धनबहादुर मगर/निराज रानाभाट,
काठमाडौं असार १५,‘‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’’ मूल नाराका साथ ‘२३ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३’ विभिन्न कार्यक्रमहरुको आयोजना गरी देशैभर मनाएको छ । जलवायु परिवर्तनको कृषि क्षेत्रमा नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै धान खेतीमा जलवायु अनुकूलन प्रविधिको अनुसन्धान, विकास, प्रसार तथा प्रयोगलाई प्रोत्साहित गर्नु यस वर्षको दिवसको मुख्य सन्देश रहेको छ ।
नेपालमा ४१ लाख ३१ हजार कृषक घरधुरी मध्ये २७ लाख ६५ हजार घरधुरी धान खेतीमा आवद्ध रहेका छन् र कूल खेती गरिएको जमिन मध्ये ५४ प्रतिशतमा धान खेती हुने गरेको छ (राष्ट्रिय कृषि गणना, २०७८)। कृषि गार्हस्थ्य उत्पादनमा धानबालीको करिब १३ प्रतिशत हिस्सा रहेको तथा कूल खाद्यान्न बाली उत्पादनमा धानबालीको हिस्सा ५० प्रतिशत रहेको छ (कृ.प.वि.म., २०८२)। धानबालीको उत्पादनले मात्रै नेपालको कूल गार्हस्थ्य उत्पादनमा करिब २ खर्व रुपैयाँ बराबरको योगदान गरेको छ । नेपाली कृषक परिवारको जनजीवीका, कृषि उत्पादन, मुलुकको समग्र खाद्य सुरक्षा र अर्थतन्त्रमा योगदानका कारण नेपाल सरकारको दिर्घकालीन तथा आवधिक योजना एवं वार्षिक विकास कार्यक्रममा धानबाली प्राथमिकता प्राप्त बाली रहँदै आएको छ ।
आ.व. २०७६÷७७ मा १४ लाख ५८ हजार ९ सय १५ हेक्टरमा ५५ लाख ५० हजार ८ सय ७८ मे.टन धान उत्पादन भएकोमा आ.व. २०८१÷८२ मा १४ लाख २० हजार ६ सय ३६ हेक्टरमा ५९ लाख ५५ हजार ४ सय ७६ मे.टन धान उत्पादन भएको थियो । विगत पाँच वर्षमा धानबालीको उत्पादकत्व ३.८० मे.टन प्रति हेक्टरबाट वृद्धि भई ४.१९ मे.टन प्रति हेक्टर भएको छ । पछिल्लो वर्षहरुमा धानबालीको क्षेत्रफल क्रमशः घट्दै गएतापनि उन्नत बीउ विजन तथा मलखाद प्रयोगमा वृद्धि एवं प्रविधि प्रसारका कारण उत्पादकत्वमा आएको वृद्धिले धानबालीको कूल उत्पादन वृद्धि भएको छ । नेपालमा करिब ७० लाख मे.टन धान आवश्यक रहेकोमा विद्यमान उत्पादनका आधारमा करिब १० लाख मे.टन अपुग हुने देखिन्छ । साथै, विगत केही वर्षमा उपभोक्ताको खानेबानीमा आएको परिवर्तनका कारण मसिना तथा बासनादार चामलको माग वृद्धि हुँदा धान चामलको आयात समेत उल्लेख्य भएको छ ।
वि.सं. २०६१ सालबाट सुरुवात भएको राष्ट्रिय धान दिवस मनाउने परम्पराको २३ औं संस्करण २०८३ असार १५ मा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल, कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोक कुमार चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य डा. देवेन्द्र गौचन, कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा.राजेन्द्र प्रसाद मिश्र, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठलगायतको उपस्थितिमा विशेष समारोह आयोजना गरी मनाइएको छ । नेपाली समाजमा असार १५ लाई ‘दही–चिउरा’ खाने पर्वका रूपमा समेत लिइन्छ । मानो रोपेर मुरी फलाउने यो महत्वपूर्ण समयमा किसानहरु दिनभर खेतको काममा व्यस्त हुने र ऊर्जाका लागि दही–चिउरा खाने मौलिक परम्परा रहि आएको छ ।
असार महिनालाई नेपाली कृषकहरूले वर्षभरिका लागि खाद्यान्न जोहो गर्ने मुख्य समयका रूपमा लिने गर्दछन् । नेपालको कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान उल्लेखनीय रहेको छ । आत्मनिर्भर अर्थतन्त्र र खाद्य सुरक्षाका दृष्टिले धानको उत्पादन र उत्पादकत्व वृद्धि गर्नु राष्ट्रिय आवश्यकता बनेको छ । आजका दिन किसानहरु हिलो खेल्दै, असारे गीत गाउँदै र धान रोप्दै हर्षोल्लासका साथ यो उत्सव मनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्