धनबहादुर मगर
काठमाडौं असोज २३, स्टुडेन्ट्स फर लिवर्टीको आयोजनामा जलवायु परिवर्तन, व्यक्तिगत स्वतन्त्रता र वातावरण संरक्षणमा केन्द्रित ‘‘क्यान फ्रिडम एण्ड क्लाइमेट एक्सन गो टुगेदर ?’’ विषयक युवा बहस कार्यक्रम काठमाडौंको टेकुस्थित आइ हबमा सम्पन्न भएको छ । जलवायु परिवर्तनको चुनौंती, वातावरण संरक्षणमा राज्यको भूमिका, व्यक्तिगत स्वतन्त्रता, आर्थिक विकास तथा नवप्रवर्तनबीचको सम्बन्धबारे खुला छलफल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । बहसमा सहभागी युवाहरूले जलवायु परिवर्तनलाई वातावरणीय समस्याका रूपमा मात्र नभई आर्थिक, सामाजिक, राजनीतिक तथा मानवीय स्वतन्त्रतासँग जोडिएको साझा चुनांैतीको रूपमा विश्लेषण गरेका थिए ।
कार्यक्रममा स्वतन्त्रता र जलवायु कार्यलाई सँगसँगै अघि बढाउन सकिन्छ कि सकिँदैन, जलवायु परिवर्तन नियन्त्रणका लागि व्यक्तिगत स्वतन्त्रतामा सीमा लगाउनु आवश्यक छ कि छैन तथा खुला बजार र नवप्रवर्तनले जलवायु परिवर्तनको समाधान दिन सक्छन् कि सक्दैनन् भन्ने विषयमा छलफल भएको थियो ।
२०८३ भाद्र १० गते रसुवाको भोटेकोशी बाढीबाट पारेको असरलाई जोड्दै जलवायुजन्य जोखिम तथा विपद् व्यवस्थापनमा सरकारको भूमिका र स्थानीय समुदायको निर्णय गर्ने स्वतन्त्रताबारे विचार आदानप्रदान गरिएको थियो । विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारी नीति तथा नियमन आवश्यक हुने र स्थानीय समुदायको सहभागीता तथा पहललाई पनि प्राथमिकता दिनु पर्ने विषय छलफलमा उठाइएको थियो ।
नेपाल जस्तो जलवायु परिवर्तनको उच्च जोखिममा रहेको देशमा बाढी, पहिरो, अनियमित वर्षा तथा खडेरीले जनजीवन, कृषि, पूर्वाधार र स्थानीय अर्थतन्त्रमा पार्ने प्रभावलाई ध्यानमा राख्दै वातावरण संरक्षणसँगै आर्थिक विकास, रोजगारी र स्थानीय आवश्यकताबीच सन्तुलन कायम गर्नु पर्नेमा सहभागीहरूले जोड दिएका थिए । छलफलका क्रममा जलवायु परिवर्तनको समाधानका लागि सरकारको भूमिका महत्वपूर्ण भएपनि नागरिक, निजी क्षेत्र र स्थानीय समुदायको सक्रिय सहभागिता उत्तिकै आवश्यक रहेको धारणा प्रस्तुत गरिएको थियो । स्वच्छ प्रविधिको विकास, जलवायुमैत्री कृषि प्रणालीको प्रवद्र्धन, वन तथा जलस्रोत संरक्षण र नवीन उद्यममार्फत वातावरणीय समस्या समाधान गर्न सकिने सम्भावनाबारे पनि चर्चा गरिएको थियो । कार्यक्रममा युवाहरूलाई जलवायु परिवर्तनसम्बन्धी निर्णय प्रक्रियामा सहभागी गराउने, नवीन विचारको विकास गर्न प्रोत्साहित गर्ने तथा स्थानीयस्तरमा वातावरणमैत्री उद्यम र समाधानका अवसर सिर्जना गर्ने विषयलाई विशेष महत्व दिइएको थियो ।
जलवायु परिवर्तनको दीर्घकालीन प्रभाव भोग्ने पुस्ता भएकाले युवाहरूलाई समाधानमा योजनाकार, नवप्रवर्तक तथा समुदायका नेतृत्वकर्ताका रूपमा अघि बढाउनु पर्नेमा जोड दिइएको थियो ।
कार्यक्रमका संयोजक मनिष पौडेलले जलवायु परिवर्तनजस्तो गम्भीर विषयमा युवाहरूबीच खुला, तथ्यपरक र विचारप्रधान बहसको वातावरण निर्माण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए । पौडेलले वातावरण संरक्षण र व्यक्तिगत स्वतन्त्रतालाई एकअर्काको विरोधीका रूपमा मात्र नहेरी दुबैलाई सँग–सँगै अघि बढाउने सम्भावनाबारे युवाहरूले आलोचनात्मक रूपमा सोच्न र आफ्ना विचार प्रस्तुत गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । कार्यक्रमले जलवायु परिवर्तनसम्बन्धी जटिल विषयमा फरक विचार आदानप्रदान गर्दै वातावरणीय संरक्षण, व्यक्तिगत स्वतन्त्रता, सरकारी उत्तरदायित्व, आर्थिक अवसर, नवप्रवर्तन र स्थानीय समुदायको सहभागिताबीच सन्तुलन खोज्ने अवसर प्रदान गर्ने रहेको बताएका थिए ।
कार्यक्रमको संयोजनमा मनिष पौडेल, स्टुडेन्ट्स फर लिबर्टीका रिगा शर्मा, धिरज के.सी. र सरोज सापकोटालगायतले आफ्नो विचार व्यक्त गरेका थिए ।
समाचारः कृषि पत्रकार निरज रानाभाटको सहयोगमा

प्रतिक्रिया दिनुहोस्