२०८३ असार २२

पोल्ट्री व्यवसायीलाई फेरि सास्ती

यतिबेला फेरि देशमा गरिखाने किसानहरुलाई बर्ड फ्लु जस्तो रोगको कारण संयौं पौल्ट्रि व्यवसायीहरुलाई त्रसिद बनाएको छ । बर्डफ्लु संक्रमण देखिएका लाखौं कुखुरा अण्डा र दानाहरु अहिले नष्ट गर्नु परेको अवस्था छ ।
बेला बेलामा लाग्ने यो रोगले नेपालको कुखुरापालन व्यसायीहरुालई सडकमै धकेली दिएको सम्झना आज पनि हामीसँग छ । व्यवसायीहरुको अर्र्बौको लगानी डुब्ने अवस्था यो रोगबाट भइरहेको छ ।
नेपालमा पछिल्ला तीन महिनायता फैलिएको बर्ड फ्लु (एच–५ एन–१) संक्रमण मोरङसहित ११ जिल्लाका ८२ स्थानमा पुष्टि भएको छ। रोग नियन्त्रणका लागि हालसम्म ५ लाख ६९ हजार ६५८ वटा पन्छि नष्ट गरिएको छ भने लाखौं अण्डा र ठूलो परिमाणमा दाना समेत नष्ट गरिएको छ ।
पशु सेवा विभागले आइतबार मात्रै जारी गरेको प्रेस विज्ञप्ति अनुसार चैत ४ गते मोरङ जिल्लामा पहिलो पटक एच–५ एन–१ संक्रमण पुष्टि भएपछि झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक गरी ११ जिल्लाका कुल ८२ स्थानमा रोग फैलिएको छ ।
विभागका अनुसार संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष ‘बर्ड फ्लु रोग नियन्त्रण कक्ष’ स्थापना गरी संघ, प्रदेश र स्थानीय तहको समन्वयमा जनशक्ति परिचालन गरिएको छ । रोग देखिएका स्थानमा तत्काल प्राविधिक टोली खटाई संक्रमित पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्री नष्ट गरेर सुरक्षित व्यवस्थापन गरिएको जनाइएको छ ।
बर्ड फ्लु नियन्त्रणका क्रममा हालसम्म ५ लाख ६९ हजार ६५८ वटा पन्छी नष्ट गरिएको छ । साथै ९ लाख ५९ हजार ३१३ वटा अण्डा र करिब १ लाख ९५ हजार ४५८ किलोग्राम दाना समेत नष्ट गरिएको विभागले जनाएको छ ।
संक्रमण पुष्टि भएपछि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला तथा राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाबाट परीक्षण कार्यलाई तीव्र बनाइएको छ । जोखिम मूल्याङ्कनका लागि आकस्मिक रोग अन्वेषण टोली (इडिट) तथा द्रुत कार्यदल (आरआरटी) परिचालन गरिएको विभागको दावी छ ।
प्रयोगशालामा प्राप्त नमुनाको परीक्षणका क्रममा बर्ड फ्लुबाहेक लो प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (एच–९ एन–२), रानीखेत तथा इ–कोलाई संक्रमण समेत विभिन्न पन्छिमा देखिएको विभागको छ । यस्ता रोगका कारण पनि पन्छिको मृत्यु हुन सक्ने भएकाले नियमित खोप, जैविक सुरक्षा तथा संक्रमण पुष्टि भएमा तत्काल नियन्त्रणका उपाय अपनाउन आग्रह गरेको छ ।
जंगली पन्छिसँग सम्पर्क हुन नदिन, पूराना अण्डाका क्रेट तथा उपकरण पुनः प्रयोग गर्दा पूर्ण निसंक्रमण गर्ने, पन्छी तथा पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र प्रयोग गर्ने तथा फार्ममा अस्वाभाविक रूपमा पन्छि बिरामी वा मरेको देखिए तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन विभागले अनुरोध गरेको छ ।
विभागले बर्ड फ्लु नियन्त्रणका लागि किसान, व्यवसायी, स्थानीय तह तथा सरोकारवाला सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
भक्तपुर जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकास्थित विभिन्न कुखुरा फार्ममा बर्डफ्लू संक्रमण देखिएपछि रोग नियन्त्रणका लागि कुखुरा नष्ट गरिएको पशु सेवा कार्यालय भक्तपुरले जनाएको छ ।
पशु सेवा कार्यालयका अनुसार चाँगुनारायण नगरपालिका–२, ८ र ९ का फार्ममा पालिएका ३८ हजार ७९५ कुखुरा नष्ट गरिएको छ । त्यस्तै सूर्यविनायक नगरपालिका–१, ४ र ८ का फार्ममा रहेका नौ हजार ३७८ कुखुरा पनि नष्ट गरिएको छ ।
जिल्लाभर हालसम्म कुल ४८ हजार १७३ कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू संक्रमण पुष्टि भएका फार्ममा रोग थप फैलिन नदिन आवश्यक नियन्त्रणका उपाय अपनाउँदै कुखुरा नष्ट गरिएको कार्यालयले जनाएको छ ।
विगत तीन महिनादेखि देशका विभिन्न भू–भागमा तीव्र रूपमा फैलिरहेको सङ्क्रामक रोग बर्डफ्लुलाई तत्काल नियन्त्रणमा लिन विभागले विशेष सक्रियता देखाएको छ ।
आसपासबाट पशुपन्छी ढुवानी रोक लगाउने निर्णय बाहेक बर्डफ्लु संक्रमण न्यूनिकरण गर्नका लागि अन्य प्रयास भइरहेको छ । अहिले पनि पशु सेवा विभागले विभागका उप–महानिर्देशकको प्रत्यक्ष नेतृत्वमा बर्ड फ्लु रोग नियन्त्रण कक्ष स्थापना गरी संघ, प्रदेश र स्थानीय तहको प्राविधिक तथा प्रशासनिक समन्वयमा नियन्त्रणका कार्यहरू सञ्चालन भइरहेको छ ।
गत चैत महिनामा मोरङमा पुष्टि भएयता बर्ड फ्लूबाट नेपालका झन्डै एक दर्जन जिल्ला प्रभावित भइसकेको अधिकारीहरूको दावी छ । काठमाडौं उपत्यका अहिले बर्ड फ्लूका लागि ‘हटस्पट’ बनेको छ ।
विगतमा पनि वि.सं २०७० तिर भक्तपुर जिल्लालाई बर्ड फ्लू सङ्क्रमणका कारण संकटग्रस्त घोषणा गर्नुपरेको थियो । त्यसयता यसपालि नै सबभन्दा गम्भीर किसिमले यो सङ्क्रमण उपत्यकामा देखा परेको अधिकारीहरूले बताएका छन् ।
उपत्यकाको ललितपुर जिल्लास्थित जावलाखेलको सदर चिडियाखाना असार ५ गतेदेखि बाहिरी आगन्तुकहरूको निम्ति बन्द गरिएको छ ।
वरपर काग र परेवा मरेको भेटिएका कारण चिडियाखानाका पन्छिमा पनि जेठ ३० गते परीक्षण गरिएको थियो । असार ४ गते बर्ड फ्लू सङ्क्रमण पुष्टि भएको राष्ट्रिय प्रकृति संरक्षणबाट जानकारी प्राप्त भएका थिए ।
“हालसम्म एउटा लाटोकोसेरो, एउटा गिद्ध, सावरी, अनि स्तनधारीमा ‘जङ्गल क्याट’ र ‘लेपर्ड क्याट’ मरेका छन् । अलि उमेर धेरै भएका र रोग प्रतिरोधी क्षमता कम भएका जनावरलाई असर गरेको हो,’’।
बर्ड फ्लुका कारण आज पन्छिजन्य व्यवसायमा संलग्न व्यवसायीहरु फेरि त्रास पैदा भएको छ । दुःख गरेर लगानी जुटाई व्यवसाय गरेका व्यवसायीहरु रोगजन्य संकटका कारण उनीहरु आफ्नो व्यवसायबाट हात धोएको कैयौं उदाहरण हामीसँग छन् ।
त्यसकारण पनि व्यवसायीहरुलाई हतोत्साही र निराश नहुने खालको वातावरण बनाउन, पुन आफ्नो व्यवसायलाई सुरक्षित महशुश गराउने सरकारको दायित्व भएकाले संयम् र धेर्यतापूर्वक अगाडि बढ्न हौसला प्रदान गर्ने काम सरकारको हो ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain