मैले एकदिन साथीभाइसँग भनें, “संसारमा सबैभन्दा बढी कीटनाशक विषादी प्रयोग गर्ने देश जापान हो । हाम्रो यस्तो कृषि व्यवसायलाई परिवर्तन गरौं र खेतीपातीलाई कृत्रिम रसायन र विषादीबाट मुक्त बनाऔँ ।”
मेरो कुरा सुनेपछि साथीहरू मलाई गिज्याउँदै गलल्ल हाँसे, “तिमीले पक्कै सपना देखिरहेको हुनुपर्छ ।”
मैले २९ वर्षको उमेरमा (सन् १९७८ मा) कृत्रिम रासायनिक मल र विषादीलाई तिलाञ्जली दिएँ र विषादीमुक्त खेतीपाती सुरु गरेँ। मेरो १० वर्षभन्दा पनि बढी समय अनेकौँ परीक्षणमा बित्यो । धेरै गल्तीहरू दोहोरÞ्याइरहेँ । विडम्बना, यस अवधिमा मैले एउटा पनि स्याउ फलाउन सकिनँ । म एउटा असफल किसान सावित भएँ । मेरो आर्थिक अवस्था निकै कमजोर भयो । केही वर्षमै म करोडौं येनको ऋणमा भासिन पुगेँ ।
सन् १९८० को मध्यतिर म आर्थिक अभावका कारण धेरै नै अत्तालिसकेको थिएँ । हिउँदको खेतीपाती नहुने फुर्सदको समयमा म काम खोज्न टोकियो जान्थेँ । यो समय जापानले उच्च आर्थिक उन्नति हासिल गरिरहेको वेला थियो । मैले टोकियोस्थित आकिहाबारा सहरमा गत्ता (खाली कार्टुन) संकलन गर्ने कवाडी–काम गर्नुका साथै ठेला तानेर गुजारा गरेको थिएँ । यो स्मृति मसँग अझै ताजै छ ।टोकियोमा म सामान्य र सस्तो डेरामा बस्थेँ । वर्षको अन्तमा आफ्नो गाउँ हिरोसाकीमा समेत नगएर भुसको बिस्तरामा नयाँ वर्ष बिताएको अनुभव पनि मसँग छ । यति गर्दा पनि कुनै उपाय नचलेपछि पिरले रुँदै मैले मेरो ट्र्याक्टरका साथै खेतसमेत विक्री गर्नु परेको थियो। बाँकी ऋण र कर तिर्न नसकेका कारण मेरो सर्वस्व जफत गरियो ।
परिवारमा श्रीमती, तीन छोराछोरी र सासु–ससुरा गरी ७ जना थियौँ । त्यतिवेला म बस्ने ओमोरी प्रान्तमा एक व्यक्तिको खानाका लागि मात्रै महिनाको कम्तीमा १५,००० आवश्यक पथ्र्यो तर मैले सिङ्गो घरको खाना खर्चबापत १०,००० येनभन्दा पनि कम मात्रै खर्च गर्न सकेको थिएँ । घर–खर्चका लागि श्रीमतीसामु शिर झुकाउनुबाहेक मसँग अर्को उपाय थिएन । मेरा बच्चाहरू एउटा सानो चकलेट पनि तीन टुक्रामा बाँडीचुँडी खाजाका रूपमा खाएर दिन बिताउँथे । जेठी छोरीको झोलामा नङको टुप्पो जत्रो इरेजर
हुन्थ्यो । यो सबैले म निकै दुःखी थिएँ ।
मलाई के चाहिँ विश्वास थियो भने यदि हामी कृत्रिम रसायन र विषादीविना स्याउ फलाउन सफल भयौँ भने हाम्रो आर्थिक अवस्था बिस्तारै सुूिदै जानेछ। त्यसैले अझ अलिकति धैर्य गर्न मैले परिवारका सबै सदस्यलाई फकाइरहेँ । श्रीमती मेरो कुरामा सहमत थिइनन तर म पनि सजिलै हार मान्ने खालको मान्छे होइन भन्ने उनलाई थाहा थियो ।
परिवारको स्वीकृति नहुँदानहुँदै पनि मैले आफूले विश्वास गरेको कामलाई अगाडि बढाइरहेँ । प्राकृतिक स्याउ लगाउन सुरु गरेको दुई–तीन वर्ष नबित्दै मलाई कृषि सहकारीबाट निलम्बित गरियो। एकदिन एक अपरिचित व्यक्ति घरमा आए अनि मलाई सहकारी सदस्यबाट हटाउने निर्णय भएको सूचना दिएर बाटो लागे ।
