२०८३ जेष्ठ २१

स्वास्थ्यलाई राम्रो बनाउने प्राचीन अन्नहरू

‘प्राचीन अन्न’ भनेका त्यस्ता वस्तु हुन् जो सयौं वर्षदेखि अपरिवर्तित छन्, न कि गहुँजस्ता अन्न जसलाई मानवजातिले हजारौं वर्षदेखि विविध शैलीमा उत्पादन गरेका छन् ।
प्राचीन अन्नले त तिनका जङ्गली पुर्खाकै आनुवंशिक गुण कायम राखिरहेका हुन्छन् ।
अचेल तिनको लोकप्रियता चाहिँ बढेको छ । तिनले स्वास्थ्यलाई कैयन् किसिमका फाइदा गर्ने दाबी गरिएका छन् ।
उदाहरणका लागि, आधुनिक वा परिष्कृत अन्नभन्दा तिनमा ज्यादा पोषक तत्व रहने ठानिन्छ ।
तर के ती प्राचीन अन्न अहिलेका प्रचलित अन्नबालीभन्दा साँच्चिकै फाइदाजनक हुन् ?
प्राचीन र आधुनिक अन्नबालीः
पोषणसम्बन्धी अनुसन्धानहरूले अहिले मानिसको खानाको ठूलो हिस्सा बनेको आधुनिक अन्न तथा अलि कमै उपलब्ध प्राचीन अन्नबीच अन्तरहरू रहेको देखाएका छन् ।
ती अधिकांश अप्रशोधित वा प्रशोधित दुबै किसिमले उपभोग गर्न सकिन्छ । तर आधुनिक अन्नलाई चाहिँ समयक्रममा अपनाइएका कृषि अभ्यासमार्फत् धेरै उत्पादकत्व हुने वा मिठो स्वाद हुने प्रजातिका रूपमा विकास गरिएका हुन्छन् ।
हामीले अचेल खाने गहुँ वा मकैलाई हजारौं वर्षदेखि किसानहरूले ‘क्रसब्रीड’ गरेका अर्थात् फरक प्रजाति मिसाएर विकास गरेका छन् ।
मकैको उदय मेक्सिकोमा पाइने ‘टिओसिन्टे’ भनिने जङ्गली घाँस प्रजातिबाट भएको मानिन्छ, जसको बियाँ सानो हुने गथ्र्यो न कि अहिलेका घोगाजत्रा । त्यस्तै आधुनिक गहुँको विकास ‘एमर’ र ‘स्पेल्ट’जस्ता प्राचीन गहुँ प्रजातिको हजारौं वर्षदेखि गरिएका ‘ब्रीडिङ’मार्फत् भएको हो ।
मानिसले प्राचीन कालमा सबैभन्दा पहिले खेती गर्न थालेको अन्नबालीमा ‘एमर’ पनि एक भएको अनुसन्धानकर्ताहरूले बताएका छन् । त्यसको खेती लेभान्ट क्षेत्र (हाल भूमध्यसागरको पूर्वमा पर्ने पश्चिम एशियाका भूभाग)मा इसापूर्व ९,७०० वर्ष अगाडिदेखि भएको बताइन्छ । निओलिथिक कृषिको विकाससँगै त्यसको विस्तार बाँकी विश्वमा भएको मानिन्छ ।
आधुनिक खानपानमा धान, मकै र गहुँ सबैभन्दा प्रचलित छन् ।
प्राचीन अन्न भन्नाले मानिसले हस्तक्षेप नगरेका र प्राचीन गुणसहितका अन्न हुन् । अनुसन्धानबाट के देखिएको छ भने स्पेल्टको खेती निओलिथिक कालदेखि नै करिब १२ हजार वर्ष अगाडिदेखि हुँदै आएको छ र त्यसमा जानाजान कुनै परिवर्तन गराइएको छैन ।
मानिसले लेखेका प्राचीन ग्रन्थहरूमा जौबारे उल्लेख गरिएको भेटिन्छ । मेसोपोटामिया क्षेत्रमा चार हजार वर्षअगाडि लेखिएका दस्तावेजमा पनि । लगभग सोही समयमा मेक्सिकोबाटै शुरु भएको ‘चिआ सीड’लाई आज्टेकहरूले खेती गर्दै थिए ।
आधुनिक मानवले १९औं शताब्दीको अन्त्यतिर तथा २०औं शताब्दीको शुरुतिर ती प्राचीन अन्नबारे फेरि सोधखोज गर्न थालेको यूकेको अक्स्फोर्ड स्कूल अफ आर्केओलजीको युरोपिअन आर्केओलजीका प्राध्यापक एमी बोगार्डले बताइन् । पुरातात्विक उत्खननमा कतिपय प्राचीन अन्न फेला परे, जुन अहिले त्यही रूपमा खेती गरिँदैनन् ।
ती अन्न डढेका हालतमा फेला परेका थिए । अर्थात् हाम्रा पुर्खाले ती अन्न पकाउँथे, उनले भनिन् ।
उनी तथा सहकर्मीहरूले त्यसरी फेला परेका प्राचीन अन्नका हजारौं नमुनाको अध्ययन गरेर प्राचीन खेती कर्म तथा माटोको अवस्थाबारे जानकारी बटुले ।
पुनरुत्थानको सम्भावना कति ?
अहिले ती कैयन् अन्नलाई पुनः आधुनिक थालीमा फर्काइँदै छ । कतिपय त्यस्ता प्रजातिलाई संरक्षित हैसियत दिइएको छ ।
तथापि कृषकहरूका निम्ति ती आकर्षक छैनन् । न्यूक्यासल यूनिभर्सिटीका खाद्य तथा मानव पोषणका इमेरिटस प्रोफेसर क्रिस सीलले बताएअनुसार उनीहरू आधुनिक प्रजाति नै खेती गर्न रुचाउँछन् किनकि तिनको उत्पादकत्व धेरै हुन्छ ।

“आधुनिक कृषि परिस्थितिमा प्राचीन अन्न राम्ररी सप्रँदैनन्,’’ उनले भने ।
गहुँका कतिपय प्राचीन प्रजाति अलि अग्ला हुन्छन् जब कि आधुनिक प्रजाति छोटो हुन्छन् । सीलका अनुसार अग्ला प्रजातिहरू हावा लाग्दा ढल्ने तथा भाँचिने हुँदा उत्पादनमा कमी आउँछ ।
साथै रोटी बनाउने काममा ती प्राचीन प्रजाति उति उपयोगी नहुने अमेरिकाको सेन्ट क्याथरिन यूनिभर्सिटीकी खाद्य तथा पोषणकी इमेरिटस प्रोफेसर जुली मिलर जोन्सले बताइन् ।

कुनै पनि किसानले पहिलो प्राथमिकता उत्पादकत्व अनि दोस्रो चाहिँ त्यसबाट कति राम्रो रोटी बन्छ भन्नेमा दिने उनले बताइन् । के प्राचीन अन्न आधुनिकभन्दा साँच्चिकै स्वास्थ्यकर हुन् ?
प्राचीन अन्नको एक प्रमुख फाइदा भनेको तिनमा थोरै वा शून्य ‘ग्लूटन’ हुनु हो । कोदो गहुँभन्दा भिन्नै घाँसे प्रजातिमा पर्छ जब कि किनोआ चाहिँ पालुङ्गोजस्ता साग समूहमा पर्ने एक किसिमको बीउ हो । अर्थात् ग्लूटनले नसहने मानिसहरूले किनोआ खान सक्ने सीलले बताए ।
केही अनुसन्धानले किनोआको उपयोगले टाइप टु डाइविटिजको शुरुवाती लक्षण देखिएकाहरूमा सुधार आएको देखाएको उनले बताए ।
उदाहरणका लागि, एउटा अध्ययनमा ३७ जना पुरुषलाई चार सातासम्म प्रत्येक दिन किनोआको पिठोबाट बनाइएको पाउरोटी खान दिइयो भने अर्को समूहका मानिसलाई सेतो पाउरोटी खान दिइयो । पछि जाँच्दा किनोआ खानेहरूको रगतमा सुगरको स्तर सेतो पाउरोटी खानेहरूको तुलनामा कम पाइयो ।
सन् २०२० मा अनुसन्धानकर्ताहरूले अन्नका आधुनिक प्रजातिहरूको पोषण गुण खस्किएको प्रमाण भेटेनन् । केही अनुसन्धानमा चाहिँ सन् १९६० पछाडि अन्नमा आइरन, जिङ्क र म्याग्नेसिअमजस्ता खनिज तत्व निकै कम भेटिएको थियो ।

पेरुभियन एन्डिज क्षेत्रमा हजारौं वर्षदेखि किनोआको खेती हुँदै आएको छ ।
“प्राचीन अन्नलाई लिएर बढाइँचढाईं चर्चा भएका छन्,“ मिलर जोन्सले भनिन् । उनका अनुसार ग्लूटनले नसहने वा ‘एलर्जी’ हुने मानिसहरूका निम्ति सायद ती फाइदाजनक होलान् तर त्योभन्दा बढ्ता चर्चा अनावश्यक हो ।
तथापि प्राचीन अन्न र त्यसको स्वास्थ्यमा प्रभाव विषयमा पर्याप्त अनुसन्धान नै नभएको सीलले बताए ।
उनका अनुसार प्राचीन अन्नको सेवन बढ्ता फाइदाजनक हुनसक्ने एउटा कारण चाहिँ त्यसलाई हामीले विनाप्रशोधन नै उपयोग गर्ने धेरै सम्भावनाले गर्दा हो ।
“प्रशोधित गहुँभन्दा यसमा धेरै फाइवर हुन्छ र धेरै खनिज तथा भिटामिन हुन्छन्,’’ उनले भने ।

जलावायु परिवर्तनसँग सम्बन्ध :
आजको दुनियाँमा अन्न उत्पादनलाई प्रभाव पार्ने एक मुख्य पक्ष भनेको जलवायु परिवर्तन नै रहेको र प्राचीन अन्नको पुनरोदयका पछाडि पनि यो एउटा कारण रहेको सीलले बताए । कतिपय प्राचीन अन्नप्रजाति विषम वातावरणमा पनि हुर्कन सक्ने क्षमता भएको हुने र तिनलाई कम कीटनाशक आवश्यक पर्ने बताइन्छ । त्यसैले भविष्यमा हामीलाई भरपर्दो खाद्य आपूर्ति सुनिश्चित गरिरहन तिनको भूमिका महत्वपूर्ण हुन सक्छ ।
“किसानहरूले कुन चाहिँ प्रजातिले सुक्खा अवस्था बढ्ता झेल्न सक्छ भनेर हेरिरहेका हुन्छन्,’’ सीलले भने । टर्कीको एउटा क्षेत्रमा जलवायुका कारण सुक्खाग्रस्त क्षेत्रमा कसरी प्राचीन गहुँका प्रजाति उपयोग गरेर माटो सुधार्न सकिन्छ भनेर साना किसानहरू लागिपरेका छन् । त्यस्तै पश्चिम अफ्रिकामा सुक्खा झेल्न सक्ने प्राचीन फोनियो अन्नलाई पुनस्र्थापित गर्न अनुसन्धानकर्ताहरू प्रयासरत छन् ।
किनोआः
पोषणको मामिलामा प्राचीन अन्न भन्नेबित्तिकै बढाइँचढाइ गरिरहन आवश्यक नहुन सक्छ । बरु सबै किसिमका अन्नको मिश्रण, सकेसम्म प्राचीन कालमा जस्तै अप्रशोधित, प्रयोग गर्नु महत्वपूर्ण हुने विज्ञहरूले बताएका छन् ।
“हामीले बेवास्ता गरेका थुप्रै अन्नबालीका प्रजाति छन्,’’ बोगार्डले भनिन् । “प्राचीन खेतीपातीमा अन्नलाई अन्य खानासँग सन्तुलित पारिन्थ्यो ।’’
मिलर जोन्स पनि प्राचीनसहित थुप्रै प्रकारका अन्न खाँदा तिनमा उपलब्ध हुने सबै खालका सूक्ष्म पोषणतत्वबाट फाइदा पुग्नेमा सहमत छिन् । “यदि तपाईं सबै किसिमका अन्न खानुहुन्छ भने तपाईं सबै खालका भिटामिन पाउनुहुन्छ,’’ उनले भनिन् । “विविधता नै उत्तम रणनीति हो ।’’
साभारः १ मई २०२६ मा प्रकाशित जेसिका ब्राड्लीद्वारा लिखित विविसी नेपाली सेवाबाट लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain