काठमाडौं, भाद्र ११, अखिल नेपाल किसान महासंघका संयोजक चित्रबहादुर श्रेष्ठ र सह–संयोजक रामकुमार ज्ञावलीको संयुक्त हस्ताक्षरमा विज्ञाप्ति प्रकाशित गरि हालै यही भाद्र १० गते बिहान रसुवाको भोटेकोशी नदीबाट अकास्मात आएको बाढी पहिरोको कारण देशमा अकल्पनीय क्षति प्रति गहिरो दुःख व्यक्त गरेको छ ।
विज्ञाप्तिमा २०८३ भदौ १० गते बुधवार बिहान रसुवाको भोटेकोशी नदीमा अकस्मात आएको अत्यन्त विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ हुँदै त्रिशूली–नारायणी नदी प्रणालीका तटीय क्षेत्रमा पु¥याएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति अखिल नेपाल किसान महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । हालसम्म प्राप्त विवरणअनुसार यस विपद्मा परी १६५ जनाको मृत्यू भएको, ८२६ जना सम्पर्कविहीन रहेको र दर्जनौँ घाइते भएको समाचारले हामीलाई दुःखी र चिन्तित तुल्याएको छ । हामी सबै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ । सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।
यस बाढीले मानव बस्ती, सडक, विद्यालय, पुल, जलविद्युत् लगायतका भौतिक पूर्वाधार तथा संरचनाहरू, खेतीयोग्य जमीन, घर, गोठ, खोर, पशुपन्छी तथा चौपाया, दुग्ध डेरी, खाद्यान्न, बाली, बिउबिजन, नहर, कुलो, तथा अन्य कृषि पूर्वाधारहरूमा व्यापक क्षति पु¥याएको छ । यसबाट विशेषगरी साना, पारिवारिक तथा गरिब किसान, पशुपालक, कृषि श्रमिक, भूमिहीन, सुकुम्वासी, दलित, आदिवासी–जनजाति तथा ग्रामीण समुदायको जीवन र जीविकोपार्जन गम्भीर संकटमा परेको छ । यस अवस्थामा हामी अखिल नेपाल किसान महासंघको तर्फबाट नेपाल सरकारसमक्ष यथासम्भव सम्पूर्ण जनशक्ति, प्रविधि र साधनस्रोतको प्रभावकारी परिचालन गरी तीव्रतापूर्वक सम्पर्कविहीनहरूको खोज तथा प्रभावितहरूको उद्धार गर्न, मृतक परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचार गर्न जोडदार माग गर्दछौं । साथै, विनाशकारी बाढी प्रभावित क्षेत्रका किसानहरूको बाली, खेतबारी, पशुचौपाया, गोठ, खोर, कृषि औजार, बिउबिजन र सिँचाइका संरचनाहरूको क्षतिबारे यथाशीघ्र लगत संकलन तथा मूल्याङ्कन गरी पर्याप्त क्षतिपूर्ति दिइयोस् । भूमिहीन, सुकुम्वासी, गरिब तथा जग्गा भाडामा लिई खेती गर्ने किसान, कृषि मजदुर, महिला, दलित, तथा सीमान्तकृत समुदायलाई प्राथमिकतासहित तत्काल राहत तथा पुनस्र्थापना अगाडि बढाइयोस् । बाढी प्रभावित किसानहरूलाई निःशुल्क बिउबिजन, पशु औषधि, पशुआहार, कृषि सामग्री तथा उत्पादन पुनःस्थापनाका लागि विशेष सहायता उपलब्ध गराइयोस् । प्रत्यक्ष प्रभावित किसानहरूको कृषि ऋणको किस्ता र ब्याज स्थगित गरी आवश्यकता अनुसार ऋण पुनर्तालिकीकरण तथा ब्याज सहुलियतको व्यवस्था गरियोस् । बाढीको कारणबारे वैज्ञानिक अध्ययन गरी हिमाली क्षेत्र, नदी प्रणाली र सीमापार विपद् जोखिमका लागि भरपर्दो पूर्वसूचना तथा निगरानी प्रणाली सुदृढ गरियोस् ।
हामी अखिल नेपाल किसान महासंघ र विषयगत किसान संगठनहरूका सम्पूर्ण सदस्यहरू तथा शुभेच्छुकहरूलाई प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहयोगमा सक्रियतापूर्वक सहभागी हुन र आवश्यक योगदान गर्न हार्दिक आह्वान गर्दछौं । साथै, नेपाल सरकार र सत्तारूढ दललाई संवेदनशील विपद्को घडीलाई निजी वा दलगत स्वार्थका लागि राजनितीकरण तथा स्टन्टबाजी नगरी जनहितमा तीव्रतापूर्वक कार्य गर्न र आम जनसमुदायलाई अपुष्ट सूचना र अफवाहको पछि नलागी आधिकारिक सूचनाको पालना गर्न विशेष अनुरोध गर्दछौं । यस राष्ट्रिय विपत्तिको घडीमा हामी सम्पूर्ण प्रभावित किसान, श्रमिक तथा जनसमुदायसँग दृढ ऐक्यवद्धता व्यक्त गर्दछांै ।

प्रतिक्रिया दिनुहोस्