२०८३ असार २८

नेपाल डेरी एसोसिएसनको तेस्रो केन्द्रीय समिति बैठक बुटवलमा सम्पन्न

रुपन्देही, बुटवल, असार २७, नेपाल डेरी एसोसिएसनको तेस्रो केन्द्रीय समिति बैठक लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न भएको छ । बैठक पछि आयोजित पत्रकार सम्मेलनमा डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि पाँचवर्षीय रणनीतिक योजना तयार गरी कार्यान्वयनमा लैजाने निर्णय सार्वजनिक गरिएको छ ।
नेपालको डेरी एशोसिएसनका अध्यक्ष अध्यक्ष प्रल्हाद दाहालले नेपालको डेरी क्षेत्रलाई व्यवस्थित, प्रतिस्पर्धी र दीर्घकालीन रूपमा सक्षम बनाउन एसोसिएसनले आगामी पाँच वर्षका लागि स्पष्ट रणनीतिक मार्गचित्र तयार गर्ने निर्णय गरेको जानकारी दिएको छ । दाहालले डेरी उद्योगलाई उत्पादनमूलक उद्योगका रूपमा स्थापित गर्न विद्युत् महसुलमा सहुलियत, दुग्धजन्य पदार्थमा लाग्दै आएको मूल्य अभिवृद्धि कर हटाउने, डेरी उद्योगलाई परियोजनाका रूपमा मान्यता दिई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने, स्टकलाई धितो मानी कर्जा उपलब्ध गराउने, उद्योग दर्ता प्रक्रियामा एकरूपता ल्याउने तथा उद्योगी व्यवसायीको मनोबल बढाउने नीतिगत सुधार आवश्यक रहेको बताए । नेपाल डेरी एसोसिएसनले अब सातै प्रदेशमा घुम्ती शैलीमा केन्द्रीय समिति बैठक आयोजना गरी स्थानीय स्तरका समस्या प्रत्यक्ष रूपमा बुझ्ने, सम्बन्धित सरोकारवालासँग छलफल गर्ने र समाधानका लागि प्रभावकारी पहल गर्ने नीति अवलम्बन गरेको जानकारी दिएको छ ।

सल्लाहकार हिरा बहादुर केसी र पूर्व अध्यक्ष मेघराज भण्डारीले एसोसिएसनले प्रदेशमै पुगेर उद्योगी तथा किसानका समस्या सुन्ने र त्यसका आधारमा साझा धारणा निर्माण गर्ने निर्णय अत्यन्तै सकारात्मक र प्रशंसनीय भएको बताए ।
महासचिव हेमचन्द्र खनालले नेपाल डेरी एसोसिएसनले हालसम्म सातै प्रदेशअन्तर्गत २८ जिल्लामा संगठन विस्तार गरिसकेको र आगामी दिनमा थप जिल्लाहरूमा संगठन विस्तार गर्दै देशव्यापी सशक्त संगठन निर्माण गरिने जानकारी दिएका छन् ।
सचिव शिवहरि आचार्यले तेस्रो केन्द्रीय समिति बैठकबाट पारित निर्णयहरू सार्वजनिक गर्दै आगामी केन्द्रीय समिति बैठक कर्णाली प्रदेशको रारामा आयोजना गर्ने निर्णय भएको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिअनुसार नेपालमा करिब ६ हजार हाराहारी डेरी व्यवसाय सञ्चालनमा रहेका छन् । जसमध्ये करिब ४०० उद्योग औपचारिक रूपमा दर्ता भई लेवलिङ तथा प्याकेजिङसहित सञ्चालनमा छन् । डेरी क्षेत्रमा प्रत्यक्ष रूपमा करिब ६० हजार जनाले रोजगारी पाएका छन् भने करिब ६ लाख किसान परिवार यस व्यवसायमा निर्भर छन् । निजी क्षेत्रबाट ६० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ भने राज्यलाई वार्षिक करिब २ अर्ब रुपैयाँ राजस्व प्राप्त भइरहेको छ । दैनिक करिब ७६ लाख लिटर दूध उत्पादन हुने अनुमान गरिएको ।, जसबाट ग्रामीण अर्थतन्त्रमा दैनिक करिब १० करोड रुपैयाँ नगद प्रवाह भइरहेको पनि एसोसिएसनले जनाएको छ ।
एसोसिएसनले दुग्ध क्षेत्रमा पशु बीमाको प्रभावकारी व्यवस्था, औद्योगिक ग्राम स्थापना, चिस्यान तथा संकलन प्रणालीको सुदृढीकरण, विद्युत् महसुलमा सहुलियत, दुग्धजन्य पदार्थमा लाग्दै आएको भ्याट हटाउने, डेरी मेसिन तथा उपकरणमा भन्सार छुट, निर्यात प्रवद्र्धन, उद्योगमैत्री कानुन, एकद्वार दर्ता प्रणाली तथा उत्पादनमूखी अनुदान नीति लागू गर्न सरकारसँग माग गरेको छ ।
बैठकले आगामी पाँच वर्षको रणनीतिक योजना निर्माण, नेपाली डेरी उद्योगको गुणस्तर अभिवृद्धि, प्रविधि हस्तान्तरण, अन्तर्राष्ट्रिय अध्ययन तथा अवलोकन भ्रमण, संगठन विस्तार र संस्थागत सुदृढीकरण सम्बन्धी विभिन्न निर्णयहरू समेत पारित गरेको छ ।
नेपाल डेरी एसोसिएसनले सरकार, किसान, उद्योगी, सहकारी, उपभोक्ता तथा सम्पूर्ण सरोकारवालासँग सहकार्य गर्दै नेपालको दुग्ध क्षेत्रलाई आत्मनिर्भर, प्रतिस्पर्धी र निर्यातमुखी उद्योगका रूपमा विकास गर्न निरन्तर प्रतिवद्ध रहेको जनाएको छ ।
कार्यक्रमको सञ्चालन महासचिव हेमचन्द्र खनालले गर्नुभएको थियो भने स्वागत मन्तव्य लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेले व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain