२०८३ भाद्र १८

भोटेकोशी बाढीका कारण, हजारौं पशुधनमा क्षतिः पशु सेवा विभाग

धनबहादुर मगर
काठमाडौं भाद्र १७, रसुवाको भोटेकोशीमा आएको बाढीले मानवीय क्षतिका साथै पशुपालन क्षेत्रमा पनि ठूलो क्षति पु¥याएको छ ।
एकहजार भन्दा बढी मानिसको शव भेटिसकिएको छ भने करिब ४ हजार सम्पर्कविहीन छन् ।
बाढीले पशुचौपायामा कति क्षति ग¥यो भन्ने अझै अनुमान गर्न सकिएको छैन । यद्यपि पशुपालन क्षेत्रमा ठूलो क्षति भएको प्रारम्भिक विवरणहरूले देखाएका छन ।
पशु सेवा विभागको प्रारम्भिक विवरण अनुसार नुवाकोट र धादिङ जिल्लामा पशुधनको क्षति निकै उच्च छ । विभागका अनुसार नुवाकोटमा मात्रै १ हजार २७८ गाईभैँसी, २ हजार बाख्रा, १ लाख २० हजार ९१३ कुखुरा र १ हजार ५ सय बँगुरको मृत्यु भएको छ । नुवाकोटको त्रिशूलीमा रहेको सरकारी मत्स्य फार्म बाढीले बगाउँदा अनुसन्धानका लागि राखिएका १०० वटा पोखरीका २६ हजार ५८९ गोटा र ६८८ केजी माछा पूर्ण रूपमा नष्ट भएका छन् । यसका साथै नुवाकोटमै १० हजार क्षमताको कुखुरा फार्म र २०० भन्दा बढी बँगुर रहेको निजी फार्म पनि बाढीले बगाएको छ ।
बाढी आएपछि निजी क्षेत्रतर्फ नुवाकोटको देवीघाटमा रहेका त्रिवेणी एग्रो भेट, किसान औषधि पसल र २५ वटा विभिन्न फार्महरू, ढुंगेको कृषक एग्रोभेट, बेत्रावतीको प्रदिप भेट सेन्टर र रातोमाटेको नेपाल भेटेरिनरी पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बुमनिबेसीका सोमप्रसाद अर्यालको नमूना पोल्ट्री फार्मका दुईवटा खोर, बट्टारको नुवाकोट पोल्ट्री फार्म र त्रिशूली ब्रिडिङ फार्म प्रा.लि.का दुईवटा फार्महरू पनि बाढीले बगाएर लैजाँदा ठुलो आर्थिक रुपमा क्षति पु¥याएको छ ।
धादिङको बेनीघाट रोराङमा २२ वटा पशु गोठमा क्षति पुगेको विवरण प्राप्त भएको छ भने जिल्लाभर ४७ गाईभैंसी, ७० बाख्रा, ३ हजार ६२६ कुखुरा र ८३ बँगुर मरेका छन् । गोरखा, चितवन र नवलपरासी पूर्वमा क्षतिको विस्तृत रिपोर्टिङ प्राप्त नभए तापनि नारायणी नदीमा बगाएर ल्याएका मृत पशुहरूको व्यवस्थापन कार्य तीव्र रूपमा भइरहेको छ । हालसम्म चितवनमा ३ भैंसी, ३ बँगुर र १ कुकुर तथा नवलपरासी पूर्वमा १ बाख्रा, ३ बँगुर र १ कुकुरको शव सुरक्षित रूपमा विसर्जन गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा मृत पशुचौपायाको खोजी गर्ने, तिनीहरूको सुरक्षित व्यवस्थापन गर्ने र सम्भावित महामारी नियन्त्रणका लागि द्रुत प्रतिकार्य अघि बढाइएका छन् । नेपाल भेटेरिनरी एशोसिएशन र पशु सेवा विभागले स्थानीय तह र जिल्ला प्रशासनको समन्वयमा प्राविधिक टोलीहरू यतिबेला कार्यक्षेत्रमा खटाएका छन् ।
रसुवाको गोसाइँकुण्ड र उत्तरगया गाउँपालिकामा यातायात र सञ्चार सेवा अवरुद्ध हुँदा कुन क्षेत्रमा कति पशुधनको क्षति भयो र कृषकहरूको अवस्था कस्तो छ भन्ने यकिन विवरण तत्काल प्राप्त हुन नसकेको पशु सेवा विभागले जनाएको छ ।
बाढी गएको दुई दिनपछि भदौ १२ गते विभागबाट खटिएको विशेष प्राविधिक टोली रसुवाको कालिकास्थान र नुवाकोटको बेत्रावतीसम्म पुगेको थियो । टोलीले पशु स्वास्थ्यका लागि आवश्यक औषधि, आकस्मिक राहत सामग्री तथा प्राथमिक उपचारका उपकरणहरू साथमै लगेको थियो । यद्यपि विपद्को सुरुवाती चरणमा मानवीय खोजी, उद्धार र राहत कार्यलाई पहिलो प्राथमिकतामा राखिएका कारण पशु स्वास्थ्यसम्बन्धी काम नभएको पशु सेवा विभागले जनाएको छ ।
पशुहरूको उपचार र व्यवस्थापनका लागि सहज वातावरण नभएपछि प्राविधिक टोलीले रसुवाको जिल्ला प्रशासन कार्यालयसँग आवश्यक समन्वय गरी राहत तथा औषधि सामग्रीहरू हस्तान्तरण गरेर फर्कनुपरेको बताएका थिए ।
भौगोलिक विकटताका कारण रसुवाका कतिपय गाउँमा पशु–धनको क्षतिको पूर्ण र यकिन तथ्याङ्क संकलन हुन बाँकी छ । स्थानीय तहहरूसँग समन्वय गरी विवरण संकलन गर्ने कार्य क्रमिक रूपमा अघि बढिरहेको भए तापनि सडक सञ्जाल पुनः सञ्चालन हुन नसक्दा दुर्गम वस्तीहरूमा पुग्न प्राविधिकहरूलाई कठिन भइरहेको छ ।
नेपाल भेटेरिनरी एशोसिएशनका महासचिव शंकर न्यौपानेका अनुसार बाढी प्रभावित जिल्लाहरूमा मृत पशुचौपायाको व्यवस्थापन र सम्भावित सरुवा रोगको महामारी नियन्त्रणका लागि हाल करिब ५० जना भेटेरिनरी चिकित्सक तथा प्राविधिकहरू प्रत्यक्ष रूपमा परिचालन गरिएका छन् । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका बाढी प्रभावित जिल्लाहरूमा एशोसिएशनका प्राविधिक टोलीहरू स्थानीय तहसँग मिलेर काम गरिरहेका छन् ।
रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासी लगायतका जिल्लाहरूमा स्थानीय सरोकारवाला निकायहरूसँग समन्वय गरी खोजी तथा व्यवस्थापन कार्यलाई तीव्र बनाइएको छ । नुवाकोटमा एशोसिएशनका पूर्व पदाधिकारी र केन्द्रीय सदस्यहरू सम्मिलित ६ सदस्यीय विशेष टोली गठन गरेर स्थलगत रूपमा खटाइएको छ ।
पशु सेवा विभागले भदौ ११ गते नै उच्चस्तरीय आकस्मिक बैठक डाकेर तत्काल समन्वय र प्रतिकार्य प्रक्रिया अघि बढाएको थियो । विभागले वरिष्ठ पशु चिकित्सकहरूको नेतृत्वमा विभिन्न जिल्लामा सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकेर प्राविधिक टोलीहरू परिचालन गरिएको छ ।
विभागका अनुसार रसुवामा डा.नवराज श्रेष्ठ, नुवाकोटमा डा.प्रवेश शर्मा, धादिङमा डा.बब्लु ठाकुर र डा.गणेश रानाभाट तथा गोरखामा डा.अनन्त कोइरालालाई जिम्मेवारी सुम्पिएको छ । त्यसैगरी चितवन र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का लागि डा.विजय श्रेष्ठ र डा.प्रभात न्यौपाने तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का लागि डा.भक्त निउरेको नेतृत्वमा टोलीहरू कार्यक्षेत्रमा खटिएका छन् ।

टोलीले प्रभावित क्षेत्रमा आवश्यक प्राथमिक उपचार सामग्री तथा औषधिहरू व्यवस्थापन गरी जिल्ला प्रशासन कार्यालय र स्थानीय गाउँपालिकाहरूलाई हस्तान्तरण गरिसकेका छन् ।
बाढीले बगाएका पशुहरू जीवित भेटिने सम्भावना अत्यन्त न्यून रहने र मृत शरीरहरू कुहिन थालेपछि गम्भीर स्वास्थ्य संकट निम्तिन सक्ने भएकाले पशु सेवा विभागले मृत पशुपन्छीको सुरक्षित व्यवस्थापनका लागि विशेष निर्देशिका जारी गरेको छ ।
विभागका महानिर्देशक डा.उमेश दाहालका अनुसार मृत पशुपन्छीलाई जथाभाबी छाड्दा वा असुरक्षित रूपमा गाड्दा सङ्क्रामक पशु रोग फैलनुका साथै मानव स्वास्थ्य र वातावरणमा समेत गम्भीर असर पर्ने भएकाले सुरक्षित संकलन र व्यवस्थापन विधिलाई बुँदागत रूपमा स्पष्ट पारिएको छ ।
निर्देशिका अनुसार मृत पशुपन्छी गाड्नका लागि स्थान छनौंट गर्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । शव गाड्ने स्थान खानेपानीको स्रोत, मानव बस्ती, विद्यालय तथा अन्य सार्वजनिक स्थानभन्दा टाढा हुनुपर्छ । सम्भव भएसम्म उच्च, सुक्खा र पानी नजम्ने स्थान छनोट गर्नुपर्ने व्यवस्था छ । यदि ठुला पशुलाई भौगोलिक कठिनाइका कारण स्थानान्तरण गर्न नसकिएमा ती पशुहरू भेटिएकै स्थान नजिक खानेपानीको स्रोतलाई दूषित नगर्ने गरी व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
शव व्यवस्थापन कार्यमा संलग्न हुने प्राविधिक तथा स्थानीय व्यक्तिहरूका लागि व्यक्तिगत सुरक्षा सामग्री जस्तै रबर बुट, एप्रोन, डिस्पोजेबल ग्लोभ्स, मास्क र चस्मा अनिवार्य गरिएको छ । यसका साथै खन्ने उपकरणहरू, कीटाणुनाशक पदार्थहरू नुन, जिप–लक ब्याग र साबुनपानीको उचित व्यवस्था गरेर मात्र कार्य अघि बढाउन निर्देशित गरिएको छ ।
मृत पशुको शव गाड्ने सुरक्षित विधिको सन्दर्भमा पशुपन्छीको संख्या र आकार अनुसार कम्तीमा ३ फिट माटोले ढाक्न मिल्ने गहिराइ र चौडाइ भएको खाल्डो तयार गर्नुपर्छ । शवलाई सावधानीपूर्वक खाल्डोमा राखेपछि त्यसमाथि बाक्लो गरी नुन, चुना तथा उपलब्ध भएमा जैविक सुक्ष्म जीव छर्कनुपछ । खाल्डोलाई जमीनको सतहबाट कम्तीमा ३ फिट माटोले पूर्ण रूपमा पुरेर माथिबाट थप माटोको ढिस्को बनाउनुपर्छ । जंगली जनावर वा कुकुरहरूले उत्खनन गर्न नसक्ने गरी माटोलाई राम्रोसँग थिचेर पुर्न र धेरै संख्यामा पशुपन्छी गाडिएको स्थानमा पहिचानका लागि कुनै संकेत वा चिह्न राख्ने जनाएको छ । पानीको बहाव उच्च र गति तीव्र भएका कारण मृत पशुहरू फेला पार्न र व्यवस्थापन गर्न केही कठिनाइ भएको थियो । नदीको बिच भागमा वा उच्च बहाव क्षेत्रमा रहेका शवहरू सुरक्षाका कारण निकाल्न कठिन भए पनि किनारमा भेटिएका शवहरूको व्यवस्थापनलाई भने विभागले तीव्रता दिएको छ ।
विभिन्न जिल्लामा स्थानीय कार्यालयहरूमार्फत नदी किनारमा अड्किएका पशुहरूको व्यवस्थापन भइरहेको छ । धादिङमा भेटेरिनरी अस्पतालको प्राविधिक टोली, नवलपरासीको भैरहवा क्षेत्रमा पशु क्वारेन्टाइन कार्यालयको टोली र चितवनमा पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको टोलीले नदी किनारमा भेटिएका मृत पशुहरूको सुरक्षित विसर्जन र व्यवस्थापन गरिरहेका छन् ।
बाढी प्रभावित क्षेत्रमा मृत पशुका कारण सरुवा रोग तथा महामारी फैलिन नदिन पशु सेवा विभाग र नेपाल भेटेरिनरी एशोसिएशनले विभिन्न जनस्वास्थ्यमूलक कार्यक्रमहरू अघि सारेका छन् । पशु रोग फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै विभागले विपद्को समयदेखि नै खोप कार्यक्रम र स्वास्थ्य शिविर सञ्चालनको तयारी गरिरहेको छ ।
सङ्क्रामक रोगको प्रकोप रोक्न पशु सेवा कार्यालय चितवन लगायतका क्षेत्रमा खोरेत, भ्यागुते, चरचरे र रेबिज रोग विरुद्धका खोपहरू पठाइसकिएको छ । यस्ता खोपहरूले प्रभावित क्षेत्रमा जीवित रहेका पशुहरूको स्वास्थ्य रक्षा गर्न र महामारी फैलिनबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
नुवाकोटको त्रिशूली पारि र रसुवा जिल्लामा यातायात अवरुद्ध भएका कारण तयारी कुखुराको बजार, दूध र दानाको आपूर्ति पूर्ण रूपमा रोकिएको छ । यसले गर्दा कृषकहरू दोहोरो मारमा परेका छन् । एकातिर पशुधनको क्षति भएको छ भने अर्कोतिर जीवित रहेका पशुपन्छीका लागि दानाको अभाव भएको छ र उत्पादित सामग्री बजारसम्म पु¥याउन नसकिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain