२०८३ आश्विन ५

१२ संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलमै

काठमाडौं, साउन १३, कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको बजार मूल्य सहज, पारदर्शी र समयमै उपलब्ध गराउने उद्देश्यले ‘एएमपिआइएस नेपाल (ब्ःएक्ष्क् ल्भउब)ि’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । एपमार्फत अब देशभरका १२ वटा संघीय कृषि बजारमा दैनिक कारोबार हुने कृषि उपजको थोक मूल्य मोबाइलबाटै हेर्न सकिने भएको छ ।
मन्त्रिपरिषद्को २०८२ चैत १३ गते स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत रहेको “कृषि उपजको बजार सुनिश्चित गर्न राष्ट्रिय कृषि बजार सूचना प्रणाली सञ्चालन गर्ने तथा एसएमएस तथा डिजिटल माध्यमबाट दैनिक मूल्य जानकारी कृषकसम्म पु¥याउने” कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले उक्त एप सञ्चालनमा ल्याएको हो ।
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी ले कृषकलाई बिचौलियामा निर्भर हुन नपर्ने, बजारको वास्तविक मूल्य सहज रूपमा प्राप्त हुने तथा डिजिटल प्रविधिमार्फत कृषि बजारलाई थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउने सरकारको लक्ष्यअनुसार एप सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले कृषि क्षेत्रको आधुनिकीकरणसँगै सूचना प्रविधिको प्रयोग विस्तार गर्नु सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो ।
यसअघि कृषि विभागको वेबसाइटमार्फत मात्र उपलब्ध हुँदै आएको कृषि बजार मूल्य सूचना प्रणालीलाई स्तरोन्नति गर्दै कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिसँगको समन्वयमा अब कालिमाटी, सुनसरी, झापा, धनुषा, सर्लाही, सिन्धुली, कास्की, नवलपरासी (पूर्व), रुपन्देही, बाँके, सुर्खेत र कैलाली गरी १२ वटा संघीय कृषि बजारको दैनिक थोक मूल्य ‘एएमपिआइएस नेपाल’ एपमार्फत पनि सार्वजनिक गर्न थालिएको हो ।
उक्त एप एन्ड्रोइड प्रणाली भएका मोबाइल फोनमा प्रयोग गर्न सकिनेछ । कृषि विभागको वेबसाइटमा उपलब्ध क्यूआर कोड स्क्यान गरी एप डाउनलोड तथा प्रयोग गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।मन्त्री चौधरीले यस प्रणालीले कृषकलाई उत्पादन बिक्रीका लागि उपयुक्त बजार छनोट गर्न, उचित मूल्य प्राप्त गर्न तथा बजारसम्बन्धी निर्णय तथ्यमा आधारित बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार कृषि क्षेत्रमा डिजिटल सेवाको विस्तारले कृषकको सूचना पहुँच अभिवृद्धि गर्नुका साथै कृषि बजारलाई अझ प्रभावकारी, पारदर्शी र प्रतिस्पर्धी बनाउन योगदान पु¥याउनेछ ।
मोबाइल एप तथा कृषि बजार सूचना प्रणालीसम्बन्धी थप जानकारीका लागि कृषि विभागका तथ्याङ्क अधिकृत उर्मिला शाही (मोबाइल नं. ९८४१०२७४५०) लाई सम्पर्क गर्न सकिने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain