काठमाडौं भाद्र १५, भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा रहेका ३१५ जना विदेशी नागरिक तथा पर्यटकको उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
बोर्डले आज सार्वजनिक गरेको ‘सिचुएसन अपडेट–११’ अनुसार ५ जना विदेशी नागरिक सम्पर्कमा आएका छन् भने ५८३ जना अझै सम्पर्कविहीन छन् ।
बोर्डका अनुसार उद्धार गरिएकामध्ये भारतका १८७, चीनका १०८, जर्मनीका ४, माल्टाका ४, इटालीका २, रुसका २, टर्कीका २ र अमेरिकाका २ जना छन् ।
त्यस्तै बुल्गेरिया, ओमान, पोर्चुगल र स्वीट्जरल्यान्डका एक–एक जना नागरिकको पनि उद्धार गरिएको बोर्डले जनाएको छ ।
बाढीपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी, सुरक्षा निकाय र स्थानीय प्रशासनबीच समन्वय गरी प्रभावित विदेशी नागरिक तथा पर्यटकको अवस्था पहिचान, खोजी, उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र सहयोगको काम भइरहेको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार उद्धार गरिएका तथा सम्पर्कमा आएका पाँच जनामध्ये तीन जना स्पेनिस, एकजना अमेरिकी र एक जना बेल्जियन नागरिक छन् । अझै सम्पर्कविहीन रहेका ५८३ जनाको अवस्था पहिचान तथा खोजीको काम जारी छ ।
बाढीका कारण प्रभावित क्षेत्रमा रहेका घाइते तथा अन्य प्रभावितको खोजी, उद्धार र सहायता कार्य पनि जारी रहेको बोर्डले जनाएको छ ।
बोर्डले मनसुनको अवधि मध्य सेप्टेम्बरसम्म रहने भएकाले नेपालमा यात्रा गर्ने पर्यटकलाई आफूले प्रयोग गरिरहेको वा प्रयोग गर्ने योजनामा रहेको सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ ।
बोर्डका अनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पहिरोले सडक बगाएपछि काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । नदी कटानका कारण सडकको केही भाग भत्किएको बोर्डले जनाएको छ ।
प्रभावित जिल्ला हुँदै वा प्रभावित जिल्लातर्फ यात्रा गर्ने पर्यटकलाई यात्रा सुरु गर्नुअघि सडक तथा मौसमको पछिल्लो अवस्था बुझ्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न बोर्डले आग्रह गरेको छ ।
बोर्डले रसुवा, नुवाकोट, धादिङ र गोरखा हुँदै बग्ने भोटेकोशी–त्रिशूली नदीको करिडोरबाहेक अन्य स्थानमा पर्यटकीय स्थल तथा गतिविधि पूर्ण रूपमा सञ्चालनमा रहेको पर्यटन बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्