२०८३ असार २५

नेपालमा च्याउको परम्परा, खेतीको सुरुवात र विकास यात्रा वनको उपहारदेखि आधुनिक उद्योगसम्म

प्रेमनारायण अधिकारी
नेपालमा च्याउ केवल एउटा कृषि उत्पादन मात्र होइन, यो हाम्रो लोकजीवन, संस्कृति र परम्परासँग जोडिएको खाद्य स्रोत पनि हो । नेपाली समाजमा च्याउसँग सम्बन्धित धेरै लोक भनाइहरू प्रचलित छन् ।
“वनको उपहार’’,“देउताको दानु,“पानी परेपछि वन हाँस्छ, च्याउ उम्रेपछि गाउँ रमाउँछ“,“जान्नेले च्याउ खान्छ, नजान्नेले ज्यान गुमाउँछ“,“बाहुनले च्याउ खाओस् न स्वाद पाओस्’’,“च्याउझैँ उम्रेका“ जस्ता उखान–टुक्काहरूले नेपाली जनजीवनमा च्याउको पूरानो सम्बन्धलाई देखाउँछन् ।
यी भनाइहरूले नेपालमा च्याउको प्रयोग धेरै पूरानो रहेको संकेत गर्छन् । हिमाली र पहाडी भूगोलका विभिन्न समुदायहरूले वर्षायाममा पानी परेपछि जंगलमा उम्रिने वन च्याउ संकलन गरी तरकारीका रूपमा प्रयोग गर्ने परम्परा राख्दै आएका थिए । स्थानीय अनुभव र पुस्तौंदेखिको ज्ञानका आधारमा उनीहरूले खान मिल्ने र नमिल्ने च्याउ छुट्याउने सीप विकास गरेका थिए ।

नेपालमा खेतीको सुरुवातबारे खोज:
नेपालमा वैज्ञानिक तथा व्यावसायिक रूपमा च्याउ खेती कहिले, कसले र कहाँबाट सुरु ग¥यो भन्ने विषयमा अझै पूर्ण प्रमाणसहितको अभिलेख आवश्यक छ । उपलब्ध मौखिक इतिहास र लामो समयदेखि च्याउ क्षेत्रमा काम गरेका व्यक्तिहरूबाट प्राप्त जानकारीका आधारमा केही प्रारम्भिक किसानहरूको योगदान देखिन्छ ।
च्याउ क्षेत्रमा लामो समय काम गर्नुभएका भीमसेन खड्का, नवराज आचार्य र गोमादेवी लम्सालबाट प्राप्त जानकारीअनुसार प्रारम्भिक व्यावसायिक च्याउ खेती काठमाडौं उपत्यकाका केही स्थानबाट विस्तार भएको देखिन्छ ।
कतिपयले जावलाखेलमा विदेशबाट प्रविधि ल्याई स्वर्गीय ऋषिकेश शाहले सुरुवात गरेको उल्लेख गर्छन् । कतिपयले बलम्वुमा धर्मदास श्रेष्ठले सुरुवात गरेको बताउँछन् । धेरैजसो प्रारम्भिक किसानहरूको भनाई भने धर्मदास श्रेष्ठतर्फ केन्द्रित देखिन्छ ।
धर्मदास श्रेष्ठबाट सिकेर शंखलाल महर्जनले वि.सं. २०३८–२०४० सालतिर बलम्वु क्षेत्रमा च्याउ खेती विस्तार गर्नुभएको बताइन्छ । उहाँ किसानको घर–घरमा पुगेर च्याउ खेती सिकाउनुहुन्थ्यो भन्ने स्थानीयको स्मरण छ ।
बलम्वुका लोकबहादुर महर्जन, राजकुमार आचार्य, प्रेमकृष्ण श्रेष्ठ लगायतका किसानहरूको योगदानले बलम्वुलाई नेपालको च्याउ इतिहासको महत्वपूर्ण केन्द्र बनायो । प्रकाश श्रेष्ठले उत्पादनलाई बजारसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्नुभयो भने धर्मेन्द्र महर्जनलगायतले सहकारीकरण र आधुनिकीकरणमा योगदान दिनुभयो ।

उपत्यकाका अन्य क्षेत्र र विस्तारः
भीमसेन खड्काका अनुसार डिल्लीबजार क्षेत्रमा पाण्डे थरका व्यक्तिले पनि सोही समयमा च्याउ खेती गर्नुभएको थियो ।
भक्तपुरको दधिकोटमा बद्री राउत र गोकुल राउतले गोलो (गुची) च्याउ उत्पादन गरेको इतिहास भेटिन्छ ।
वि.सं.२०४६ सालतिर मकवान्पुरबाट बलम्वुमा आएर च्याउ खेती सिक्ने र उपत्यकाबाहिर विस्तार गर्ने अग्रणी व्यक्तिमध्ये गोमादेवी लम्साल पनि हुनुहुन्थ्यो । पछि उहाँ ललितपुरको चापागाउँमा स्थायी रूपमा बसोवास गर्न थालेपछि त्यहाँ पनि च्याउ खेती विस्तार भयो ।

एउटा सानो प्रयासदेखि ठूलो उद्योगसम्मः
यसरी केही किसानको प्रयासबाट सुरु भएको च्याउ खेती आज नेपालको महत्वपूर्ण कृषि उद्योगका रूपमा स्थापित भएको छ । एक दशक अघिसम्म मुख्यतः काठमाडौं उपत्यकामा सीमित रहेको च्याउ व्यवसाय अहिले देशका विभिन्न जिल्लामा विस्तार भएको छ ।
हाल च्याउ उत्पादनमा हजारौं किसान संलग्न छन् । यसले रोजगारी सिर्जना, आयआर्जन, पोषण सुरक्षा र कृषि उद्यम विकासमा योगदान पु¥याइरहेको छ ।
काठमाडौंको बजारमा आवश्यक च्याउ अहिले बुटवल, सर्लाही, मोरङ, नवलपुर, नवलपरासी, मकवानपुरलगायतका जिल्लाबाट ठूलो मात्रामा आपूर्ति हुन थालेको छ ।
मकवान्पुरमा इन्द्रेणी मसरुम पब्लिक लिमिटेडले आधुनिक फार्म सञ्चालन गरेको छ । मनहरीमा आधुनिक कृषि तथा अनुसन्धान केन्द्रमार्फत गोब्रे च्याउको मल (कम्पोस्ट) उत्पादनतर्फ काम भइरहेको छ । नवलपुरका दीपक न्यौपानेजस्ता युवाहरूले किङ ओयस्टर च्याउ उत्पादनमा उदाहरण प्रस्तुत गरेका छन् । सर्लाहीका ध्रुव चौलागाईं, रुपन्देहीका विभिन्न आधुनिक फार्महरूले व्यावसायिक उत्पादनलाई नयाँ स्तरमा पु¥याएका छन् ।

अबको चुनौती र सम्भावनाः
नेपालले च्याउ उत्पादनमा उल्लेखनीय प्रगति गरेको छ । अबको आवश्यकता भनेको प्रशोधन उद्योग, क्यानिङ, गुणस्तरीय उत्पादन, निर्यात प्रवद्र्धन र अन्तर्राष्ट्रिय बजारमा प्रवेश हो ।
यसका लागि किसान, उद्योगी, वैज्ञानिक, अनुसन्धानकर्ता, विश्वविद्यालय र सरकारबीच सहकार्य आवश्यक छ ।
नेपालले अन्तर्राष्ट्रिय च्याउ विशेषज्ञसहित राष्ट्रिय स्तरको “मसरुम कन्फरेन्स’’ आयोजना गरी आफ्नो सम्भावना विश्वसामु प्रस्तुत गर्नुपर्ने समय आएको छ ।
च्याउ अब केवल तरकारी होइन; यो किसानको रोजगारी, ग्रामीण अर्थतन्त्र र कृषि आधुनिकीकरणको एउटा महत्वपूर्ण आधार बन्न पुगेको छ ।

बढ्दो लागत:
उद्योगको रुप लिएको च्याउमा लागत बढ्दै गएको छ । व्यवसायिक च्याउ खेती गर्न आफ्नो जमीन नहुँदा महँगो जमीन भाडा, बढ्दै गएको ढुवानी, चाहिन च्याउको बीउमा बढ्दो लागत र पराल लगायत च्याउ उत्पादनलाई चाहिने कच्चा पदार्थ महँगो बन्दै गरेको अवस्था छ ।
नेपाल च्याउमा आत्मनिर्भरः
छोटै समयमा च्याउ आन्मनिर्भर बन्दै गएको खेती हो । यसले रोजगारको मात्र सिर्जना गरेको छैन । आम्दानी पनि दिने गरेको छ । देशमा दैनिक करोडौंको च्याउ खपत हुँदा च्याउमा भएको लगायत खेर गएको छैन । नेपालको च्याउ विदेशबाट आयत गर्न नपर्दाको मजा चाहीँ च्याउ खरिद गर्न नेपाली पैसा विदेश जाँदैन । देशको कृषि उत्पादनमा यसको महत्व बढ्दै गएको छ ।
सम्भावनाका बाटोहरु प्रशस्त हुँदा–हुँदै यसको उपभोगमा कमी नै छ । उपभोक्ताले ताजा च्याउ उपभोग गर्न पाएको छ । च्याउको महत्वको बारेमा प्रचार प्रसार बढाउन नसक्दा बजारीकरणमा थोरैमात्र जटिलता आएको छ ।
लेखकः अखिल नेपाल किसान महासंघ उपाध्यक्ष हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain