
घनश्याम अधिकारी (वैरागी जेठा)
काठमाडौं फागुन १५, राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा उत्पन्न हुनसक्ने जलसंकटको चुनौंतीलाई दृष्टिगत गर्दै भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षण हुनुपर्नेमा जोड दिएका छन् । विश्व पानी दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैया संरक्षण गर्नु पर्ने कुरामा जोड दिएको छ ।
‘प्राचीन एवम् आधुनिक प्रविधिको मिश्रण गरी जलाशययुक्त योजनाको तर्जुमा गर्न आवश्यक छ’, राष्ट्रपतिले सन्देशमा भनेका छन् । पानी र प्रकृतिसँग प्राणी जगतको अस्तित्व गाँसिएको, जीवको उत्पत्ति नै पानीभित्र भएको र प्राचीन मानव सभ्यताहरू नदीकिनारमा विकास भए पनि वर्तमानमा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण चुनौंतीपूर्ण बनेको सन्देशमा उल्लेख छ ।
राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्, ‘भूमिगत जलस्रोत महत्वपूर्ण प्राकृतिक सम्पदा हो, जसले पारिस्थितिकीय प्रणालीलाई दिगो र नदीको बहावलाई व्यवस्थित बनाउन तथा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणसँगै सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत पु¥याउँछ ।’ उनले बढ्दो सहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनाश, जलवायु परिवर्तन एवं प्रदूर्षणका कारण पानीका स्रोत नष्ट भइरहेकामा चिन्ता व्यक्त गरेका छन् ।
‘भूमिगत जलस्रोतको अतिदोहन र सहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाको कारण पुनर्भरणमा अवरोध उत्पन्न हुँदा जमिनमुनिको पानीको सतह निरन्तर घटिरहेको छ । अव्यवस्थित मानव वस्ती र बढ्दो औद्यौगीकरणका कारण भूमिगत जलस्रोत प्रदूषित हुँदै गएको छ’, सन्देशमा भनिएको छ । राष्ट्रपतिले जलस्रोत र नदी प्रणालीको संरक्षण गर्दै समयमै पूर्वसूचना प्रणालीको मद्दतबाट प्राकृतिक विनास तथा जनधनको क्षति न्यूनीकरण गर्न सकिने उल्लेख गरे । उनले पानीको संरक्षण र सदुपयोगमार्फत दिगो विकासका लक्ष्य परिपूर्ति गर्न विश्व पानी दिवसले प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
पानीको महत्व, संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई विश्व पानी दिवसका रूपमा मनाउन थालिइएको हो । यसवर्ष ‘हिमनदी संरक्षण’ नाराका साथ आज देशका वभिन्न भागमा चेतनामूलक विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ ।
प्रतिक्रिया दिनुहोस्