विचार

हाम्रो देशको संस्कृति भनेको विश्वको नमूना हो

हाम्रो देश धेरै किसिमका रीतिरिवाज भएको देश हो । यहाँ सबै जातजाती, धर्म, संस्कृतीलाई समेटेर धेरै किसिमका पर्वहरु मनाइन्छ । सबै कुरालाई समेटेर चाडपर्व मनाइने गरिएको छ । दही, मासु, खिचडी, सेल, घ्युचाकु, दही चामल, दही चिउरा, खिर आदि सबै कुरा खाने चाडपर्व हाम्रो देशमा मनाउने गरिन्छ । यि सबै चाडपर्व मनाउँदाका आ–आफ्नै विशेषता छन् । त्यसैगरि प्रत्येक वर्ष साउन १५ गते खिर खाएर चाड मनाउने गरिन्छ । पुर्खाहरुले हाम्रो देशमा यसरी नै संस्कृतिलाई जोगाई राखेका छन् । यो हाम्रो लागि ठूलो उपलब्धि हो । यसले देशको पहिचान बढ्नुका साथै पर्यटन क्षेत्रको विकासमा धेरै ठूलो टेवा पुग्दछ । हाम्रो देशको संस्कृति भनेको विश्वको नमूना हो । यस्तो संस्कृथि कतै पनि छैन् । तर, अब भने यसको जर्गेनाको पाटो ठूलो कठिनाई भएकोछ । यसमा आम जनताको चासो रहन अत्यन्तै आवश्यक छ ।
साउन १५ गतेलाई देशैभर खिर खाने दिनको रुपमा चिनिने गरिन्छ । नेपालमा प्राचीन कालदेखि नै खिरलाई एक उत्कृष्ट खानाको रुपमा लिइने गरिएको पाइन्छ । आयुर्वेद विज्ञानमा समेत खिरको महत्व निकै रहेको पाइन्छ । साउन १५ गते खिर खाएमा शुभ हुने मान्यता रहेको छ । साउन महिनामा धेरै वर्षा हुने, विभिन्न किसिमका रोग लाग्ने र विरामी पर्ने हुँदा रोगबाट छुट्कारा पाउनको लागि पनि खिर खाने चलन रहेको पाईन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले खिर खाने चलन रहेको पाइन्छ । वर्षायाममा विभिन्न संक्रमण भई रोग लाग्ने गर्दछ । त्यसैले रोग नलागोस् र संक्रमण नहोस्, थकान नलागोस्, फुर्ति बढोस् आदि भनेर पनि खिर खाने गरेको पाइन्छ । साउन गर्मी महिना भएको कारण पहिले–पहिले शरीरमा दाद, खटिरा, घाउ, लुतो जस्ता रोगले दुःख दिने गरेको पाइन्छ । यि यस्ता रोगबाट बच्न प्रतिरोधात्मक शक्ति बढाउन पनि साउन महिनामा दूध र दुग्धजन्य पदार्थको बढि नै सेवन हुने गरेको पाइन्छ ।
पहिले–पहिले गाउँघरमा मिठो मसिनो कमै खाईने र खान पनि कठीन हुने भएकोले खानामा सन्तुलित होस् भनेर शरीरलाई आवश्यक पर्ने सबै खाले खाना खाने चाडपर्वको व्यवस्था भएको पाइन्छ । यसले गर्दा सबै मानिसले दैनिक खान नसक्ने र विशेष चाडपर्वमा मात्र खाँदा पनि निरोगी हुन मद्दत पुग्ने गरेको देखिन्छ । यि सबै कुरालाई मध्यनजर गर्दा नेपालमा हाम्रा पुर्खाहरुले धेरै सोचबुझ गरेर चाडपर्वको महत्व विस्तार गरेको पाइन्छ । अनि आम नेपालीको खानाको प्रकार र मानिसको खानाको बानी जे भएता पनि देशका सबै भागमा खाइने सबै खानेकुराको सबैले स्वाद अनिवार्य लिने सक्ने गरि कम्तिमा वर्षको एकदिन भए पनि खानु पर्ने गरि चाडपर्वको व्यवस्था भएको देखिन्छ । वैज्ञानिक तरिकाले पनि यो अति उत्तम मानिन्छ । यस अर्थमा पनि हाम्रा पुर्खाहरु अत्यन्तै वुद्धिमान मान्न सकिन्छ ।
आजभोलि सबै किसिमका खानेकुराहरु सबै समयमा पाइने भएता पनि त्यसको सहि उपभोग भएको पाइन्न । यसले गर्दा अन्य समस्या धेरै उत्पन्न भएको पाइन्छ । त्यसकारण पहिले पहिलेका चाडपर्वले गर्दा सन्तुलन भोजनको लागि लाभदायक भएकोे देखिन्छ । आजकाल चाडपर्व फेसनको रुपमा पनि मनाउने गरेको पाइन्छ । स्कुल, कलेज, अफिसमा पनि साथीभाईहरु मिलेर खिर खाने चलन बढेको छ । यसरी साउन १५ मा देशैभर खिर खाने चलन भएकोले दूधको खपत पनि अरु दिनको तुलनामा लगभग ४ गुणा बढि हुने गर्दछ । दैनिक उत्पादनको दुधले नपुग्ने भएकोले डेरी उद्योगहरुले दुई चार दिन अगाडिदेखि नै दूध भण्डारण गरि राख्ने र नपुगेमा धुलो दूध मिसाएर बजारमा लाने गर्दछन् । यसरी हामी आम नेपाली देशैभरी साउन १५ मा सबैजना खिर खाई साउन १५ भव्य रुपमा मनाउँदछौं । हामी सबै मिली सबै किसिमका चाडपर्वको संरक्षण गरि हाम्रा भावी पुस्तालाई राम्रोसँग यस्ता सबै किसिमका चाडपर्वको महत्व बुझाउनु पर्दछ । यसले हाम्रो देशको पहिचान दिनेछ । यसलाई सहि तवरले परिचालन गर्न सक्ने हो भने विदेशी पाहुना ल्याउन समेत ठूलो मद्दत पुग्नेछ । हामीले अरुको देशको धर्म संस्कृतीको नक्कल गरेर आफ्नो देशका धर्म संस्कृतिलाई भुल्न हुँदैन । देशका सबै किसिमका चाड पर्व मनाउँ, हाम्रो संस्कृति बचाउँ ।
प्रल्हाद दाहाल
अध्यक्ष ः नेपाल डेरी एसोसिएसन

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close