धनबहादुर मगर
काठमाडौं, असार १७, नेपालको कृषि तथा पशुपन्छि क्षेत्रका विभिन्न १२ ओटा संस्थाहरूको छाता संस्था नेपाल कृषि महासंघको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
वार्षिक साधारण सभाका प्रमुख अतिथि वरिष्ठ कृषि विज्ञ शिवबहादुर नेपाली प्रधानले समयक्रममा नेपालले केही कृषि उपजमा आयात गर्नु परेपनि केही उपजमा आत्मनिर्भर र केहीमा निर्यात गरिरहेकोमा निर्यातलाई विस्तार गर्न अँझै धेरै काम गर्न सकिने सम्भावना रहेको बताउनुभयो । उहाँले उत्पादनोपरान्तका प्रविधिको प्रयोग, मूल्य श्रृँखलामा सुधार, उन्नत बीउबिजनको प्रयोग र दिगो मलखाद व्यवस्थापनबाट कृषिका धेरै चुनौंतीको सामना गर्न सकिने पनि बताउनुभयो । त्यस्तै, नेपाली भेडाहरूको ऊन खुर्कने र प्रशोधन गर्ने नयाँ प्रविधिको प्रयोग, नेपाली महको ब्राण्डिङ, केसरको खेती, कस्तुरी पालन जस्ता नेपाली वस्तुबाट रोजगारी र आम्दानी बढाउन सकिने तथा खाद्यान्न आयातबाट हुने व्यापार घाटालाई कम गरी तथा देशको आर्थिक उन्नतिमा लगाउनु पर्ने कुरामा उहाँको जोडदिनु भएको थियो । व्यापार घाटालाई कम गर्नु कृषि उत्पादनमा जोडदिनुपर्ने पनि नेपालीले जोडदिएको थियो ।
उक्त कुरा नेपाल कृषि महासंघको वार्षिक साधारण सभालाई उद्घाटन सत्रमा सम्वोधन गर्ने क्रममा बताउनु भएको हो ।
साधारण सभामा महासंघका सचिव हिक्मतकुमार श्रेष्ठले वार्षिक कार्य प्रगति एवम् कोषाध्यक्ष प्रज्ञा श्रेष्ठले महासंघको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैक्रममा श्रेष्ठले राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यक्रमको १० वर्षे उपलब्धी सम्बन्धी विशेष प्रस्तुति समेत गरिएको थियो ।
कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्रालयका पूर्व सचिव डा.योगेन्द्रकुमार कार्कीले नेपालमा कृषिका योजना तर्जुमा र तिनको कार्यान्वयनमा गम्भीरतापूर्वक लागेर कृषिको विकास द्रुतगतिमा अगाडि बढाउनु पर्ने बताउनु भयो । कार्कीले महासंघले आफ्ना विज्ञहरूको सहयोगमा अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा कृषि विकासका कार्यहरू सञ्चालन गर्नु राम्रो हुने सल्लाह सुझाव समेत दिएका थिए ।
पूर्व सचिव एवम् महासंघका सल्लाहकार गणेशकुमार के.सी.ले महासंघको स्थापना र विकासक्रमको चर्चा गर्दै महासंघले यसमा आवद्ध संस्थाहरूको साझा आवाज बनेर नीतिगत तहमा पुर्याउन भूमिका खेलिरहेकोमा आफू सन्तुष्त रहेको बताउनुभयो ।
कृषि विकास मन्त्रालयका पूर्व सचिव ब्रजकिशोरप्रसाद शाहले महासंघले कृषिकर्मीको भलाइ र क्षमता अभिवृद्धिका लागि पनि काम गर्नुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रमका अध्यक्ष एवम् नेपाल कृषि महासंघका अध्यक्ष शिवसुन्दर श्रेष्ठले सहभागीहरूलाई धन्यवाद दिँदै कृषि क्षेत्रका यावत् चुनौंतीहरूको समाधान गर्न महासंघले नीतिगत तहमा दिएका सुझावको चर्चा गर्दै आयात प्रतिस्थापनका लागि तुलनात्मक लाभका वस्तुको उत्पादन, स्थानीय तहमा दक्ष र उच्च शिक्षा हासिल गरेका विज्ञ राख्नुपर्ने, सरकारी फार्म केन्द्रका जग्गाको सुरक्षा र अनुभवी पेशागत विद्वानहरूको परिचालन जस्ता विषयलाई उठाइरहेको जानकारी दिनुभयो ।
डा.सावित्री बरालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा महासंघका उपाध्यक्ष मोहनबहादुर थापाले सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा महासंघका वर्तमान एवम् पूर्व पदाधिकारीहरू, डा.अरूण रञ्जित, डा.प्रल्हाद दाहाल, डा. कृष्णकुमार श्रेष्ठ, कृषि मञ्त्रालय मातहत निकायमा कार्यरत एवम् सेवा निवृत्त कृषि तथा पशुपन्छि विज्ञहरूको सहभागिता रहेका थिए ।
साधारणसभाले शिवसुन्दर श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कमिटीको चयन गरेको छ । कमिटीका उपाध्यक्षमा मोहनबहादुर थापा, महासचिवमा डा.कालिकाप्रसाद उपाध्याय, सचिवमा हिक्मतकुमार श्रेष्ठ, कोषाध्यक्षमा प्रज्ञा श्रेष्ठ र सदस्यहरूमा डा.योगेन्द्रकुमार कार्की, कृष्णकुमार श्रेष्ठ, देवकी श्रेष्ठ, डा. सावित्री बराल, रामप्रसाद पुलामी, देवेन्द्रप्रसाद यादव, डा.भवप्रसाद त्रिपाठी, सरोजकान्त अधिकारी, प्रमोद रिजाल, सञ्जय धिमाल र निर्विरोध निर्वाचित हुनुभएका छन् ।

प्रतिक्रिया दिनुहोस्