कठमाडौं, भाद्र ११, कृषि, वन तथा पर्यावरण मन्त्री माननीय गीता चौधरीले बाढीबाट भएको क्षतिको तत्काल विवरण संकलन तथा आवश्यक समन्वयका लागि मन्त्रालयअन्तर्गतका पाँचवटा सम्बन्धित विभाग तथा निकायलाई द्रुत कार्य समूह गठन गरी तत्काल परिचालन गर्न निर्देशन दिनुभएको छ ।
मन्त्री चौधरीले सम्बन्धित निकायहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र विपद्बाट भएको क्षतिको स्थलगत विवरण तत्काल संकलन गरी उद्धार, राहत, पुनःस्थापना तथा आगामी कार्ययोजना निर्माणमा सहयोग पुग्ने गरी आवश्यक प्रतिवेदन तयार गर्न निर्देशन दिनुभएको हो ।
बाढीका कारण कृषि, वन, पशुपन्छी तथा वन्यजन्तुसँग सम्बन्धित क्षेत्रमा भएको जनधन तथा भौतिक क्षतिको यथार्थ विवरण तत्काल प्राप्त गर्न सम्बन्धित निकायलाई सक्रिय र समन्वयात्मक रूपमा परिचालन गर्न मन्त्री चौधरीले निर्देशन दिनुभएको छ ।
मन्त्रीको निर्देशनअनुसार गठित कार्य समूहमा योजना तथा विकास सहायता समन्वय महाशाखाका सहसचिव डा.हरि बहादुर के.सी., वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक धनञ्जय लामिछाने, कृषि विभागका उप–महानिर्देशक राजेन्द्र कोइराला, केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा.वरुण कुमार शर्मा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभद्र आचार्य तथा जल तथा मौसम विज्ञान विभागका उप–सचिव विभूति पोखरेल रहनुभएको छ ।
कार्यसमूहले सम्बन्धित क्षेत्रमा क्षतिको प्रकृति, परिमाण, प्रभावित क्षेत्र तथा तत्काल आवश्यकतासम्बन्धी विवरण संकलन गर्नेछ। संकलित विवरणका आधारमा तत्काल आवश्यक राहत, उद्धार तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिनेछ ।
मन्त्री चौधरीले विपद्बाट भएको क्षतिको वास्तविक र तथ्यपरक विवरण तत्काल प्राप्त गरी त्यसलाई राहत, पुनःस्थापना तथा आगामी कार्ययोजना निर्माणको आधार बनाउने उद्देश्यले सम्बन्धित निकायलाई प्रभावकारी, सक्रिय तथा समन्वयात्मक रूपमा काम गर्न निर्देशन दिनुभएको छ ।
—बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन ।
काठमाडौं भाद्र ११ गतेनै कृषि, वन तथा पर्यावरण मन्त्री माननीय गीता चौधरीले बाढीका कारण पशुचौपायामा रोग फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै आवश्यक रोकथाम तथा नियन्त्रणका उपाय तत्काल अवलम्बन गर्न पशु सेवा विभागलाई निर्देशन दिनु भएको छ ।
बाढीका कारण पशुचौपायाको आवतजावत तथा सम्पर्क बढ्न सक्ने र त्यसबाट संक्रामक रोग फैलिन सक्ने जोखिम रहेकाले पशु स्वास्थ्यमा विशेष निगरानी तथा सतर्कता अपनाउन उहाँले निर्देशन दिनु भएको हो ।
विशेषगरी रसुवा, नुवाकोट तथा धादिङ जिल्लामा विशेष टोली परिचालन गरी पशु स्वास्थ्यसम्बन्धी निगरानी, रोग पहिचान, रोकथाम तथा नियन्त्रणका आवश्यक कार्य अघि बढाउन पशु सेवा विभागलाई निर्देशन दिनु भएको छ ।
मन्त्री चौधरीले विपद्को समयमा मानव स्वास्थ्यसँगै पशु स्वास्थ्यलाई पनि समान प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ । सम्भावित पशुजन्य रोगको जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्दै तत्काल आवश्यक कदम चाल्नुपर्नेमा उहाँले जोड दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्