यस्तो निर्णय किन गरे होलान् भनेर बुझ्दा पछि थाहा भयो, यस प्रकारको विषादीमुक्त खेती र खेतीपाती पद्धतिलाई त्यसवेलाका कृषि सहकारीहरूले स्वीकृति नदिने रहेछन्। त्यसो त म ३० वर्षको नहुँदै वर्षेनी राम्रो फसल उत्पादन गरिरहेको किसान थिएँ । त्यसवेला मलाई ऋण दिने बैंकहरूले पनि जब मैले विषादीमुक्त खेती गरेको थाहा पाए, अचानक मप्रति कठोर व्यवहार गर्न थाले । म एकपछि अर्को मिटरब्याजी वित्तीय संस्थाहरूबाट ऋण लिन बाध्य भएँ । चालै नपाई म निकै ठूलो ऋणको भारमा थिचिन पुगेँ ।
त्यसवेला मैले ऋणका लागि आवेदन दिन बैंकमा बुझाएका कागजातहरूमा यस्तो
लेखेको थिएँ,
धेरै मलको प्रयोगले बालीनालीलाई कमजोर बनाउँछ, जसले गर्दा ती कीरा र रोगहरूको चपेटामा पर्छन् तर विना कुनै मल उब्जाइएका स्याउहरूमा एउटा कडा र प्राकृतिक स्वाद र बास्ना हुन्छ किनकि तिनीहरू आफ्नै बलमा हुकेका हुन्छन् । यसमा घातक कीटनाशक विषादी प्रयोग नगर्ने भएकाले यसबाट बच्न नाक र मुखमा मास्क वा पूरै शरीर ढाकिने लुगा लगाएर य खेतबारीमा काम गर्न पर्दैन । निर्धक्क भएर आफ्नो खेतबारीमा काम गर्न
सकिन्छ ।
प्रकृतिसम्मत खेतीपाती गर्ने कुरा स्याउमा मात्र सीमित छैन । धान र तरकारीहरू पनि प्राकृतिक रूपमा उब्जाउन सकिन्छ। प्राकृतिक रूपमा उत्पादन गरिएको चामलको उपभोगलाई प्रोत्साहन गर्न सक्दा हामी जापानीहरूको मुख्य खाना ’चामल’लाई ढुक्क भएर खान सक्ने हुन्छौं ।
कीटनाशक विषादी र रासायनिक मलको प्रयोग नहुने हुनाले वर्षाका समयमा भूमिगत पानी र नदीनाला प्रदुर्षित हुने छैनन् । अन्ततः समुद्र पनि स्वच्छ रहने छ । विषादीहरू वाष्पीकरण भएर वा रासायनिक मलहरू ग्यासमा परिणत भएर हावा प्रदूषित हुने वा विश्वव्यापी तापमान वृद्धिमा असर पुग्ने बारे चिन्ता लिनुपर्ने कुनै आवश्यकता रहने छैन । मधुमेह, एलर्जी र क्यान्सर जस्ता दीर्घ रोगहरू लाग्ने जोखिमका विभिन्न कारणहरूमध्ये खानालाई एक प्रमुख कारण हो भनेर मान्ने हो भने यस प्राकृतिक विधिद्वारा उत्पादन गरिएको खाना खाने गर्दा यस्ता रोग लाग्ने जोखिम पनि निकै नै कम हुनेछ ।
त्यति मात्र नभई प्राकृतिक तरिकाले उत्पादन गरिएका स्वच्छ र स्वस्थ फसलबाट राम्रो मूल्य आर्जन गर्न सकिन्छ । यस्ता खाद्य वस्तुको ठूलो परिमाणले देशकै निर्यातको आकार बढाउन समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
अर्को एउटा सानो कुरा खुसुक्क भनिहालौं, यसमा लागत पनि धेरै कम मात्रामा लाग्ने हुनाले पैसाको पनि राम्रै बचत हुनेछ । त्यसैले यो खेती विधि एक विशिष्ट प्रकृतिसम्मत खेती हुनुका साथै आर्थिक रूपमा पनि लाभदायक ठहरिने छ ।
यस किसिमको प्रस्तावलाई बैंकका कर्मचारीले त्यतिवेला पत्याउने कुरै थिएन, “किमुराजी, तपाईंलाई साँच्चै नै यस्तो खेती गर्न सक्छु जस्तो लाग्छ ? कीटनाशक विषादी प्रयोग नगरी कीराको रोकथाम कसरी होला ? रासायनिक मलविना फसल पनि कमजोर हुन्छ होला नि ? यस्तो खेतीले जीविका
चल्ने गरी उत्पादन होला त ?”
किसान साथीभाइ र अन्य उपभोक्ताहरू पनि यस्तै प्रकारका धेरै प्रश्नहरू तेस्र्याउने गर्थे ।
यो त्यसवेलाको मेरो लक्ष्य थियो । अहिले पनि खास केही परिवर्तन भएको छैन । यस्तो सपना जस्तो कुरा यदि साकार भयो भने जापान कस्तो हुन्छ होला ? संसार कसरी सकारात्मक रूपमा परिवर्तन हुन्छ होला ? यस्ता कुराहरू सोच्दा मात्र पनि मनमा अझै उत्साह भरिएर आउँछ ।
तर, यस्तो खेती साँच्चै नै सम्भव छ ।
यो सपना जस्तो कुरा मात्रै पटक्कै होइन भन्ने कुरामा विश्वास राखेर मैले स्याउको प्रकृतिसम्मत खेती सुरु गरेको थिएँ । त्यसपछि यस्तो खेती सबै प्रकारका बालीहरूमा विस्तार गरेर सफलता पनि हासिल गरिरहेको छु ।
तसर्थ, यो खेती विधि धेरैभन्दा धेरै किसानमाझ फैलाउन सकेमा पृथ्वीको भविष्य पनि बदलिने छ। यस कुरामा दिन(प्रतिदिन मेरो विश्वास बढ्दै गएको महसुस गरिरहेको छु।
प्राकृतिक उपज कुहिँदैन, बरु ओइलिन्छ ।
भान्सामा धेरै समय राखेका तरकारीहरू फ्रिजभित्र नै कुहिएर जान्छन् । खान बिर्सेका फलफूलहरू पनि बिग्रेर जान्छन् । यसलाई धेरैले सामान्य कुरा ठान्ने गरेका छन् । वास्तवमा प्राकृतिक रूपमा उब्जिएका तरकारी, फलफूल अझ व्यापक रूपमा भन्ने हो भने बोटबिरुवाहरूमा यस्तो अवस्था कहिल्यै देखा पर्दैन ।
गर्मी मौसमका दिनमा पहाड चढ्दै गर्दा तातोका कारणले रुखमा फलेको फल बिग्रेर बाटैभरि दुर्घन्ध फैलिएको वा पैदल यात्रा गर्दा घाँसे मैदानमा झरेका फूलहरू दुसीले ढाकिएको जस्ता कुराहरू सुन्नु भएको वा महसुस गर्नु भएको छ ? यदि तपाईं हिमाल वा उच्च पहाडी क्षेत्रको हुनुहुन्छ भने पक्कै पनि यस्तो भएको सुन्नु वा देख्नु भएको छैन होला ।
प्राकृतिक वनमा पाकेका फलहरू झरिरहन्छन् । झरिसकेपछि तिनीहरू बिग्रिने, कुहिने नभई सुकेर जान्छन् र अन्ततः माटामा परिणत हुन्छन् ।
यदि तपाईंले सहरको ठूलो सुपरमार्केटबाट किनेका काँक्रा वा सुन्तलाहरू बाहिरै छोडिदिनु भयो भने के ती सुकेर चाउरी पर्लान् ? होइन, पर्दैनन् । ती किन कुहिन्छन् र गलेर जान्छन् । खेतीमा कीटनाशक विषादी र रासायनिक मल जस्ता बाह्य वस्तुको प्रयोग नै यस्तो हुनुको मुख्य कारण हो ।
मैले स्याउबारीमा कीटनाशक विषादी र रासायनिक मल पटक्कै प्रयोग गरेको छैन । यसरी स्याउ फलाउने भएकाले ’किमुराको बारीको स्याउ एक वर्ष राख्दा पनि कुहिएन’ भनेर सबै जना अचम्ममा पर्ने गरेका छन् ।
मेरा स्याउहरू कुहिँदैनन् बरु ती समयसँगै सुक्दै र साना हुँदै जान्छन्; तिनीहरूबाट मिठो बासना आउँछ । अन्ततः सुकेका फलजस्तै हुन्छन् । यो प्रकृतिको नियम हो ।
कुमामोटो प्रान्तको आकिता अस्पतालका निर्देशकले २००७ देखि ४ वर्षसम्म साधारण कोठाको तापक्रममा भण्डारण गरेका स्याउहरू कुहिएका थिएनन् । ती सुकेको फलजस्तै भएका थिए। स्याउ मात्र नभई स्टूबेरी जस्ता अन्य फलफूल, तरकारी, धान वा जुनसुकै प्रकारको बालीमा परीक्षण गरे पनि कीटनाशक विषादी र रासायनिक मलरहित खेतीपातीबाट उब्जाएको खण्डमा तिनीहरू कुहिँदैनन्. ।
त्यसैले, खानेकुरा त हो, कुहिहाल्छ नि भन्ने कुरामा कुनै सत्यता छैन । बिग्रिने वा कुहिने खालको खाद्य पदार्थमा पैसा खर्च गर्ने बानी राम्रो होइन पनि । तसर्थ आफ्नो स्वास्थ्यको ख्याल गर्ने बानी बसाल्दै प्राकृतिक खानपिनको नैसर्गिक हक सुरक्षित गर्नका लागि सबैतिर आवाज उठाउनु पर्छ ।
अवश्य पनि तपाईंका त्यस्ता मागहरू किसानहरूले पूरा गर्न प्रयास गर्नेछन् । धान, तरकारी र फलफूल उत्पादनमा आफ्नो तनमन लगाउने छन् । मानिस मात्र नभई सबैको स्वास्थ्यसँग जोडिने भएकाले विश्व वातावरणको संरक्षणमा पनि यसले योगदान पु¥याउने छ ।
लेखकः ओकिनोरी किमुरा सम्पादनः डा.कृष्णप्रसाद पौडेल

प्रतिक्रिया दिनुहोस्