२०८२ जेष्ठ ५

सुपारीको डिएनए परिक्षण गर : अध्यक्ष दंगाल

काठमाडौं चैत्र २६ अखिल नेपाल किसान महासंघका अध्यक्ष डा.प्रेम दंगालले एक प्रेस विज्ञाप्ति प्रकाशित गरि नेपालका
सुपारी उत्पादक किसानको माग छिटोभन्दा छिटो पूरा गर्न आग्रह गर्नु भएको छ ।
अध्यक्ष डा. दंगालले २०७९ साल श्रावणदेखि सुपारी बिक्री वितरण गर्न नपाएका कारण उनीहरूको दैनिक जनजीवन र व्यवसायमा परेको प्रभावप्रति अखिल नेपाल किसान महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो देशमा जगेडा सुपारी हुँदाहुँदै यसको बिक्री वितरणमा सहजीकरण गर्नु त कताकता उल्टै सुपारी आयात खुला गरेका कारण सुपारी उत्पादक किसानहरू ठूलो मर्कामा परेको विषयप्रति दुःख व्यक्त गर्दै यसको उपयुक्त समाधानका लागि महासंघ सरकारसँग जोडदार माग गर्दछ ।
नेपालका पूर्वी जिल्लाहरू झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा सुपारी खेति गरिंदै आएको छ । उक्त जिल्लाहरुमा ४२ हजार हेक्टर भन्दा धरै क्षेत्रफलमा सुपारी खेति हुँदै आएको छ र यसको विस्तार हुने क्रम जारी छ । कम परिश्रम लाग्ने तर लामो समयसम्म (३०–४० वर्ष) प्रतिफल प्राप्त गर्न सकिने नगदेबालीका रूपमा रहेको र जङ्गली जनावरबाट सुरक्षित समेत भएकाले यसको खेतिप्रति किसानको आकर्षण बढिरहेको छ । एक अध्ययन अनुसार आगामी ४ बर्षमा नेपालमा करिब ३५ हजार मेटिूक टन सुपारी उत्पादन हुनेछ जसबाट सुपारीको आजको बजारमुल्य अनुसार पनि अरबौंको कारोबार हुने देखिन्छ ।
गुणस्तरीय भएकाले नेपाली सुपारीको विदेशी बजारमा अत्यन्त ठूलो माग रहेको छ । तर सुपारीको तस्करी रोक्ने नाममा संघीय
राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिले २०७९ श्रावण १६ गते अर्थ मन्त्रालय र उद्योग वाणिज्य मन्त्रालयलाई डिएनए परिक्षण गरेर मात्र सुपारी निर्यात गर्न भनी निर्देशन गरेपछि आजको मितिसम्म नेपाली सुपारीको बिक्री वितरण तथा निर्यात हुन सकेको छैन । करिब ३ वर्षदेखि आफ्नो उत्पादन बिक्री वितरण गर्न नपाउँदा
सुपारी उत्पादक किसान समस्यामा परेका छन् ।
नेपाल सरकारका सम्बन्धित निकायहरूलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि हालसम्म सुपारीको डिएनए परिक्षणको व्यवस्था गरिएको छैन । यहाँ सुपारी खेति विस्तारको पर्याप्त संभावना हुँदाहुँदै पनि सुपरजोन घोषणा गरिएको छैन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन आएको भएतापनि यस सम्बन्धी अनुसन्धान केन्द्र स्थापना गरिएको छैन । सुपारीलाई निर्यातयोग्य उत्पादनमा सुचिकृत गरिएको छैन । स्वदेशी उत्पादनबाट स्टक भएको सुपारी निर्यातका सम्बन्धमा कुनै निकास दिनु सम्बन्धित निकायको गैरजिम्मेवार पन हो ।
स्मरणरहोस्, सुपारी किसान संघ, नेपालको नेतृत्वमा राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति, संघीय प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कोशी प्रदेश सरकार, राष्ट्रिय किसान आयोग, सम्बन्धित जिल्लाका स्थानीय सरकार समक्ष सुपारी बिक्री वितरणका साथै निर्यातको समस्या समाधानका लागि धेरै पटक अनुरोध गरिएको छ । यस प्रयासबाट समेत सम्बन्धित निकायबाट कुनै समाधान नहुँदा सुपारी उत्पादक किसान निरुत्साहित भएका छन् ।
त्यसैले, अन्योल र निरास बनेका नेपाली सुपारी उत्पादक मिहिनेती किसानका मागहरूलाई यथाशीघ्र दिगो सम्वोधन गर्न अखिल नेपाल किसान महासंघ जोडदार माग गर्दछ । अन्यथा सुपारी किसानका यी जायज माग र सरोकारहरू बेवास्ता गरिएमा हुनसक्ने आन्दोलनबाट उत्पन्न हुने असुविधा र क्षतिको जिम्मेवारी स्वयम् सरकारले नै लिनुपर्ने व्यहोरा समेत अवगत गराउन चाहन्छौं ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain