिदान गरे । जनताका हजारौं छोराछोरीरू अझै वेपत्ता छन् । यस्तो बलिदानीपूर्ण संघर्षबाट यो गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक व्यवस्था आएको हो । त्यसैले प्रतिगमन गर्ने, त्यो महान जनयुद्धलाई अपराधीकरण तथा विद्रुपीकरण गर्ने, जनयुद्ध तथा त्यसको नेतृत्व र त्यसका योद्धाहरू, सहिद तथा सहिद परिवारहरूलाई अपमान गर्ने कुरा जो कोहीबाट भए पनि सहन सकिँदैन । तिनको विरुद्ध डटेर सामना गरिनेछ । विभिन्न पक्षबाट गर्न खोजिएका प्रतिगामी र जनविरोधी हर्कतहरूको विरुद्ध एकतावद्ध भई दृढतापूर्वक प्रतिरोध गर्न समेत हामी सबै देशभक्त, जनवादी तथा क्रान्तिकारी शक्तिहरूलाई हार्दिक अपिल गर्दछौं ।
…………………………………….
हार्दिक क्रान्तिकारी अभिवादनसहित । चित्रबहादुर श्रेष्ठ
मितिः २०७९÷११÷२४ अध्यक्ष

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close