२०८३ भाद्र १६

भाद्र १० गते भोटेकोशी–त्रिशूली नदीमा विनाशकारी बाढी आउनुको कारण

काठमाडौं भाद्र १६, बिहान लाङटाङ लिरूङ हिमालको उत्तरी भिरालो पाखामा बरफ मात्र फुटेको थिएन, हिमनदीको विशाल भाग र त्यो हिमनदी मुनिको चट्टानी पहाडको ठूलो हिस्सा नै फुटेर तल खसेको थियो । त्यसले ल्याएको ढुंगा, माटो र गेग्रानयुक्त बहाव ल्हेन्दे खोलामा मिसिएपछि पानीको ठूलो परिमाण थपियो । र, झन् ठूलो लेदो–गेग्रानयुक्त बाढी बन्यो ।
लाङटाङमा पहाड खसेपछि सुरूआती ७ मिनेटमा के–के भए, त्यसबारे विस्तारमा चर्चा ग¥यौं ।
अहिले एउटा नयाँ वैज्ञानिक तथ्य बाहिर आएको छ, जसले विपद् सुरू हुनुभन्दा अगाडिदेखि लाङटाङको त्यस क्षेत्रमा भइरहेको भौगर्भिक हलचलको कथा भन्छ ।
यो भौगर्भिक हलचलले नै भदौ १० गतेको विपद् निम्त्याउने आधार तयार पारेको आंकलन गरिएको छ ।
एक अमेरिकी भौगर्भिक वैज्ञानिकले राडार इमेज विश्लेषणका आधारमा विनाशकारी बाढी आउनुभन्दा ७ दिनअघिसम्म लाङटाङको उच्च हिमाली क्षेत्रको जमीन विस्तारै तल सरिरहेको बताएका छन् ।
अमेरिकाको भर्जिनिया टेक विश्वविद्यालयका भूगर्भ वैज्ञानिक तथा सहायक प्राध्यापक मनुचेहर सिर्जाइले अगस्ट ३० (आइतबार)मा यस्तो विश्लेषण सार्वजनिक गरेका हुन् ।
उनले युरोपको ‘कोपरनिकस सेन्टिनल–१’ स्याटलाइटबाट प्राप्त राडार इमेज हेरेर अगस्ट २६ (भदौ १०) मा हिमनदी र त्यसमुनिको चट्टानी पहाड खस्नुअघि नै त्यो क्षेत्र विस्तारै तलतिर सरिरहेको विश्लेषण गरेका छन् ।
उनले यस्तो विश्लेषण गर्न सन् २०२६ जनवरी ८ देखि अगस्ट १९ सम्म स्याटलाइटबाट प्राप्त तस्विर र तथ्याङ्कहरू केलाएका छन् ।
यसबीच त्यहाँको जमीन प्रतिमहिना करिब १० मिलिमिटरका दरले तल सरिरहेको उनको भनाइ छ ।
भूगर्भ वैज्ञानिक सिर्जाइले अन्तिम तथ्यांक संकलन गरेको ७ दिनपछि नै लाङटाङ क्षेत्रमा हिमनदी फुटेर त्यो सँगसँगै चट्टानी पहाडको ठूलो हिस्सा तल खसेको थियो । र, विनाशकारी बाढी निम्त्याएको थियो ।
उनले ‘एक्स’ (ट्विटर) मार्फत सार्वजनिक गरेको आफ्नो विश्लेषणमा लेखेका छन्, ‘हिमचट्टान खस्नुअघि नै उक्त भिरालो हिमाली पाखामा १० एमएम प्रतिमहिनाका दरले जमीन तल सरिरहेको देखिन्छ ।’
स्रोतः समाचार एजेन्सीको सहयोग

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain