२०८२ पुष २६

नेपाल फुड फोरम २०२५ सम्पन्न : कृषि खाद्य प्रणालीमा लगानी, नवप्रवर्तन र युवा नेतृत्वलाई गति दिँदै

धनबहादुर मगर
काठमाडौं, मंसीर २९, डिसेम्बर १५, नेपाल फुड फोरम २०२५ (NFF २०२५) ले समावेशी, जलवायु–अनुकूल तथा लगानीमैत्री कृषि खाद्य प्रणाली तर्फको नेपालको यात्रालाई अघि बढाउने उद्देश्यले सरकारी निकायका उच्च पदाधिकारी, युवा नवप्रवर्तक, निजी क्षेत्रका प्रतिनिधि, अनुसन्धानकर्ता, आदिवासी समुदायका प्रतिनिधि तथा विकास साझेदारहरूलाई एक ठाउँमा ल्याएको छ ।
संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (Food and Agriculture Organization of the United Nations-FAO) तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय (Ministry of Agriculture and Livestock Development-MoALD) को संयुक्त आयोजनामा ललितपुरस्थित होटल हिमालयमा यो कार्यक्रम आयोजना गरिएको छ ।
नेपालको कृषि लगानी दशक (२०२४–२०३४) को मार्गदर्शनमा आधारित तथा खाद्य तथा कृषि संगठनको विश्वव्यापी कार्यसूची अनुरूप आयोजना गरिएको यो फोरम साझेदारी तथा सहकार्यको प्रवद्र्धन, युवामुखी नवप्रवर्तनलाई प्रोत्साहन तथा खाद्य सुरक्षा, ग्रामीण जीविकोपार्जन र दिगो आर्थिक वृद्धिलाई सुदृढ गर्ने विस्तारयोग्य समाधानहरू प्रस्तुत गर्ने राष्ट्रिय मञ्च बनेको छ । फोरमको उद्घाटन सत्रमा कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय डा. मदन प्रसाद परियारले कृषि क्षेत्रमा नवप्रवर्तन, लगानी र समावेशीतामार्फत आधुनिकीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। उहाँले कृषि–खाद्य प्रणाली रूपान्तरणमा युवा, महिला तथा आदिवासी समुदायको सक्रिय सहभागिता महत्त्वपूर्ण रहेको बताउँदै दीर्घकालीन उत्पादकत्व र उत्थानशीलताका लागि समावेशी सहभागीता अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ ।
सरकारको नयाँ दृष्टिकोण प्रस्तुत गर्दै माननीय मन्त्री डा. परियारले युवाहरू नेपालको कृषि क्षेत्रको भविष्यको मेरुदण्डका भएको र विशेषगरी कृषि लगानी दशक (२०२४–२०३४) अन्तर्गत उत्पादन, प्रतिस्पर्धा तथा दिगोपनामा सुधार ल्याउन युवाको भूमिका निर्णायक रहने बताउनुभएको छ। साथै, सकारात्मक नीतिहरू, उद्यमशीलता प्रवद्र्धन, सीप विकास, वित्तीय पहुँच तथा सुदृढ बजार पहुँचका माध्यमबाट युवाका लागि सकारात्मक वातावरण बनाउने निरन्तर प्रयासमाथि उहाँले प्रकाश पार्नुभएको
छ।
माननीय मन्त्रीले युवाले नेतृत्व गरेका कृषि व्यवसाय तथा जलवायु–अनुकूल कृषि अभ्यासहरूले रोजगारी सिर्जना, कृषि उत्पादनको मूल्य अभिवृद्धि तथा ग्रामीण अर्थतन्त्रको पुनर्जीवनमा महत्त्वपूर्ण योगदान पुरÞ्याइरहेको उल्लेख गर्नुभएको छ। न्यायपूर्ण र कसैलाई नछुटाउने किसिमको कृषि रूपान्तरणका लागि युवा महिला, आदिवासी युवा तथा पहाडी र दुर्गम क्षेत्रका युवाको समावेशीता सुनिश्चित गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभएको छ।
उद्घाटन सत्रमा सम्बोधन गर्दै खाद्य तथा कृषि संगठनका नेपाल तथा भुटानका प्रतिनिधि श्री केन शिमिजुले नेपालको कृषि– खाद्य प्रणालीको भविष्य निर्माणमा युवाको भूमिकामाथि विशेष जोड दिनुभएको छ। उहाँले युवाहरू अब विकास कार्यक्रमका लाभग्राही मात्र नभई कृषि–खाद्य प्रणाली रूपान्तरणका प्रमुख साझेदार तथा नेता भएको धारणा व्यक्त गर्नुभयो । युवामा रहेको नवप्रवर्तनशील सोच, प्राविधिक सीप, तथा उद्यमशील ऊर्जाले जलवायु परिवर्तन, खाद्य असुरक्षा, ग्रामीण बेरोजगारी तथा वैदेशिक पलायनजस्ता चुनौती समाधान गर्न महत्त्वपूर्ण योगदान पुरÞ्याउने उहाँको भनाइ थियो ।
श्री शिमिजुले युवालाई ज्ञान, नवप्रवर्तन गर्ने मञ्च, लगानीका अवसर तथा नीतिगत संवादमा पहुँच प्रदान गर्दै आएका वल्र्ड फुड फोरम तथा ह्यान्ड–इन–ह्यान्ड पहललगायतका विश्वव्यापी तथा राष्ट्रिय पहलका माध्यमबाट युवाहरूको सशक्तिकरण गर्नमा खाद्य तथा कृषि संगठनको प्रतिबद्धता निरन्तर रहेको जानकारी दिनुभएको छ। युवाले नेतृत्व गरेका कृषि व्यवसाय, कृषि–प्रविधि समाधान तथा हरित रोजगारीमा लगानी गर्नु दिगो तथा समावेशी कृषि–खाद्य प्रणाली निर्माणको आधार भएको उहाँले उल्लेख गर्नुभएको छ। दीर्घकालीन खाद्य सुरक्षा र ग्रामीण समृद्धिको लागि उत्पादन र प्रशोधनदेखि व्यापार प्रवर्धन, डिजिटल नवप्रवर्तन र सुशासनसम्मको सम्पूर्ण मूल्य शृङ्खलामा अर्थपूर्ण युवा संलग्नता महत्त्वपूर्ण रहेको कुरामा उहाँले जोड दिनुभएको छ।

खाद्य तथा कृषि संगठनको ८०औँ वार्षिकोत्सवको सन्दर्भ उल्लेख गर्दै श्री शिमिजुले खाद्य तथा कृषि संगठन र नेपालको दीर्घकालीन साझेदारीमाथि प्रकाश पार्नुभएको छ। उहाँले नेपाल फुड फोरम २०२५ ले उत्पादन वृद्धि, पोषणमा सुधार, वातावरणमा सुधार तथा समृद्ध जीवनयापनसम्बन्धी खाद्य तथा कृषि संगठनको दृष्टिकोणलाई व्यवहारमा उतार्ने प्रतिबद्धता झल्काएको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसंघको नेपालस्थित आवासीय संयोजक हाना सिंगर ह्याम्डीले कृषि खाद्य प्रणाली रूपान्तरणका लागि बहुक्षेत्रीय तथा एकीकृत दृष्टिकोण आवश्यक रहेको औंल्याउनुभएको छ। उहाँले दिगो खाद्य प्रणाली दिगो विकास लक्ष्य (क्म्न्क) प्राप्तिको केन्द्रमा रहेको उल्लेख गर्दै कृषि, पोषण, जलवायु, स्वास्थ्य तथा सामाजिक संरक्षणबीच सहकार्य सुदृढ गर्न आह्वान गर्नुभएको छ। कोही पनि नछुटुन् भन्ने कुरा सुनिश्चित गर्नका लागि विकासका कार्यक्रमको केन्द्रमा मानिस, र विशेष गरी युवा, महिला र सीमान्तकृत समुदायलाई राख्नुपर्ने आवश्यकतामाथि उहाँले जोड दिनुभएको छ।
वन तथा वातावरण मन्त्रालयको प्रतिनिधित्व गर्दै मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले कृषि, जैविक विविधता संरक्षण र जलवायु उत्थानशीलताबीचको घनिष्ठ सम्बन्धमाथि प्रकाश पार्नुभएको छ। उहाँले नेपालको समृद्ध प्राकृतिक स्रोतसाधनको सुरक्षा गर्दै खाद्य सुरक्षालाई सुदृढ पार्न प्रकृतिप्रति सकारात्मक कृषि, दिगो भूमि व्यवस्थापन र पारिस्थितिकीय प्रणालीमा आधारित दृष्टिकोणलाई प्रवद्र्धन गर्नु महत्त्वपूर्ण रहेको बताउनुभएको छ।
त्यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपक कुमार खरालले कृषि खाद्य रूपान्तरणलाई अगाडि बढाउन सरकारले प्रमाणमा आधारित नीति निर्माण, नवप्रवर्तन र साझेदारीमा ध्यान केन्द्रित गरेको बताउनुभएको छ। उहाँले कृषि मूल्य शृङ्खलाहरूमा उत्पादकत्व, उत्थानशीलता र दिगोपन सुधार गर्न विज्ञान, प्रविधि र तथ्याङ्कको भूमिकामाथि प्रकाश पार्नुभएको
छ ।
फोरमका प्यानल छलफल तथा विषयगत सत्रहरूमा कृषि खाद्य प्रणाली रूपान्तरणलाई तीव्रता दिनका लागि व्यावहारिक उपायहरूमाथि विस्तृत छलफल गरिएका छन्। प्यानलहरूले उत्पादकत्व र उत्थानशीलता सुधार गर्न विज्ञान र नवप्रवर्तनको भूमिका; विपद् जोखिम न्यूनीकरण र प्रारम्भिक चेतावनीमा डिजिटल प्रविधिहरू र डेटा संचालित उपकरणहरू र खाद्य प्रणाली र जैविक विविधताको सुरक्षामा जलवायु–कुशल र प्रकृतिप्रति सकारात्मक अभ्यासहरूमाथि प्रकाश पारेका छन्। छलफलहरूले एक स्वास्थ्य’ ढाँचा भित्र एन्टिमाइक्रोबियल प्रतिरोधलाई सम्बोधन गर्ने, खाद्य सुरक्षालाई सुदृढ पार्ने र पशुपन्छी र जल–कृषि प्रणालीको दिगोपनालाई प्रवद्र्धन गर्ने महत्त्वमा पनि जोड दिएका छन्।
युवाले नेतृत्व गरेका प्यानल तथा अनुभव आदान–प्रदान गर्ने सत्रहरूमा नवीन कृषि व्यवसाय, कृषि प्रविधि समाधान र समुदायमा आधारित पहलहरू प्रस्तुत गरिएका छन्। यस्ता नवप्रवर्तनलाई विस्तार गर्न वित्तीय पहुँचमा सुधार, इन्क्युबेसन सहयोग, बजार सम्पर्क र नीतिमा स्थानहरू आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।
ठूला अलैंची, अदुवा, हिमाली मह, याक चीज, उच्च पहाडी आलु र पाङ्गासियस माछाजस्ता उच्च प्राथमिकताका वस्तुहरू लगायत खाद्य तथा कृषि संगठनको ह्यान्ड–इन–ह्यान्ड पहलका लगानीका लागि उपयुक्त कृषि व्यवसायका अवसरहरू फोरममा प्रस्तुत गरिएका छन्। यी मूल्य शृङ्खलाले, विशेषगरी हिमाली र सीमान्तीकृत क्षेत्रमा ग्रामीण रोजगारी सिर्जना, निर्यात प्रवद्र्धन र जलवायु उत्थानशीलता सुदृढ गर्न सक्ने सम्भावनामाथि प्रकाश पारिएको छ।
जैविक विविधताको संरक्षकको रूपमा युवा, ग्रामीण महिला, अपाङ्गता भएका व्यक्ति तथा आदिवासी समुदायको परम्परागत ज्ञान, नेतृत्व र भूमिकालाई मान्यता दिँदै उहाँहरूका आवाजलाई विशेष सत्रमार्फत उजागर गरिएका छन्। परम्परागत ज्ञान र वैज्ञानिक दृष्टिकोणको संयोजनमार्फत फोरममा समावेशी र स्थानीय सन्दर्भमा आधारित कृषि खाद्य विकासका मार्गहरू पहिचान गरिएका छन्।
विभिन्न क्षेत्रका सरोकारवालालाई एउटै मञ्चमा ल्याएर नेपाल फुड फोरम २०२५ ले सरकारी निकाय, निजी क्षेत्र, अनुसन्धान संस्था र विकास साझेदारबीच सहकार्य सुदृढ गरेको छ। फोरमले नीति संवाद, लगानी परिचालन र युवामुखी पहलमा योगदान दिने अपेक्षा गरिएको छ, जसले वर्तमान तथा भावी पुस्ताका लागि दिगो, समावेशी र उत्थानशील कृषि–खाद्य प्रणाली निर्माणमा सघाउने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain